जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमण उच्च जोखिममा पुगेको छ । तर तयारीका अवस्था संतोषजनक नरहेको स्वास्थ्य क्षेत्रकै विज्ञहरु बताउँछन् । प्रदेश सरकार अहिलेपनि यो समस्यालाई हल्को ढंगमा लिइरहेको देखिएको छ । अस्पताल, आइसोलेशन वार्ड व्यवस्थापनमा लाग्नु पथ्र्यो तर त्यसको ठिक विपरीत प्रदेश २ का मुख्यमन्त्रीदेखि प्रमुख मन्त्रीहरु काठमाडौं बसेका छन् । मुख्यमन्त्री लालबाबु राउत कोरोना भन्दा पार्टीको जोड घटाउमा लागेको देखिएका छन् । राजपा र समाजवादी पार्टी एकभएपछि पद बाँडबखराको अहिले काठमाडौंमा कार्य भइरहेकाले त्यसमा लागेका छन् । यही स्थिति प्रदेशका अन्य प्रमुख मन्त्रीहरुको पनि रहेको छ ।
प्रदेशका आठै जिल्लामा गरिएको कोरोना परीक्षणमध्ये हालसम्म ९५ जनामा कोभिड—१९ पुष्टी भएको छ । सबैभन्दा बढी पर्सा जिल्लामा ८२ जनालाई यस महामारीले सिकार बनाएको छ । प्रदेश २ मा ४ हजार २ सय ३६ जना कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुको थ्रोट स्वाब संकलन गरिएको छ । ती मध्ये ९५ जनाको रिपोर्ट पोजेटिभ छ भने ३ हजार २ सय ४० जनाको रिपोर्ट नेगेटिभ आएको छ । ९ सय १ जनाको रिपोर्ट आउन बाँकी छ ।
विशेषज्ञहरुका अनुसार कोरोना परीक्षण जाँच बढे संगै कारोना पोजेटिभको संख्या अझै बढने छ । तर सरकारको तयारी प्रयाप्त देखिएको छैन । पर्साको वीरगञ्ज अस्पतालमा ठाउँ खाली नहुँदा संक्रमण पुष्टि भएका १८ जनालाई २४ घण्टा बढी समयसम्म संक्रमित घरमै अलपत्र परेका थिए् । वीरगन्ज महानगरपालिका ३ छपकैयामा एकै परिवारका ७ जनासहित १८ जनामा मंलबार राति संक्रमण भेटिएको थियो ।
संक्रमण पुष्टि भएलगत्तै संक्रमितलाई उपचारका लागि कोबिड(१९ अस्पतालमा लगेर भर्ना गर्नुपर्छ ।संक्रमणको पुष्टि भएका १८ जनालाई निकै समस्या भएको थियो । संक्रमितहरूको उपचार हुँदै आएको नारायणी अस्पतालको आइशोलेशन वार्डमा थप संक्रमित राख्ने बेड नभएर उनीहरू अस्पताल घण्टौँ नलगिएको नरायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए । आइसोलेसन वार्डको क्षमता ७० शैयाको मात्र छ’, उनले भने, ‘पहिलेदेखि नै ६९ जना संक्रमित ल्याएर राखिसकिएको थियो ।’

प्रदेशमा कोरोना संक्रमणको जिल्लामा निर्माण गरिएको ४ हजार २ सय ३ बेड क्षमताको १ सय ७९ वटा क्वारेन्टाइनमा १ हजार ६ सय १२ जना व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए । प्रदेशभरिमा अहिले ४ हजार ५ सय २० जना व्यक्तिहरु होम क्वारेन्टाइनमा रहेका छन् भने ३ सय ४७ बेड क्षमताको आईसोलेसनमा ८९ जना भर्ना रहेको उनले बताए ।
त्यस्तै यस प्रदेशमा अहिलेसम्म ५ हजार ४ सय ८८ जनाको आरडीटी परीक्षण गरिएको छ । जसमध्ये १० जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५ हजार ४ सय ७८ जनाको रिपोर्ट नेगेटिभ देखिएको सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव घिमिरेले जानकारी दिए ।
प्रदेश २ स्थित कोरोनाको इपिसेन्टर पर्सा ८२, बारा ३, रौतहट ३, सर्लाही १, महोत्तरी १, धनुषा ३, सप्तरीमा १ जनामा कोरोना संक्रमण भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश २ को ८ जिल्ला मध्ये सिरहा जिल्लामा हालसम्म कोरोनाको केश फेला परेको छैन । पछिल्लो तीन दिनमा मात्रै यस प्रदेशमा ६२ जना संक्रमित थपिएका छन् । प्रदेश २ मा प्रतिशतको आधारमा हेर्ने हो भने ४३.३८ प्रतिशत संक्रमित भेटिएका हुन् ।
प्रदेशमा बढ्दै गएको संक्रमणलाई हेर्दै सीमा व्यवस्थापनलाई अझ बढी प्रभावकारी बनाउनुपर्ने सामाजिक विकास मन्त्रालयका सविच डा. घिमिरे बताउँछन् । ‘खुल्ला सीमाबाट नेपाली आउने क्रम बढेको हुँदा बढी मात्रामा होल्डिङ प्वाइन्ट बनाएर क्वारेन्टाइन गर्ने प्रकृया सुरु गर्नु जरुरी छ,’ घिमिरेले भने, ‘सबै अस्पतालले आइशोलेशन बेड तम्तयार अवस्थामा राख्नु जरुरी छ ।’
लकडाउनलाई प्रभावकारी वनाउने निर्णय
प्रदेशमा कोरोना सन्क्रमितको संख्यामा एक्कासी वृद्धि भएपछि प्रदेश सरकारले लकडाउन लाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा सम्पन्न उच्चस्तरीय बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउने, सिमामा थप कडाई गर्ने, सिमापारिको ओहोरदोहोरलाई निरुत्साहित गर्न प्रचार प्रसारलाई तिब्र बनाउने सहितको निर्णय गरेको छ ।

बैठकले सिमा पारी रहेको नेपाली नागरिकलाई स्वदेश ल्याउने सम्बन्धमा आबश्यक कार्यविधि बनाई दिन सङ्घ सरकारलाई आग्रह गर्ने र उनीहरुलाई स्वदेश ल्याउनु पर्ने अबस्थाका लागि प्रत्येक जिल्लामा थप तीन–तीन सय क्षमताको क्वारेन्टाइन तयारी अबस्थामा राख्ने निर्णय गरेको छ ।
यसका साथै बैठकले कोरोना महामारी नियन्त्रणका लागि संघीय सरकारसंग थप बजेट माग गर्ने निर्णय समेत गरेको छ । बैठकमा प्रमुख सचिब अर्जुन पोखरेल, प्रदेश सरकार का बिभिन्न मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी सहितको सहभागिता रहेको थियो ।






