असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्क रहन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

बुधबारदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशमा मध्यम वर्षा सुरु हुने प्रक्षेपण गरिएको छ। उत्तर अण्डमान सागर आसपास विकसित न्यूनचापीय क्षेत्र बङ्गालको खाडीको मध्य भागमा रहेकाले उक्त प्रणाली थप शक्तिशाली भई ‘डिप डिप्रेसन’का रूपमा पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने र त्यसको प्रभाव नेपालमा पर्ने प्राधिकरणले जनाएको छ।

भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले अत्यावश्यक कामबाहेक टाढा वा रातिको समयमा यात्रा नगर्न प्राधिकरणले आग्रह गरेको छ।

जोखिमयुक्त सडक तथा राजमार्गमा डोजर, एक्साभेटर र लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न तथा नदी किनार, खोला र खहरे आसपासका बासिन्दालाई चनाखो रहन भनिएको छ। जोखिम बढेमा सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गर्न र तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवालालाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन प्राधिकरणले अनुरोध गरेको छ।

विपद्को अवस्थामा बाढी तथा वर्षासम्बन्धी जानकारीका लागि ११५५, खोज तथा उद्धारका लागि ११३८, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी १११४ र प्राधिकरणको टोल फ्रि नम्बर ११४९ मा सम्पर्क गर्न सकिनेछ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन