कराँची । राजनीतिक रूपमा भारत र पाकिस्तानको सम्बन्ध त्यत्ति राम्रो छैन । तर पाकिस्तानमा भारतीय चलचित्र र चलचित्रकर्मीहरूलाई निकै सम्मान गरिन्छ । यति बेला भने बलिउडका दुई दिग्गज कलाकारको पाकिस्तानमा रहेको घरलाई संरक्षण गर्ने काम पाकिस्तान सरकारले थालेको छ ।
हिन्दी चलचित्रका दुई महान् अभिनेता राज कपूर र दिलीप कुमारको पुख्र्यौली घर पाकिस्तानमा रहेको छ । यी दिवंगत कलाकारहरूलाई सोही कारण पनि पाकिस्तानीहरुले अझ धेरै श्रद्धा र सम्मान गर्छन् । पाकिस्तानीहरूले यी दुई अभिनेतालाई पाकिस्तानसँग जोडिएका कलाकारको रूपमा लिने गरेका छन् । यसै क्रममा यी दुई अभिनेताको पाकिस्तानमा रहेको पुख्र्यौली घरहरूको मर्मत र संरक्षण गरिने भएको छ । यसका लागि बजेट समेत स्वीकृत भइसकेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तीय सरकारले बुधवार भारतीय चलचित्र उद्योगका दिग्गज अभिनेता दिलीप कुमार र राज कपूरको ऐतिहासिक भवनहरूको मर्मत र संरक्षणका लागि लगभग ३ करोड पाकिस्तानी रुपैयाँ स्वीकृत गरेको छ ।
प्रान्तीय मुख्यमन्त्री अलि अमिन गण्डापुर र पर्यटन तथा पुरातत्त्व सल्लाहकार जाहिद खान सिनवारीको अध्यक्षतामा बसेको बैठकले बजेट स्वीकृत गरेको पीटीआईले जनाएको छ ।
बैठकले विश्व बैंकको केआइटीई कार्यक्रम अन्तर्गत खैबर पख्तुनख्वा प्रान्तमा सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनका लागि प्रमुख परियोजनाहरूलाई अनुमोदन गरेको छ । त्यहाँ राज कपूर र दिलीप कुमारका ऐतिहासिक पुख्र्यौली भवनहरू जीर्ण अवस्थामा छन् । पाकिस्तान सरकारले पहिले नै दुवै घरहरूलाई राष्ट्रिय सम्पदाको रूपमा घोषणा गरिसकेको थियो । राष्ट्रिय सम्पदाको रूपमा रहेका घरहरू जीर्ण बन्दै गएको भन्दै यसको टिप्पणी भएपछि त्यहाँको प्रान्तीय सरकारले यसलाई गम्भीरता साथ हेरेको छ ।
खैबर पख्तुनख्वा पुरातत्त्व विभागले दुवै संरचनाहरूलाई दुवै दिवंगत कलाकारहरूको जीवन र करियरमा समर्पित संग्रहालयहरूमा रूपान्तरण गर्ने योजना बनाएको छ । तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले १३ जुलाई २०१४ मा यी घरहरूलाई राष्ट्रिय सम्पदा स्थल समेत घोषणा गरेका थिए । ती दुई अभिनेताको सम्मानमा पनि उनीहरूको पुख्र्यौली घरलाई राष्ट्रिय सम्पदा घोषणा गरेको नवाज सरकारले त्यति बेला बताएको थियो ।
पुरातत्त्व विभागका निर्देशक डा. अब्दुस समदका अनुसार सरकारले सो सम्पत्ति अधिग्रहण गर्दै यसलाई दिलीप कुमार र राज कपूरको पेशावरदेखि मुम्बईसम्मको यात्रालाई प्रदर्शन गर्ने संग्रहालयमा रूपान्तरण गर्न चाहेको छ । जसमा उनीहरू प्रति समर्पित एक संग्रहालय पनि समावेश हुने छ ।
दिलीप कुमार र राज कपूरको ऐतिहासिक भवनलाई जीर्ण अवस्थाबाट बचाएर सांस्कृतिक स्थलको रूपमा संरक्षण गर्ने काम आफूहरूले अघि बढाइसकेको प्रान्तीय सरकारले जनाएको छ । बैठकले स्वीकृत गरेको यी दुई भवनसँगै अन्य सम्पदा संरक्षण र पर्यटन प्रवर्धन परियोजनाहरूमा प्रदेशका विभिन्न संग्रहालय र पुरातात्त्विक स्थलहरूको स्तरोन्नति समावेश थियो । भवन संरक्षण परियोजनाहरूको उद्देश्य यस क्षेत्रको ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै सम्पदा पर्यटनलाई प्रवर्धन गर्नु हो । यसरी पाकिस्तानको प्रान्तीय सरकारले गरेको यो कार्यको राज कपुर र दिलीप कुमारका प्रशंसकहरूले यति बेला खुलेर प्रशंसा गरेका छन् ।






