धनगढीमा सीप तथा रोजगार मेला

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले यही फागुन ८ गतेदेखि धनगढीको खुलामञ्चमा दक्षजनशक्ति उत्पादन गरी स्वरोजगार बनाउने उद्देश्यले युवाहरूलाई लक्षित गरेर सीप तथा रोजगार मेलाको आयोजना गरेको छ ।

युवाहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाइँदै

डेढ महिनासम्म सञ्चालन हुने सो मेलामा सहभागी युवाहरूले सीप सिकेपछि आफ्नै देशमा रोजगारी पाइने तथा आत्मनिर्भर हुनसक्ने आशा व्यक्त गरेका छन् ।

तालिमपश्चात् स्वरोजगार बन्ने अवसर प्राप्त हुने वा राम्रो रोजगारीको आशा पाइने अपेक्षा सहभागिको रहेको छ । तालिममा सहभागि धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का समशेरबहादुर मल्लले सीप सिकेपछि आफँै केही व्यापार व्यवसाय लगायत नयाँ क्षेत्रमा रोजगारी पाइनेमा मदत पुग्ने बताए ।

हाल बजारमा प्लम्बिङ जनशक्तिको माग उच्च रहेकोले आफूले प्लम्बिङको तालिम रोजेको मल्लले बताए । उनले भने, ‘बेरोजगारीको समस्यालाई सम्बोधन गर्न यस्ता सीपमुलक तालिम अत्यन्त प्रभावकारी हुन्छन् । तालिमपछि रोजगारीको अवसर पाइने आशाले झनै उत्साहित छु ।’

त्यस्तै गोदावरी नगरपालिका वडा नम्बर ४ का रोहित बाबाले पनि सीप मेला लाभदायी नै रहेको बताए । ‘निःशुल्क तालिम सिक्ने अवसर पाउँदा म निकै उत्साहित छु । बेरोजगार भएर घरमा बस्नुको साटो सीप सिकेर आत्मनिर्भर बन्ने आत्मबल प्राप्त भएको छ,’ उनले भने, ‘तालिमपछि प्राप्त हुने प्रमाणपत्रले जागिर खोज्न सजिलो बनाउनेछ ।’ मेलाले युवाहरु रोजगारीका लागि विदेश जाने क्रम रोक्नमा केही हदसम्म भए पनि मदत पुग्ने उनको भनाइ छ ।

धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्रबहादुर महराले श्रम बजारको मागलाई अध्ययन गरेर युवालाई विभिन्न तालिम प्रदान गरिएको बताए । उनले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको बजारलाई अध्ययन गरेर त्यहाँको माग अनुसारका सीपमा युवालाई तालिम कार्यक्रम गरिएको बताए ।

विभिन्न बिधाका तालिम एक हजार बढी युवाहरु मेलामा सहभागि रहेका छन् । सरकारी निकायको श्रम बजार सर्वेक्षणलाई पनि अध्ययन गरिएको हुँदा तालिम पाएका एक हजार ४० युवा सजिलै रोजगारीमा जोडिन सक्ने उनको विश्वास छ । महराका अनुसार हाल बजारमा अनौपचारिक क्षेत्र र निर्माण क्षेत्रका लागि दक्ष जनशक्तिको उच्च माग रहेकाले पनि सीप सिकेका युवाहरुले सहजै रोजगारी पाउने छ ।

तालिम पछि वैदेशिक रोजगारीमा जाने युवाको संख्या पनि केही कम हुन सक्ने उनको अनुमान छ । विदेश जानै परे पनि सीप सिकेका युवाले राम्रो काम पाउन सक्ने भएका कारण अन्य पालिकाले पनि सीप कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको उनको भनाई छ ।

उपमहानगरपालिकाले विभिन्न आठ वटा विधामा २९ प्रकारका तालिम सुदूरपश्चिमका नौ जिल्लाका एक हजार ४० जना युवालाई सीप तालिम प्रदान गरिरहेको छ । तालिममा सहभागी हुनेमा पाँच सय ७० जना पुरुष र चार सय ७० जना महिला छन् । उनीहरू सुदूरपश्चिमका ३९ स्थानीय तहका हुन् ।

तालिका लागि सुदूरपश्चिमका ८८ स्थानीय तहबाट आवेदन दिएका चार हजार आठ सय ३० जनामध्ये अन्तिम छनौटमा परेका एक हजार ४० जना युवा अहिले विभिन्न सीप सिकिरहेका छन् । फागुन ८ गते शुरु भएको तालिम चैत १५ गतेसम्म सञ्चालन हुनेछ ।

तालिम अवधि भर एक महिना सीप तालिम, पाँच दिन उद्यमशिलता तथा करिअर परामर्श तालिम र दुई दिन रोजगार मेला हुनेछ । सीप तथा रोजगार मेलाका लागि दुई करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

सीप तथा रोजगार मेलामा मोबाइल तथा सीसीटीभी मर्मत, बिल्डिङ इलेक्ट्रिकल, एसी तथा रेफ्रिजेरेटर मर्मत, अटो क्याड, हार्डवेयर नेटवर्किङ, ग्राफिक्स डिजाइनिङ, डिजिटल मार्केटिङ, पुरोहित तालिम, इसीडी वालविकास शिक्षक, फेसन डिजाइन, एडभान्स टेलरिङ, हेयर कटिङ तथा स्टाइलिङ, नाई (बार्बर), एडभान्स ब्युटिसियन, प्लम्बिङ, वेल्डिङ, इलेक्ट्रिक भेहिकल (ईभी) मर्मत तथा लेखा व्यवस्थापन तालिम सञ्चालन भइरहेको छ ।

यस्तै सांस्कृतिक पोसाक निर्माण, बेतबाँस क्राफ्ट, टायल तथा मार्बल फिक्स्चर, डकर्मी, मोटरसाइकल तथा स्कुटर मर्मत, रिसेप्सनिष्ट, वेटर, कफी बारिस्टा, हाउस पेन्टिङ, फर्निचर तथा फास्टफुड कुकिङ तालिम सञ्चालन भइरहेको छ ।

तालिममा आठ वटा विधाका लागि ९२ जना प्रशिक्षकहरु रहेका छन् । प्रशिक्षकहरू काठमाडौँ, बाँके, बर्दिया, कञ्चनपुर, बैतडी, डोटी, सुर्खेत, नुवाकोट, धादिङ, भक्तपुर, सिन्धुपाल्चोक तथा कैलालीबाट आएका छन् । सीप तथा रोजगार मेला अवलोकनका लागि दैनिक एक सय ५० जना जति आउने गरेको उपमहानगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 253 times, 1 visits today)

epaper

ताजा समाचार

राति १० बजेसम्म मात्रै बल्ने धनगढीका सडक बत्ती