साउन, शिव र सम्भावना

अमृतनाथ तिमल्सिना

नेपाली संस्कृति मूलतः पूर्वीय दर्शन तथा संस्कृतिमा प्रकृति र परिस्थितिलाई चक्रअनुसार पुज्ने प्रचलनसँग जोडिएको छ । ६ ऋतु, १२ महिनाकै चक्रलाई पूर्वीय संस्कृतिमा विशेषगरी धर्ती र प्रकृतिको अस्तित्वसँग जोडिएको छ । सृष्टिको सुरुवात शून्य अर्थात् शिवलाई मान्ने पूर्वीय संस्कृतिका अनुयायीहरूले विशेषगरी धर्म, संस्कृति, प्रथा, चलन र रीतहरूका जगमा सृष्टिको कुनै कालखण्डमा योगदान गर्ने विशिष्ट व्यक्ति, समय र परिवेशलाई पुज्ने गरिएको छ ।

यस्तै, समय अर्थात् साउन महिना पवित्र धार्मिक तथा सांस्कृतिक महिना हो । सूर्य मिथुन राशिबाट कर्कट राशिमा स्थानान्तरण हुने समयमा आकाशमा श्रवण नक्षत्रको निर्माण हुने भएकाले श्रवण महिना हुँदै श्रावण वा साउन महिना भन्ने गरिएको हो । साउनलाई धार्मिक तथा सांस्कृतिकभन्दा पनि मेहेन्दी चुरा र हरिया पहेंला वस्त्र प्रदर्शनको मौसमजस्तै बनाइए पनि पुरुष महिला सबैले बोलबम अर्थात् शिवको मन्त्रोच्चारण गर्दै शिवलाई मनपर्ने पहेलो वा बेसार रंगको वस्त्र धारण गर्ने संस्कार हो । सात्विक जीवनशैलीको अभ्यास गर्ने र पानी र सृष्टिको अर्थ बुझाउँदै स्त्री पुरुषको सृष्टिमा समान अस्तित्वको पुजन गर्ने समयका रूपमा साउनलाई लिइन्छ । नर, अर्थात् पुरुषको प्रतीकका रूपमा लिंग आकृतिमा शिव र नारी अर्थात् स्त्रीको प्रतीकका रूपमा कुण्ड आकृतिमा पार्वतीको पूजा गरेर स्त्री पुरुष वा नरनारी बेगर सृष्टिको अस्तित्व छैन भन्ने कुरा एकाग्रतापूर्वक बुझाउन साउनमा शिवशक्तिमास पूजा गरिन्छ ।

शिवमासका रूपमा लिइने साउन महिनामा केही शिवमन्दिरले चिनिएका काठमाडौं उपत्यका र आसपासका चर्चित धार्मिक स्थलहरूको सन्दर्भमा यहाँ चर्चा गर्न खोजिएको छ । पदयात्रामार्फत प्राकृतिक एवं जैविक जीवनशैलीको अभ्यास गर्ने र स्वस्थ तनमनका लागि पनि यी स्थानहरूको चर्चा हुन आवश्यक छ । आत्मशुद्धी र आत्मशान्ति व्यक्ति समाज र राष्ट्रकै शान्ति र समृद्धिको स्रोत भएका कारण आध्यात्मिक चेतना भएकाहरूका लागि प्राकृतिक हिसाबले मनोरम स्थानहरूको अवलोकन गर्ने अवसरहरूको विस्तारका लागि पनि यी स्थानको चर्चा गर्न आवश्यक छ भन्ने महसुस गरेर यहाँ चर्चा गर्न खोजिएको हो ।

