इलाम गोल्डकपको आय–व्यय ९४ लाख ९५ हजार

इलाम । दोस्रो संस्करणको इलाम गोल्डकपमा ९४ लाख ९५ हजार रुपैयाँ हाराहारीको आय–व्ययसार्वजनिक भएको छ । रेडहर्स फुटबल क्लबले गत मंसिर २२ देखि २९ गते सम्म भएको प्रतियोगिताको ९४ लाख ९५ हजार रुपैया आय–व्यय सार्वजनिक गरेको हो । आयोजक समितिका निरोज खड्गीले सार्वजनिक गरेको आय–व्ययको आम्दानीमध्ये १३ लाख रुपैयाँ उठ्न बाँकी रहेको छ । दाताले घोषणा गरेका सबै हिसाब उठिसक्दा १० लाख रुपैयाँ नाफा हुनेछ भने अब व्यक्तिगत रूपमा रकम उठ्न बाँकी छैन र संस्थागतमात्र भएकाले उठ्न बाँकी रकम पनि उठ्ने निश्चित रहेको बताइएको छ ।

उनका अनुसार आम्दानीतर्फ गैरआवासीय नेपालीको संस्था (एनआरएनए)बाट ५ लाख, इलाम नगरपालिकाबाट १० लाख, गोर्खा ब्रुअरीबाट साढे चार लाख, १ हजारको प्रि–टिकटबाट २ लाख ८० हजार, गेटमनीबाट १८ लाख ६३ हजार, नेपाल एयरलाइन्सबाट १ लाख, रेडपान्डा नेटवर्कबाट ५० हजार रुपैयाँ सहयोग भएको छ । त्यस्तै

सन नेपाल लाइफबाट १ लाख, सिजी फुड्सबाट १ लाख ४० हजार, तारा–रोजु सापकोटाबाट ५ लाख, रेडबुलबाट ५७ हजार, नेपाल टेलिकमबाट २० हजार, बिंगो खेलबाट ९ लाख ५० हजार, व्यक्तिगत सहयोगबाट ८ लाख ३८ हजार, सिजनल टिकटबाट ३ लाख ४५ हजार, पुरानो मौज्दात ९ ला ८८ हजार रुपैयाँ आम्दानी भएको आयोजकले जनाएको छ ।

खर्चतर्फ पुरस्कार राशि १६ लाख ८९ हजार, प्यारापिट निर्माण २३ लाख ३७ हजार, विज्ञापन तथा प्रचार १ लाख ५५ हजार, खेलाडी टिम खर्च २२ लाख २० हजार, खाना–खाजा, होटलतर्फ ७ लाख ३६ हजार, रेफ्री खर्च २ लाख ६० हजार, सुरक्षा ९० हजार, स्टेसनरी ६४ हजार, ब्यानर, ट्रफी, मेडललगायत ४ लाख ८५ हजार खर्च भएको छ ।

यसैगरी, बिजुली–पानी ५२ हजार, इन्धन १ लाख ५ हजार, यातायात ३५ हजार, अतिथि सत्कार, उद्घाटन, समापन समारोह २ लाख ४ हजार रुपैयाँ रहेको आयोजकको भनाइ छ । आयोजक समिति सचिव प्रकाश घिमिरेले हिसाब–किताब पारदर्शी रूपमा राखिएको बताए । ‘कतिपय रकम उठ्न बाँकी छ तर सबै हिसाब पारदर्शी छ,’ उनले भने, ‘टिकट विक्री लगायतका सबै आम्दानी र सबैखाले खर्चको विस्तृत हिसाब राखेका छौं ।’ आयोजकका अनुसार विभिन्न दाता र गेटमनीबाट गोल्डकपका लागि आर्थिक संकलन भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम