८८ वर्षको उमेरका हातमा आफ्नै नामको लालपुर्जा, बगे हर्षका आँसु

लमजुङ । लमजुङमा एक जना एकल महिलाले ८८ वर्षको उमेरमा आफ्नै नामको लालपुर्जा पर्दा हर्षका आँसु बगाएकी छन् । राइनास नगरपालिका–६ नयाँ पौवाकी खुन्तुरी परियारले त्यस्तो खुसी व्यक्त गरेकी हुन् ।

अर्काकै जग्गामा टहरो हालेर जीवन निर्वाह गर्दै आएकी उनले अब प्राण जानेबेला आफ्नै नामको घडेरीमा सानो घर बनाएर सास बिसाउन पाउने भएको भन्दै खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘अब त अझै केही वर्ष बाँच्छुजस्तो लागेको छ ।’

राइनास नगरपालिका–६ को धमिलिकुवामा आयोजित भूमिहीन दलित र सुकुमबासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ, भूमि समस्या समाधान आयोगका विज्ञ सदस्य डा. जगत बस्नेत, जिल्ला अध्यक्ष दामोदर अधिकारीको हातबाट खुन्तुरीले लालपुर्जा पाएकी हुन् । जो खुन्तुरीका लागि पहिचान, स्वामित्व र राज्यबाट पहिलोपटक आधिकारिक रूपमा प्रदान गरेको अपनत्वसहितको अनुभूतिको जग्गाधनी पुर्जा थियो ।

१९९४ सालको पुस महिनामा साबिकको गौंडा गाविस, ओखरीमा जन्मिएकी खुन्तुरी परियार ८८ वर्षीया भइन् । उनको विवाह तत्कालीन मञ्ज्याङ गाविसमा भएको थियो । उनका श्रीमान् कान्छी छोरी फूलमाया जन्मेपछि बेपत्ता छन् ।

खुन्तुरीले ज्याला मजदुरी गरी ती छोरी हुर्काएको र छोरीको विवाहपछि छोरीकै साथमा बस्ने गरेको बताइन् । उनका अनुसार खुन्तुरी अहिले बसेको ठाउँ छोरीको विवाह भएको ठाउँ हो । तर, उनले आफूले जीवनमा कल्पना पनि नगरेको काम भएको बताइन् ।

उमेरका कारण खुन्तुरीको कम सुन्ने अवस्था छ, बोल्न पनि प्रायः इसारा गर्ने र छोरी ज्वाइँले केही सुनाए वा सोधे जवाफ दिने गर्छिन् । दुःख गरेर पनि आमालाई पालेको सार्थक भएको भन्दै खुन्तुरीकी कान्छी छोरी फूलमाया परियारले पनि खुसी व्यक्त गरिन् । ‘जवान छँदा खुन्तुरीले ज्याला मजदुरी गर्नुका अतिरिक्त बाख्रा पालनसमेत गर्ने गरेकी थिइन्, आजका दिनमा पनि आमाले पालेका बाख्रा पाँचवटा छन्, आफ्नो घर खर्चसमेत तिनै बाख्राबाट टार्ने गरकी छन्,’ फूलमायाले भनिन् ।

भूमि समस्या समाधान आयोग जिल्ला समितिको समन्वयमा राइनास नगरपालिका–६ मा १६ जना भूमिहीन दलित तथा सुकुमबासीलाई सार्वजनिक पर्ती जग्गामा प्लटिङ गरी लालपुर्जा वितरण गरिएको हो । खुन्तुरी परियारजस्तो अवस्थामा रहेका ७२ जनामध्ये १६ जनालाई पहिलो चरणमा १९१ दशमलव शून्य ४ वर्गमिटर जमिन उपलब्ध गराइएको आयोगका जिल्ला अध्यक्ष अधिकारीको भनाइ छ ।

‘कतिपटक त अस्पताल जान पनि नागरिकता र ठेगानाको प्रमाण खोजिन्थ्यो, मसँग घर भन्न मिल्ने कागज नै थिएन,’ खुन्तुरीका कान्छा ज्वाइँ बुद्धिबहादुर परियारले भने, ‘बुढी आमा आज धेरै खुसी हुनुहुन्छ, उहाँका आँखाबाट खुसीका आँसु झरेको मैले देखें ।’

खुन्तुरी परियारको जीवनमा आफ्नै नाममा लालपुर्जा पाउनु उनको आत्मसम्मान र सामाजिक अधिकारको पुनःस्थापनाजस्तै हो । उनको कथा अहिले राइनास नगरपालिकामा मात्र होइन, सम्पूर्ण भूमिहीन दलित र सुकुमबासी समुदायका लागि प्रेरणाको स्रोत बन्दै छ । सरकारी नीतिअनुसार खुन्तुरीलाई घर बनाउने सामग्रीको जोहो गरिदिन स्थानीय तह नगरपालिकालाई अनुरोध गरिएको छ । पालिकाबाट के कति सहयोग हुनसक्ने हो, निर्णय गरेर कार्यान्वयन हुन्छ भन्ने आयोगको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

epaper

ताजा समाचार

धन कमाएर घर फर्किने सपना अधुरै : २ नेपालीको परदेशमै अन्त्येष्टि