गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले ‘क’ वर्गका अपांगता भएकालाई घरमै निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । अध्यक्ष भूपाल पोखरेलले बुधबार आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम गाउँसभामा पेस गर्दै ‘क’ वर्गका अपांगता भएकाहरूका लागि घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने जानकारी गराएका हुन् । ‘क’ वर्गका अपांगता भएकाहरू हिँडडुल गर्न नसक्ने भएको र स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेकाले घरमै स्वास्थ्य सेवा दिने नीति लिइएको हो ।
त्यसका लागि महिनामा न्यूनतम एकपटक स्वास्थ्यकर्मी लक्षित वर्गका घरमा पठाइने र आवश्यक परे अन्य समयमा पनि स्वास्थ्यकर्मी अपांगता भएकाको घरमा पठाउने अध्यक्ष पोखरेलले बताए । गाउँपालिकाले आगामी आर्थिक वर्षमा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि पनि घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने तथा गाउँपालिका केन्द्रमा ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।






