पेरिस । विश्व प्रसिद्ध चलचित्र महोत्सव ‘७८ औँ कान्स फिल्म फेस्टिभल’ फ्रान्सको कान्स सहरमा मंगलबारबाट सुरु भएको छ । अमेरिकाले ओस्कार चलचित्र अवार्ड सुरु गरेसँगै फ्रान्सले आफ्ना चलचित्रहरूलाई प्रवर्धन गर्ने उद्देश्यले सन १९४६ बाट फ्रान्सकै कान्स सहरमा कान्स चलचित्र महोत्सव सुरु गरेको थियो । यो महोत्सवमा बिस्तारै संसार भरका उत्कृष्ट चलचित्रहरू चयन र प्रदर्शनसँगै पुरस्कृत पनि हुँदै आएका छन् ।
यसै क्रममा यस पटकको यो महोत्सव त्यहाँ २४ मेसम्म जारी रहने छ । महोत्सवको पहिलो दिन मंगलबार अपरान्ह कान्समा भव्य रूपमा रेड कार्पेट आयोजना गरियो । रेड कार्पेटमा हलिउड अभिनेताहरू टम क्रुज, लियोनार्डो डिक्याप्रियो, अभिनेत्री हेली बेरीसहित फ्रान्सेली, बेलायती, युरोपेली, अस्ट्रेलियन, बलिउडदेखि विभिन्न देशका चलचित्रकर्मीहरू एवम् मोडलहरू विभिन्न पहिरनमा प्रस्तुत भए । यस पटक रेड कार्पेटमा अश्लिलतालाई रोक लगाईएको भए पनि विश्वका अभिनेत्री पारदर्शी कपडामा प्रस्तुत हुन पछि परेनन् ।

फ्रान्सको दक्षिण पूर्वी फ्रेन्च रिभिएरा क्षेत्रको रहेको कान्स सहर महोत्सव सुरु भएसँगै मंगलबारबाट चलचित्रमय बनेको छ । त्यहाँका बहुसंख्यक होटलहरूमा चलचित्रकर्मी तथा चलचित्र पर्यटकहरूको जमघट देख्न पाइएको छ । सहर वासीले पनि यो महोत्सवलाई एउटा महत्त्वपूर्ण उत्सवको रूपमा मनाउने गरेका छन् ।
यो महोत्सवको ग्रान्ड थिएटर लुमियरमा मंगलबार साँझ भव्य उद्घाटन भयो । विश्वमा पहिलो पटक चलचित्र निर्माण गर्ने फ्रान्सेली दाजु भाइ लुई लुमियर र अगस्टे लुमियरसहित दिवंगत फ्रान्सेली अभिनेता, अभिनेत्रीहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै महोत्सव सुरु गरियो ।
यस्तै पाँच महिना अघि निधन भएका महान् चलचित्र निर्माता डेभिड लिन्च प्रति पनि कार्यक्रममा श्रद्धाञ्जली अर्पण गरियो । सो क्रममा दिवंगत प्रति श्रद्धा अर्पण गर्दै फ्रान्सेली–क्यानेडियन गायिका माइलेन फार्मरले शान्तिको अपिलसहित आफ्नो गीत प्रस्तुत गरिन् ।
उद्घाटन समारोहमा जेम्स स्टीवर्ट, जीन गेबिन, जोसेफिन बेकर, मार्लेन डिट्रिच, रिचर्ड गेरे, इसाबेल अदजानी, तरानेह अलिदुस्ती, रक हडसन, एडेल हेनेल, भोलोडिमिर जेलेन्स्कीको योगदानलाई पनि सम्बोधन गरियो । विश्व प्रसिद्ध चलचित्रकर्मी फ्र्यांक क्याप्राको भनाइलाई अनुसरण गर्दै उद्घाटन समारोहमा साहसीहरूले मात्र चलचित्र बनाउन सक्छन् भन्ने भनाई उद्घोषकले राख्दा माहौल तालीमय भएको थियो ।