धार्मिक, सांस्कृतिक, शैक्षिक, वातावरणीय, जैविक, यौगिक, खेल वा स्वास्थ्य विधात्मक दृष्टिले वा पर्यटनका अन्य विविध कोणबाट यी स्थानको चर्चा हुनु सँगसँगै पर्यटकीय पहलसँगसँगै आर्थिक वृद्धि र नागरिकको जीवनस्तर सुृदृढीकरणको आशयले पनि यी स्थानको चर्चा गरिएको छ । विश्वभरका हिन्दूहरूका आराध्यदेव पशुपतिनाथ र पशुपतिनाथलाई केन्द्र मान्दै निर्माण गरिन लागिएको शिव सर्किट नेपालको धार्मिक तथा सांस्कृतिकसँगसँगै आर्थिक विकासको एउटा बलियो सूत्र हुनेछ भन्ने विश्वास लिन सकिन्छ । उल्लिखित शिव सर्किटका केही शिव मन्दिरहरू र ती क्षेत्रसँग जोडेर गर्न सकिने पर्यटकीय विकास र नागरिक जीवनशैलीको स्तरीकरणबाट पनि एकता र समृद्धिको एउटा सूत्र शिवसर्किटलाई मान्न सकिन्छ । धार्मिक तथा पौराणिक र स्थानीय नागरिकहरूको एकताको साझा प्रतीकका रूपमा रहेका केही शिव मन्दिरहरूको चर्चा गरौं ।

लटरम्मेश्वर महादेव मन्दिर
मकवानपुर जिल्लामा रहेको लटरम्मेश्वर महादेव मन्दिर धार्मिक, पर्यापर्यटकीय तथा विशेष सांस्कृतिक पर्यटकीय स्थलका रूपमा परिचित छ । यस क्षेत्रको विशिष्ट भौगोलिक अवस्थिति र धार्मिक महत्वका कारण पर्यटकहरूको रोजाइको नयाँ गन्तव्यका रूपमा विकास भइरहेको छ । समुद्री सतहबाट १ हजार ८ सय ५६ मिटर उचाइमा रहेको यस मन्दिरबाट देखिने हिमशृंखलाको दृश्यले पर्यटकलाई मन्त्रमुग्ध पार्ने भएकाले पनि पछिल्लो समय हाइकिङ गएर मन्दिर दर्शनलगायतको फोटो भिडियो सामाजिक सञ्जालमा राख्न थालेपछि पर्यटकको संख्यामा तीव्र वृद्धि भएको छ ।

यहाँ स्थानीय तामाङ समुदायका नागरिकले साउन महिना, माघ महिना, माघे संक्रान्ति, शिवरात्रि, नयाँवर्ष, जेठ पूर्णिमा, पौष शुक्ल पूर्णिमाजस्ता पावन दिनहरूमा मेला तथा विशेष पूजाआजा गर्ने गरेको भए पनि कान्ति लोकपथको स्तरीकरण र काठमाडौं उपत्यकासँगको आवतजावत सुचारु भएपछि जिल्लाबाहिरका पर्यटकहरू वृद्धि हुन लागेको पाइन्छ । अझ सामाजिक सञ्जाल, न्यू मिडिया र विशेषगरी युट्युबमा भिडियोहरू अपलोड हुन थालेपछि धार्मिक तथा सांस्कृतिक रुचीका हिसाबले आउने दर्शनार्थी भक्तजनहरूभन्दा ज्यादा रमाइलोका लागि आउने पर्यटकहरू बढेका छन् । युवायुवती, साहसिक पर्यटनमा रुची राख्नेहरू, पदयात्रीहरूको चाप बढेपछि यस क्षेत्रको पूर्वाधार विकासमा समेत सरकारको ध्यानाकर्षण गर्न सजिलो भएको स्थानीयहरूको बुझाइ छ ।

यहाँको धार्मिक महत्वका सन्दर्भमा पुराण, शास्त्रहरूमा विभिन्न किंवदन्ती पाइन्छन् । महादेवले पत्नी सतिदेवीले दक्षप्रजापतिको यज्ञकुण्डमा फालहाली प्राण त्याग गरेपछि श्रीमतीको मृत शरीरलाई पिठ्युँमा बोकेर विक्षिप्त भई तीनै लोक घुमिरहेका थिए । त्यसैबेलामा सतिदेवीको मृत शरीरमा विष्णुले औसा पारेर गलाइदिएपछि अंग पतन हुनेक्रममा सतीदेवीको लट्टा पतन भएको मानिन्छ । सतीदेवीको लट्टा पतन भएको ठाउँमा शिवशक्ति स्वरूपमा महादेवको उत्पति भएको र लट्टारम्मेश्वर रहेको किंवदन्ती छ ।

