पोखरा । कास्कीमा पछिल्लो ६ महिनामा मानवअधिकार उल्लंघनका ११४ घटना अभिलेखीकरण गरिएको छ । तीमध्ये बालअधिकारका ९ घटना छन् । बालिकामाथि बलात्कारका ७ र बालबालिकामाथि विद्यालयमा शारीरिक दण्डका २ घटना अभिलेखीकरण भएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले सन् २०२५ जनवरी १ देखि अहिलेसम्म अमानवीय व्यवहार तथा दुव्र्यवहारका २, कुटपिटका २ र हत्याका १ घटना, जातीय विभेदका १, घरेलु हिंसाका ९२ र महिलामाथि बलात्कारका ७ घटना अभिलेखीकरण गरेको हो । गत वर्ष सन् २०२४ मा मानवअधिकार उल्लंघन तथा ज्यादतिका कुल ९३ घटना अभिलेखीकरण गरिएको थियो । त्यस बेला घरेलु हिंसाका मात्रै ५३ घटना भएकामा अहिले बढेर ९२ पुगेको हो ।
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२६ प्रकाशनपूर्व इन्सेक गण्डकी आयोजनामा अर्धवार्षिक समीक्षा तथा मानवअधिकारको अवस्थाविषयक अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक प्रस्तुत गरिएको हो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले मानवअधिकार उल्लंघनका घटना न्यूनीकरण गर्न सरोकारवालाको साझा भूमिका रहेको बताइन् । पीडितले न्याय अनुभूति नगरेसम्म मानवअधिकारकर्मीको साथ र सहयोग निरन्तर आवश्यक पर्ने बताउँदै नागरिक पनि सचेत हुनुपर्ने उनको भनाइ थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले प्रहरीले गम्भीर प्रक्रियाका घटनाहरूमा मिलापत्र नगर्ने स्पष्ट पारे । उनले अभद्र व्यवहार र साइवर अपराधका घटनामा जिल्लामा मात्रै नभई देशभर बढेको भन्दै साइबर अपराधसम्बन्धी विद्यालय र समुदायमा जनचेतनासम्बन्धी कार्यक्रम संचालन गर्नुपर्ने बताए ।
इन्सेकले सन् १९९२ देखि नेपाल मानवअधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आइरहेको छ । आगामी फागुनमा प्रकाशित हुने अंक ३४ औं संस्करण हुनेछ ।
हाल अभिलेखीकरण गरेका मानवअधिकार उल्लंघन तथा ज्यादतिका घटनामाथि सरोकारवालाबीच घटनाको पुर्नपुष्टि र अभिलेख गर्नेक्रममा प्रत्येक ६ महिनामा सरोकारवालाबीच समीक्षा कार्यक्रम आयोजना गर्दैआएको इन्सेक गण्डकी संयोजक शिवप्रसाद खकुरेलले बताए । गत वर्षदेखि नेपाल मानवअधिकार वर्ष पुस्तकमा वातावरण अधिकारलाई समेत प्राथमिकता दिइएको उनले बताए ।