उद्घाटन समारोहलाई महोत्सवकी जुरी प्रमुख एवम् अभिनेत्री जुलिएट बिनोचले सम्बोधन गर्दै आफु विश्व चलचित्रमा क्यान्सबाटै उदाएको स्मरण सुनाइन् । सम्बोधनका क्रममा उनले भनिन्, ‘यो भव्य समारोहमा प्रमुख निर्णायकको रुपमा तमाम चलचित्रकर्मीहरू सामु प्रस्तुत हुन पाउँदा म अत्यन्त खुसी छु । कलाले हामीलाई कोमलता र विश्वासलाई पोषण गर्न, एकसाथ आउन, अज्ञानतालाई निको पार्न, डर र स्वार्थ त्याग्न, मार्ग परिवर्तन गर्न र गर्वको सामना गर्दै, नम्रता पुनः प्राप्त गर्न मद्दत गर्दै आएको छ’, विश्वका सबै क्षेत्रमा कलाकारहरू हरेक दिन आफ्नो ज्यान बाजीमा राखेर लडिरहेको बताउँदै उनले गत १६ अप्रिलमा गाजा क्षेत्रमा आफ्नै घरमा मिलाइलबाट १० जना परिवारसहित ज्यान गुमाएकी छायांकार एवम् फोटो पत्रकार फातिमा हसैनाको पनि सम्झना गरिन् । फातिमाको चलचित्र पनि यस पटक कान्समा रहेको उनले जानकारी गराइन् ।
यस पटक महोत्सवको नौ सदस्य निर्णायक मण्डलमा अध्यक्ष अभिनेत्री जुलिएट बिनोचसहित सदस्यहरु हेली बेरी, पायल कपाडिया, अल्बा रोह्रवाचर, लीला स्लिमानी, डिउडो हमादी, होङ साङ्सु, कार्लोस रेगाडास र जेरेमी स्ट्रङ रहेका छन् । उद्घाटन समारोहमा यी निर्णायकको पनि परिचय गराईयो ।

क्यान्सको उद्घाटन साँझमा विश्व प्रसिद्ध हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियोसहित विभिन्न स्टारहरूको स्वागत गरियो । उनले विश्वको स्वतन्त्रता पक्षमा आफ्नो भनाई सो कार्यक्रममा राखे । कार्यक्रममा डिक्याप्रियो मार्फत विश्व प्रसिद्ध हलिउड चलचित्रकर्मी रोबर्ट डे निरोलाई कार्यक्रममा ‘मानार्थ पाल्मे डी’ पदक प्रदान गरियो । हलिउड चलचित्र ‘ट्याक्सी ड्राइभर’ले शीर्ष पुरस्कार पाम दे ओर जितेको करिब ५ दशकपछि हलिउड स्टार रोबर्ट डी निरोलाई मानार्थ पाम दे पदक प्रदान गरिएको हो ।
अमेरिकी चलचित्र निर्देशक क्वेन्टिन टारान्टिनोले कार्यक्रममा महोत्सव उद्घाटन भएको घोषणा गर्दै ७८ औँ कान्स महोत्सवको उद्घाटन घोषणा गर्न पाउनु आफ्नो सम्मान भएको बताए ।
यो उद्घाटन समारोहको समापनसँगै ७८ औँ संस्करणको कान्स चलचित्र महोत्सवमा फ्रान्सेली हास्य जनराको चलचित्र ‘लिभ वान डे’ प्रदर्शन गरियो । मंगलबार बेलुका ‘लिभ वान डे’को प्रदर्शनसँगै महोत्सवमा विश्वभरका चलचित्र प्रदर्शनी सुरु भएको छ । १२ दिनसम्म चल्ने यो महोत्सवमा विश्व भरका चलचित्र प्रदर्शन पछि उत्कृष्ट चलचित्र तथा चलचित्रकर्मीहरूलाई पुरस्कृत गरिने भएको छ । यहाँ चलचित्र प्रवर्धनका लागी सैयौं स्टलहरु पनि राखिएका छन् ।
यो महोत्सवमा रहेको ‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा पहिलो पटक यसपालि नेपाली चलचित्र ‘एक्लो’लाई सहभागी गराइएको छ । त्यहाँ चलचित्र एक्लोको स्टल नै राखेर यो चलचित्रलाई विश्व बजारमा विक्री वितरणको लागि आह्वान गरिएको यसका निर्देशक प्रदीप शाहीले बताएका छन् । निर्देशक प्रदीप शाहीले आफूले कान्सको प्रड्युसर्स नेटवर्कको कार्यक्रममा पनि सहभागी हुने जानकारी गराएका छन् ।






