वीरगन्ज । वीरगन्ज महानगरपालिकाका महानगर प्रमुख (मेयर) राजेशमान सिंह पक्राउ परेका छन् । नागरिकता लिखतसम्बन्धी कसुरको अभियोगमा उनी पर्साको ठोरी रिसोर्ट नजिकबाट पक्राउ परेका हुन् ।
अदालतमा परेका मुद्दाका ’bout थप अनुसन्धान गर्न भनी पर्सा जिल्ला अदालतबाट गएको जेठ १२ गते ७ दिनको म्याद राखी मेयर सिंहलाई पक्राउ गर्न पुर्जी जारी भए अनुसार मेयर सिंहलाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरिक्षक सुदीपराज पाठकले बताए । ठोरी–२ स्थित ठोरी रिसोर्ट नजिकबाट मेयर सिंहलाई नियन्त्रणमा लिएको उनको भनाइ छ । प्रहरी नियन्त्रणमा रहेका मेयर सिंहलाई मंगलबार नै पर्सा जिल्ला अदालतमा पेश गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजु कार्कीले बताए ।
अर्काको छोरीलाई आफ्नो छोरी बनाई नागरिकता बनाइदिएको लिखतसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतले जेठ १२ गते जारी गरेको पक्राउ पूर्जीपछि जेठ १३ गते बिहान मेयर सिंह आँफै पर्सा जिल्ला अदालतमा उपस्थित भएका थिए । तथापि सो दिन मुद्दाको चाप बढी भएकोले मेयर सिंह विरुद्ध मुद्दाको सुनुवाइ हुन नसकेपछि मेयर सिंह प्रहरीको निगरानीभन्दा अलि सुरक्षित ठाउँमा बस्दै आएका थिए । आफूहरुले बिशेष सूचनाका आधारमा त्यो सुरक्षित ठाउँ बुझी नियन्त्रणमा लिएको पनि पर्सा प्रहरीले दावी गरेको छ ।

नागरिकता लिखत सम्बन्धी मुद्दामा मेयर सिंह, उनले कान्छी श्रीमती भनेकी सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाकी रिता भट्टराई र वीरगन्ज महानगरपालिकाका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी राय विरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । मेयर सिंहले रिता भट्टराईकी छोरी रुविना लाई आफ्नो छोरी बनाई फर्जी जन्मदर्ताको आधारमा रुबिना श्रेष्ठको नाममा नागरिकता बनाउँदा लिखत सम्बन्धि कसूर गरेको मुद्दा पर्सा जिल्ला अदालतमा परेको थियो । वीरगन्ज–३ का लियाकत अलीले २०८० साल माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरुद्ध सरकारी कागजात किर्ते र नागरिकता किर्ते विषयमा उजुरी दिएको सरकारी वकिल कार्यालय पर्साले पुष्टि गरेको छ ।
सो उजुरीका आधारमा मेयर सिंहविरूद्ध चार वटा मुद्दा परेकोमा पर्सा जिल्ला अदालतले लिखत सम्बन्धी कसुरमा पक्राउ पूर्जी जारी गरेको पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले पनि जनाएका छन् । अहिले पर्सा जिल्ला अदालतमा मेयर सिंहले कसुर गरेको भनिएको मुद्दाका ’bout सुनुवाई गर्ने तयारी भइरहेको पनि श्रेष्तेदार मल्लिकले बताए ।







