रावावेँशी पालिकालाई लिची हबको रुपमा विकास गरिने

खोटाङ । खोटाङको रावावेँशी गाउँपालिकाले भौतिक पूर्वाधार र कृषिलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०८२–८३ को रु ३८ करोड ५६ लाख ५६ हजार ८४३ को वार्षिक बजेट पारित गरेको छ । गाउँपालिकाको कार्यालयमा सञ्चालित १७ औं गाउँसभामा उपप्रमुख कौशिला गुरुङले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

गाउँसभामा गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम समेत पारित भएको छ । यस बजेटमा भौतिक पूर्वाधार निर्माण र कृषि विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

संघीय सरकारसँगको साझेदारी समपूरक अनुदानबाट बिजुले–लेकखर्क–दुवेकोल–ऐसेलुखर्क सडकको लागि रु एक करोड ७५ लाख विनियोजन गरिएको छ । प्रदेश सरकारसँगको समपूरक अनुदानबाट नुनथला–हरमटारकुभिण्डे–जौबारी सडक स्तरोन्नतिको लागि एक करोड २५ लाख बजेट छुट्याइएको छ । वडा नम्बर १, ३ र ५ को कार्यालय भवनमा तला थप्नको लागि रु ७५ हजार बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

लिची हब विकासमा जोड
संघीय सरकार विशेष अनुदानबाट बृहत् कृषि व्यवसाय प्रवर्धन कार्यक्रमको लागि आगामि आर्थिक वर्षमा करिब एक करोड ६० लाख बराबरको बजेट विनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीले जानकारी दिए ।

विनियोजित बजेटबाट गाउँपालिकालाई लिची हबको रूपमा विकास गर्नेलगायतका कृषि कार्यक्रमहरू समेटिने जनाइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेग्मीका अनुसार आर्थिक विकासको लागि एक करोड ८६ लाख ७९ हजार र सामाजिक विकासका लागि १९ करोड ११ लाख ८३ हजार ८४३ रकम विनियोजन भएको छ ।

गाउँपालिकाको समग्र पूर्वाधार विकासको लागि नौ करोड नौ लाख ८२ हजार, वातावरण तथा विपद् व्यवस्थापनको लागि ३० लाख र सुशासन तथा संस्थागत विकासको क्षेत्रमा रु १८ लाख बजेट विनियोजन भएको छ । वडागत योजनाहरूका लागि रु दुई करोड दुई लाख र निर्माणाधीन गाउँपालिकाको प्रशासनिक भवनका लागि गाउँपालिकाको तर्फबाट रु ५० लाख बजेट विनियोजन भएको जनाइएको छ ।

यस्तै, विद्यार्थीको क्षमता अभिवृद्धिको लागि विद्यालयहरूमा खेलकुद र संगीत शिक्षक व्यवस्था गर्ने नयाँ नीति पारित गरिएको छ । गरिब र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाको लागि छात्रवृत्ति प्रदान गर्ने नीति समेत गाउँसभामा पेश गरी पारित गरिएको छ । सामाजिक सुरक्षा अन्तर्गत गाउँपालिकामा सञ्चालित एकल पुरुष एवं एकल महिला भत्ता लगायत शिक्षा क्षेत्रका कार्यक्रमहरूलाई निरन्तरता दिइएको छ ।

रावावेँशी गाउँपालिकाले यस वर्षको बजेटमार्फत भौतिक पूर्वाधार, कृषि विकास, शिक्षा र सामाजिक सुरक्षालाई समान प्राथमिकता दिएको छ । लिची हब विकासको अवधारणाले गाउँपालिकालाई कृषि पर्यटनको क्षेत्रमा अग्रणी बनाउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा बढीको क्षति