नेपथ्यको अस्ट्रेलिया कन्सर्ट क्यानबेराबाट सुरु

काठमाडौं । लोक पप ब्यान्ड नेपथ्य यतिबेला अस्ट्रेलियामा छ । पाँच दिन अघि यो ब्यान्ड अस्ट्रेलिया पुगेको हो । त्यहाँ नेपथ्यले आफ्नो कन्सर्ट सोमबार बेलुकाबाट सुरु गरेको छ ।

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपथ्यले पहिलो कन्सर्ट सम्पन्न गरेको छ । नेसनल कन्भेन्सन सेन्टरको ‘रोयल थिएटर’मा सोमबार आफूहरूले भव्य कन्सर्ट गरेको नेपथ्यका लिड गायक अमृत गुरुङले बताएका छन् ।

नेपथ्यको यो सातौँ अस्ट्रेलियाको सांगीतिक यात्रा हो । क्यानभेराको कन्सर्टको सुरुवात कोसीको पानी…गीतबाट गरिएको थियो । त्यसपछि क्रमशः भेडाको ऊन जस्तो…, छेक्यो छेक्यो…, आँगनैभरि….जस्ता गीतहरू प्रस्तुत गर्दै कार्यक्रम अघि बढाइएको पनि अमृतले जानकारी गराएका छन् । कार्यक्रममा गायक अमृत गुरुङले ३५ वर्षअगाडि आफूले तयार पारेका गीतहरू पुन अस्ट्रेलियामा सुनाउन पाउँदा बेग्लै आनन्द मिलेको बताए ।

सो क्रममा आफूले नेपथ्यका सर्वकालिक हिट गीतहरू लाम्पाते सुरती…, चरी म¥यो सिसैको गोलीले… र जोमसोमे बजारमा…जस्ता गीत प्रस्तुत गर्दा निरन्तर दर्शकले नाचेर साथ दिएको पनि अमृतले बताएका छन् ।

‘गीत गाउने क्रममा अस्ट्रेलियामा नेपाली दर्शकको साथ पाइरहँदा एक मनले खुसी र अर्को मनले दुःखी पनि महसुस भइरहेको छ । तपाईँहरू यहाँ आएर उज्ज्वल भविष्यका लागि संघर्ष गरिरहनु भएको देख्दा असाध्यै खुसी छु र यत्तिका ऊर्जावान् तन्नेरीलाई आफ्नै मुलुकले बाँधेर राख्न नसकेको देख्दा कता–कता नरमाइलो पनि भइरहेको छ,’ कन्सर्ट प्रस्तुतिको क्रममा अमृतले भने ।

यसपछि कन्सर्टमा आफूले पचासै वर्षमा जुग कहाँ पुग्यो नि…, यो जिन्दगानी…, गाउँ–गाउँबाट उठ… जस्ता गीतहरू पनि प्रस्तुत गरेको उनले बताए । समापनमा रातो र चन्द्रसूर्य लगायतको गीतहरु प्रस्तुत गर्दै आफुहरुले क्यानवेराबाट बिदा लिएको पनि उनले बताए ।

अस्ट्रेलिया यात्रामा अमृतलाई ड्रम सेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका छन् । कलाकारको यो टिमबाहेक व्यवस्थापक र प्राविधिकको १४ सदस्यीय टोली यात्रामा सरिक रहेको पनि आयोजक पक्षले जनाएको छ ।

यस पटकको शृंखलाबद्ध यात्राका क्रममा क्यानबेरापछि ब्यान्ड अब ‘वेस्टर्न अस्ट्रेलिया’ राज्यको राजधानी पर्थ सहर पुग्नेछ । त्यहाँ ९ मार्चमा मेट्रो सिटी हलमा प्रस्तुति दिने तयारी गर्दै गरेको आयोजक टिमले जनाएको छ ।

त्यसपछि १४ मार्चमा ब्रिसबेनको ‘द टिभोली’मा, १८ मार्चमा अस्ट्रेलियाकै होबार्टस्थित ‘ओडियन थिएटर’मा, २१ मार्चमा एडिलेड सहरको ‘हिन्डले स्ट्रिट म्युजिक हल’मा, २४ मार्चमा मेलबर्नको ‘फेस्टिभल हल’मा र २९ मार्चमा सिड्नीको ‘होर्डन पभिलियन’मा आफ्ना गीत संगीत प्रस्तुत गरेपछि ब्यान्ड स्वदेश फिर्ने नेपथ्यले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

epaper

ताजा समाचार

बस्ती छाड्दै मनोहराका सुकुमवासी, आज साँझदेखि डोजर चलाउने तयारी