काठमाडौं । अग्रज संगीतकार एवम् गायक गणेश रसिकको ७८ वर्षको उमेरमा आइतबार बिहान ११ बजे निधन भएको छ । उनी विगत पाँच वर्षदेखि प्रोस्टेटसम्बन्धी क्यान्सर रोगबाट पीडित थिए । रसिकको उपचारको क्रममै हरिसिद्धी स्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो । बुधवार मात्र गीतकार संघ नेपालले घरमै पुगेर सम्मान गरेको उनलाई गाह्रो भएपछि दुई दिन अघि अस्पताल भर्ना गरिएको थियो ।
उनका तीन वटै भाइ, श्रीमती र छोराको विगतमा निधन भइसकेकाले परिवारमा छोरी, बुहारी र नातिनी मात्र छन् । हाल बेलायतमा रहेकी छोरी काठमाडौँ आएपछि बल्ल उनको दाहसंस्कार गरिने भएको छ । अहिले उनको पार्थिव शरीरलाई त्रिबिबि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।
भोजपुरको छिनामखुमा २००४ सालमा जन्मेका गणेश रसिकका हजुरबुवा हर्कराज राई ब्रिटिस लाहुरेको थिए । उनलाई हजुरबुवाले सेनामा लाग्न सुझाव दिए । तर पनि उनी संगीत तर्फ आकर्षित थिए । बुबाले गीत गाउने गरेको बुबाकै गीत सुनेर उनी गायन तर्फ आकर्षित भएका थिए ।
भोजपुरबाट अध्ययनको लागि धरान झरेका रसिकको किशोर अवस्था धरानमा बित्यो । त्यो समय उनी फिरन्ते थिए । उनी घुम्न खुबै मन पाउँथे । घुम्ने क्रममा गीत लेख्ने उनको बानी थियो । अध्ययनकै सिलसिलामा विराटनगरबाट काठमाडौँ छिरेका उनले काठमाडौँ आएपछि गीत गाउने क्रममा राल्फाका साथीहरूसँग जोडिए ।
यसरी स्रष्टा रसिकको सांगीतिक यात्रा औपचारिक रूपमा राल्फाबाट सुरु भएको थियो । यो समूहमा उनी जोडिनु अघि मञ्जुल, रायन, रामेश र नोरेम थिए । यी चार जनाले चलाएको राल्फामा गणेश रसिक काठमाडौँ आएपछि जोडिएका थिए । उनी राल्फामा जोडिएपछि केही महिना यो समूह अघि बढेको थियो । तर ६ महिना नपुग्दै उनी राल्फाबाट अलग भए । पश्चिमा शैलीबाट प्रभावित गीतहरू गाउनेहरुको यो समुह उनलाई मन नपरेपछि राल्फा समूह छाडे । त्यसपछि उनले हिरण्य भोजपुरे, उर्मिलासँग जोडिएर २०३० सालमा ‘लेकाली’ समूह स्थापना गरे । सो समूहमा रहेर उनले थुप्रै गीतहरू रचना गरेका थिए । आफ्ना स्वरमा धेरै गीतहरू रेकर्ड गराए ।
स्रष्टा रसिकले घरबेटी नानी आँगनीमा देऊ न मलाई बास, नखेल्नु जुवा र तास, रातो भाले क्वाँया क्वाँया, ओ याङ्जी नाना, नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर, धेरै सम्झे धेरै हुन्छ, हाम्रो घरबाट ट्याम्के डाँडा, ओ शून्यता जस्ता कैयौँ कालजयी गीतहरू आफ्नो स्वरमा ल्याएका थिए । आफ्ना धेरै जसो गीतका उनी रचनासँगै संगीतकार पनि थिए ।
स्रष्टा गणेश रसिक कुशल लेखक एवम् साहित्यकार पनि थिए । उनका क्षितिजलाई छुन खोज्दा (कथा संग्रह), रसिकका गीतहरू (गीति पुस्तक), आकाशगंगाको ओतमुनि (उपन्यास), दशगजामा उभिएर, जब सिस्नुहरू टेक्दै हिँडे, पाँच पुस्तकको पेरुंगो (संस्मरण) लगायत कृतिहरू पनि प्रकाशित छन् ।
आर्थिक संकटका कारण २०५०को दशकमा काठमाडौँ छाडेर इलामको फिक्कल फर्केका रसिकले त्यहाँ रहेको चिया बगानमै आफ्नो घरमा एफएम रेडियो चलाए । उनी राजनीतिमा पनि सक्रिय भए । जसब २०६७ मा आफ्नो एक मात्र छोरालाई फिक्कल स्थित आफ्नो घरमा एका बिहानै उनले मृत अवस्थामा भेटे । त्यो चोट सहन नसकेर त्यसपछि उनी फेरी काठमाडौँ फर्किएका थिए । उनी त्यसपछि काठमाडौँ बस्दै आएका थिए । रत्न रेकर्डिङ र सांस्कृतिक संस्थानको महाप्रवन्ध र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव भएर उनले प्राज्ञिक सेवा समेत गरेका थिए ।
दिवंगत रसिकको परिवारमा एक छोरी, बुहारी, नातिनी छन् । उनले आफु मुनीका तीन भाइ, पत्नी र छोरालाई यस अघि नै गुमाई सकेका थिए । चार वर्ष अघि उनको पत्नीको कोरोनाबाट निधन भएको थियो । त्यति बेला उनलाई क्यान्सरको समस्या देखिएको थियो । सोही क्यान्सरसँग जुध्ने क्रममा उनी आईतबार बिहान सबैबाट टाढा भए ।