लटरमेश्वर महादेव मन्दिर पुग्न मकवानपुर भीमफेदी गाउँपालिकाको इपाबाट २ घण्टाको पैदल यात्रापछि डब्लू डाँडामा पुग्न सकिन्छ । यही डब्लू डाँडामा महादेवको मन्दिर छ । अंग्रेजी अक्षरको डब्लूको आकारमा भएकाले बाहिरबाट आउनेहरूले लटरमेश्वरलाई डब्लू डाँडा भन्दाभन्दै अहिले स्थानीयहरूले पनि डब्लू डाँडा भन्न थालेका छन् । डब्लू डाँडाबाट गणेश हिमाललगायतका हिमशृंखला र प्राकृतिक सुन्दरताको अनुपम दृश्य अवलोकन गर्न सकिन्छ ।

लटारमेश्वर पुग्न काठमाडौंबाट जाँदा २ घण्टा र हेटौंडाबाट काठमाडौं आउने बाटोबाट आउँदा पनि झन्डै २ घण्टा नै लाग्छ ।

बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट कान्तिलोकपथ मार्ग हुँदै ४० किलोमिटर उत्तर क्षेत्रको यात्रापछि बकैया गाउँपालिकाको ठिंगन भन्ने स्थान पुगिन्छ । ठिंगन पुग्नुभन्दा ५ सय मिटरअघि खोरभञ्ज्याङबाटै कच्ची बाटो हुँदै रातोमाटे भन्ने ठाउँसम्म मोटरसाइकल, स्कुटरबाट पुग्न सकिन्छ ।

रातोमाटेबाट करिब ३ घण्टाको जंगल पैदल यात्रापश्चात सो मन्दिर भएको स्थलमा पुगिन्छ । महाभारत क्षेत्रकोे सो स्थानको मौसम छिनछिनमै परिवर्तन चिसो भइराख्छ । लटरम्मेश्वरमा करिब एक डेढ सय मिटरको सिमेन्टको सिँढीसमेत बनाइएको छ । लटरम्मेश्वर डाँडामा गुफाभित्र मन्दिरसमेत रहेको छ । गुफाबाहिर ठूलो घण्टी र भित्र मन्दिर, केही मिटरमाथि ठूलो त्रिशूल र पूजाआज गर्ने स्थलसमेत रहेको छ ।

तारकेश्वर महादेव
काठमाडौं उपत्यकाको उत्तरपश्चिममा पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र मनोरम प्राकृतिक वातावरणमा रहेको महत्वपूर्ण तीर्थस्थलका रूपमा तारकेश्वर महादेव मन्दिर रहेको छ । ऐतिहासिक पाँचमाने र जितपुरफेदीबाट अल्ले ब्यारेक हुँदै पुग्न सकिने तारकेश्वर महादेव मन्दिरमा शिवरात्रि, जनैपूर्णिमा र नयाँ वर्षको दिन ठूलो मेला लाग्छ । प्राकृतिक सौन्दर्यको खानीसमेत मानिने शिवपुरी पर्वतमालाको काखमा रहेको तारकेश्वर महादेव मन्दिर हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण तीर्थस्थल हो ।

स्कन्दपुराणको केदारखण्डको माघमहात्म्य श्री स्वस्थानी व्रतकथामा वर्णन भएअनुसार सतीदेवीको दाहिने तिघ्रो पतन भएको स्थानमा तारकेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहेको उल्लेख छ । तारकेश्वर महादेव मन्दिर पहरामा रहेको छ । तारकेश्वर महादेव मन्दिरनजिकै झरना, गुफा, पोखरी, पाटी पनि रहेका छन् । नववर्ष, एकादशी, शिवरात्रि, जनैपूर्णिमाजस्ता तिथि वा चाडपर्वमा टाढाटाढाबाट भक्तजनहरू यहाँ पूजाआजा गर्न र मेला भर्न आउने गर्छन् । धार्मिक कथाअनुसार देव दानव युद्धमा कार्तिकेयलाई भाला चलाउने अधिकार मात्र दिइएको थियो तर उनकी श्रीमती भल्लिमाला र देवसेनालाई बाण, ब्रह्मास्त्र, वायव्यास्त्र, अग्न्यास्त्र चलाउने अधिकार प्राप्त थियो ।

