मुम्बई । भारतको अहिलेसम्मकै सबै भन्दा महँगो लगानीमा निर्माण हुन लागेको चलचित्र ‘रामायण–१’ र ‘रामायण–२’को लागि निर्माण पक्षले जम्बो कलाकार टोली चयनसँगै सोमबार घोषणा गरेको छ ।
यो चलचित्रमा रणवीर कपूरले रामको भूमिका निर्वाह गर्दै छन् । यसको बाँकी अरू कलाकारको सूची पनि सोमबार सार्वजनिक गरिएको हो । यो चलचित्रको दुई भागमा निर्माण गर्दा लगभग १६०० करोड भारतीय रुपैयाँ खर्च हुने निर्माण पक्षले घोषणा गरेको छ । यो चलचित्रको पहिलो भाग सन २०२६ मा र दोस्रो भाग सन २०२७ मा रिलिज गरिने भएको छ ।
यो चलचित्रमा २० जना भन्दा बढी लोकप्रिय कलाकारहरू शीर्ष भूमिकामा छनोट भएका छन् । प्रत्येक पात्रलाई विशेष ध्यानमा राखेर स्टार कास्ट छनोट गरिएको निर्माण पक्षले जनाएको छ । रणवीर कपूरले रामको भूमिका निर्वाह गर्ने यो चलचित्रमा रावणको भूमिका दक्षिण अभिनेता यशले निर्वाह गर्दै छन् । चलचित्रमा सीताको भूमिकामा दक्षिण भारतीय अभिनेत्री साई पल्लवीलाई छनोट गरिएको छ । यो चलचित्रमा अभिनेता अमिताभ बच्चन जटायुको भूमिकामा अनुबन्धित भएका छन् । यस्तै भरतको भूमिका आदिनाथ कोठारेले निर्वाह गर्ने भएका छन् ।
चलचित्र रामायणमा अभिनेता सनी देओलले रामभक्त हनुमानको भूमिका निर्वाह गर्नेछन् । यस्तै टेली चलचित्रका अभिनेता रवि दुबेले लक्ष्मणको भूमिका निर्वाह गर्नेछन् । रामानन्द सागरको रामायणमा रामको भूमिका निर्वाह गरेका अरुण गोविलले यो चलचित्रमा राजा दशरथको भूमिका निर्वाह गर्ने भएका छन् । यस्तै इन्दिरा कृष्णनले रानी कौशल्याको र अभिनेत्री लाल दत्तले कैकेयीको भूमिका निभाउने भएका छन् । यसै गरी रामायणमा मन्थराको भूमिकामा शिवा चड्डा, विभीषणको भूमिकामा दक्षिण भारतीय अभिनेता विजय सेतुपति र मेघनाथको भूमिकामा अभिनेता विक्रान्त मेसी चयन भएका छन् । चलचित्रमा शुपर्णखाको भूमिकामा रकुल प्रीत सिंह र मन्दोदरीको भूमिकामा काजल अग्रवाल अनुबन्धित भएका छन् ।
यस्तै नकारात्मक भूमिकाबाट पछिल्लो समय चर्चा कमाएका अभिनेता बबी देओलले यो चलचित्रमा कुम्भकरणको भूमिकामा निर्वाह गर्दै छन् । यस्तै भगवान् शिवको भूमिकामा मोहित रैना, भगवान् इन्द्रको भूमिकामा कुणाल कपुर र विद्युतको भूमिकामा विवेक ओबराय देखिनेछन् ।






