कपिलवस्तु । नेपालमा अस्वस्थ जीवनशैलीका कारण नसर्ने रोगहरूको जोखिम बढ्दै गएको छ। विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि, जीवनशैलीमा आएको परिवर्तन र वातावरणीय प्रदूषणजस्ता कारणहरूले नसर्ने रोगहरूको जोखिममा वृद्धि भइरहेको छ।
अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग, दमजस्ता रोगहरू बढिरहेका छन्। सन् २०१७ को तथ्यांक अनुसार, ७१ प्रतिशत मानिसको ज्यान नसर्ने रोगका कारण गएको थियो।
स्वास्थ्य कार्यालय कपिलवस्तुले सञ्चारकर्मीहरूसँग आयोजित अभिमुखीकरण, सचेतिकरण र अन्तरक्रिया कार्यक्रममा यस विषयमा जानकारी प्रदान गरिएको हो। कार्यक्रमको सहजीकरण गर्दै स्वास्थ्य कार्यालयका रतनलाल शर्माले नेपालमा जीवनशैलीमा आएको परिवर्तनका कारण नसर्ने रोगीहरूको संख्या बढ्दै गएको बताएका थिए।
शर्माले रोगहरूको कारण, प्रभाव र तिनको न्यूनीकरणका उपायहरूको ’boutमा जानकारी गराए। कार्यक्रमको क्रममा स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले नेपालमा आगामी ३० वर्षमा क्यान्सरका रोगीहरू अत्यधिक वृद्धि हुने बताएका थिए। उनका अनुसार, अहिलेको जीवनशैलीका कारण केही वर्षमा क्यान्सरको अवस्था अत्यधिक भयावह बन्नेछ।
नेपालमा नसर्ने रोग लाग्नका प्रमुख कारण पाँच वटा रहेको उनले बताएका छन्। यी कारणहरूमा अस्वस्थ खानपान, सुर्तीजन्य पदार्थको सेवन, वायु प्रदूषण, मादक पदार्थको सेवन र शारीरिक निष्क्रियता पर्दछन्। यसैले, नसर्ने रोगको रोकथाम र नियन्त्रण अत्यन्त आवश्यक रहेको भन्दै उनले सबैलाई स्वास्थ्यप्रति सचेत बन्न आग्रह गरे।
स्वस्थ शरीर नै जीवनको वास्तविक धन हो, तर मानिसहरूले स्वास्थ्यलाई अनदेखा गरिरहेको अवस्था रहेको उनको भनाइ छ। ढकालले नागरिकलाई नियमित स्वास्थ्य परीक्षण गर्न पनि आग्रह गरे।
यसैगरी, उनले कपिलवस्तुका १० वटा विद्यालयमा जङफुड निषेध घोषणा गर्ने कुरा बताए र यस अभियानलाई निरन्तरता दिने योजना रहेको बताएका थिए। उनले कपिलवस्तुमा स्वास्थ्य समस्याहरू बढ्दै गएपछि, जिल्लालाई पूर्ण खोपयुक्त, पोषणमैत्री र संस्थागत सुत्केरी जिल्ला बनाउनका लागि कदम चालिने बताएका छन।






