काठमाडौं । सामाजिक अभियन्ता महावीर पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई पदबाट हटाउन माग गरेका छन । आज (बुधबार) सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्दै उनले यस्तो माग गरेका हुन ।
ऊर्जामन्त्री खड्कालाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसले हटाउने संकेत नदेखिएको पनि उनले बताएका छन । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ऊर्जामन्त्री जस्तो दिउँसै रात पार्नेलाई संयुक्त बृहत् जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ ।
त्यस्तो दृष्ट व्यक्तिलाई हटाउने कांग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हो। तर उनीहरूले हटाउने छाँटकाँट देखिएन। बृहत् जनआन्दोलन अन्तिम उपाय देखियो।’
हुँदै नभएको लोडसेडिङ भयो भन्दै विदेशबाट फोन गरेर दुःख दिएः ऊर्जामन्त्री
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको भन्दै गुनासो व्यक्त गरेका छन ।

आज (बुधबार) सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै खड्काले विदेशबाट फोन गरेर बत्ती गयो भन्दै दुःख दिने काम भइरहेको उनले बताएका छन । उनले भने, ‘विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, पटक–पटक आएका छन् । अनि हामी कहाँ बत्ती गयो भन्छन् ।
यसरी भ्रम फैल्याउने काम भएको छ, ‘पटक–पटक एउटै नम्बरबाट फोन गर्ने, राति १२ बजे फोन गर्ने, हामी कहाँ लाइन गयो भन्ने । त्यहाँ बुझ्दा सबैतिर छ । यो खालको एउटा दुष्प्रचार प्रसार गरिएको पाइन्छ ।’
विद्युत् अवरुद्ध हुँदा नेपाल विद्युत् प्राधिकरणले कारणसहित सूचना दिने गरेको खड्काले बताए । ‘अवरुद्ध भएको खण्डमा यस कारण अवरुद्ध भयो भन्ने गरेका छौँ, ‘उत्पादनका कमीले लोडसेडिङ भएको छैन, कम उत्पादन भएको समयमा आयात गरेर भएपनि आवश्यक विद्युत उपलब्ध गराएका छौँ ।’
मन्त्री खड्काले लोडसेडिङको चर्चा सामाजिक सञ्जालको हल्ला मात्रै भएको दाबी गरेका छन ।






