वीरगन्ज । सामाजिक क्षेत्रमा तीन दशक विताएको सामाजिक संस्था जिल्ला समन्वय समिति ( एनजीओसिसी) पर्साले आफ्नो ३० औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सामाजिक क्षेत्रमा सकृय जिल्ला समन्वय समिति पर्साले शनिबार आफ्नो ३० औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
कार्यक्रमको मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले उद्घाटन गरे । सो क्रममा मन्त्री क्षेत्रीले सामाजिक रुपान्तरणका लागि अझ सशक्त भएर कार्य सम्पादन गर्न पर्ने एनजीओसिसीलाई सुझाव दिए । शिक्षा स्वास्थ्य र कृषि क्षेत्रमा मधेश प्रदेशलाई धेरै सहयोगको आवश्यकता पर्न सक्ने भन्दै उनले समग्र विकास निर्माणमा सामाजिक संस्थाहरुको भूमिका अझ अहम हुन बताए ।
कृषि फसल उत्पादनमा मधेश प्रदेशले देशलाई नै पाल्न सक्ने क्षमता राख्ने हुँदा यसको लागि नयाँ प्रविधि र नयाँ फसलको पनि आधुनिक शैली अवलम्बन गर्न कृषकलाई पनि मन्त्री क्षेत्रीले सुझाव दिए । मधेश प्रदेश कृषि मन्त्रालयको तर्फबाट आफूले चाही आधुनिक फसल र प्रवृधि प्रयोगको कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको दावी थियो । अर्को प्रसंगमा मन्त्री क्षेत्रीले राजनीतिक बदनामका लागि नेपालका राजनीतिक दल र नेताहरुले केही गरेनन् भनी गलत भाष्य खडा गरिदै गरेको उनको तर्क थियो । यसको पिछाडी नपरी सत्य कुराको पक्षमा नागरिक लाग्नु पर्ने उनले बताए ।
विकास निर्माणको गति केही सुस्त छ । तर केही भएन भनी नेता र ठूला राजनीतिक दललाई अनावश्यक आक्षेप लगाउने काम गलत भएको उनको टिप्पणी थियो । एनजीओसिसी पर्साका अध्यक्ष इब्राहिम देवावको अध्यक्षमा भएको कार्यक्रममा पर्सागढी नगरपालिकाका पूर्व अध्यक्ष लोकनारायण यादव, भूमि व्यवस्था आयोग पर्साका अध्यक्ष तवरेज अहमद, गैर सरकारी संस्था महासंघका छटु साह, संस्थाका संस्थापक अध्यक्ष राजेश पण्डित र निवर्तमान उपाध्यक्ष रामप्रवेश साह लगायतले शिक्षा र स्वास्थ्यको क्षेत्रमा अझ एनजीओसिसीले सशक्त भएर समाजलाई बाटो देखाउन पर्नेमा जोड दिए ।
एनजीओसिसीले अहिले पनि किशोरी शिक्षा कार्यक्रम, विद्यालय बाहिर रहेका किशोरीहरुलाई शिक्षा तथा जीवनोपयोगि सीपको सुनौलो अवसर कार्यक्रम, ग्लोबल गल्र्स क्रिएटिङ्ग चेन्ज, विपत्मा बाल संरक्षण र लैंगिक हिंसा न्यूनिकरण र बालिका तथा समावेशी शिक्षा संजाल परिचालन र व्यवसायिक तालिमहरु संचालन लगायतका कार्यक्रम गर्दै समाज रुपान्तरणमा प्रभावकारी कदम चालिरहेको बार्षिक साधारण सभामा पनि खुलासा भएको छ ।
विगतमा पनि यो संस्थाले गरिब तथा विपन्न र बालबालिकाका क्षेत्रमा सुधारका धेरै काम गरेको थियो । संस्थाका सदस्य हरि पेटेलले सहजीकरण गरेको कार्यक्रममा चन्देश चौहान र विनोद यादवले संस्थाको सांगठनिक र आर्थिक प्रतिवेदन पेश गरेका थिए । सो कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।