दानवसँग युद्ध गर्न जाँदा अघोर स्वरूपमा म तारकेश्वरमा रहन्छु भनी स्वयं शिवजीले देवसेना र अन्य सेनालाई भनेका थिए । त्यसैले, युद्धभूमिमा जान सिद्धि प्राप्त गर्नुपर्ने तथा हातहतियार आवश्यक परेकाले सो प्राप्त गर्न सबै देवगण तारकेश्वर पुगेका थिए । त्यसपछि देवगणले महादेवको प्रार्थना गरी सो हतियार र सिद्धि प्राप्त गरेका थिए । मनको इच्छा पूरा गर्न वा केही सामग्री माग्न तारकेश्वर मन्दिरमा गएर प्रार्थना गर्ने प्रचलन भएको कुरा कवीन्द्रप्रताप मल्लको हनुमानढोकास्थित शिलालेखमा पनि उल्लेख छ । जुन कुरालाई शिलाभी सारमा समेत उल्लेख गरिएको छ । त्यसैले, हिजोआज मानिसहरू आफ्नो मनोकांक्षा पूरा होस् भनेर तारकेश्वर महादेव मन्दिरमा पूजाआजा गर्न जाने गर्छन् ।

मन्दिरको काखमा रहेको पोखरीले यहाँको सौन्दर्यलाई झन आकर्षक बनाएको छ । झरना, हरियाली वातावरणका कारण यस स्थानलाई स्वर्गको एक टुक्राका रूपमा नै लिन सकिन्छ । तारकेश्वर महादेव मन्दिरको शिरोभागमा अर्थात् तारकेश्वरबाट करिब १ घण्टा उकालो चढेर द्यौलेश्वर महादेवको शिवलिंग स्थलमा पुग्न सकिन्छ । जहाँबाट उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

भालेश्वर
काठमाडौं उपत्यकाको दक्षिणी भेकमा चन्द्रागिरी पर्वतको शीरमा भालेश्वर महादेवको मन्दिर रहेको छ । समुद्री सतहदेखि २ हजार ५ सय मिटर उचाइमा रहेको यस मन्दिरमा पुग्न पहिला थानकोट भञ्ज्याङदेखि हिँडेर जाने पदमार्ग थियो । अहिले केबुलकारबाट पुग्न सकिने भालेश्वर मन्दिरका विषयमा धार्मिक तथा सांस्कृतिक अनेक महत्वहरू छन् । भालेश्वरमा कुनै एक मात्र चाहना राख्दा पूरा हुने जनविश्वास रहेको छ । यही किंवदन्ती सुनेका पृथ्वीनारायण शाहले राज्यविस्तारका लागि गोरखाबाट मकवानपुर विजयपछि डाँडामा निस्केर भालेश्वरको पूजा गरेर पूर्व उत्तरतर्फ फर्केर देखिएजति क्षेत्रमा राज्य विस्तार गर्न सकौं भनेर एउटै इच्छा राखेका थिए । यहाँबाट देखिनेजति क्षेत्र उत्तरी चीनको सिमानाका हिमालसम्मै राज्य विस्तार गर्न सकेको भएकाले पनि यहाँ राखिएको एक मात्र चाहना पूरा हुने विश्वास लिइन्छ ।

भालेश्वरका सन्दर्भमा धार्मिक ग्रन्थहरूमा पाइएको सन्दर्भअनुसार पनि भालेश्वरको दर्शन गर्दा भक्तजनको इच्छापूर्ति र शिवलोकको बास हुने बताइएको छ । स्कन्द पुराणका अनुसार महादेवले सतिदेवीको मृत शरीरलाई बोकेर त्रिलोक परिक्रमा लगाउने बेलामा सतिदेवीको भाल अर्थात् निधार पतन भएको हुनाले यस ठाउँमा भालेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहेको कुरा केदार खण्डमा उल्लेख छ ।

अहिले डाँडामा भालेश्वर मन्दिर, भ्युटावर, चिल्डे«न पार्क, घोडचढी, जिपलाइनलगायत सुविधा छन् । यहाँबाट गणेश, लाङटाङ, दोर्जेलाक्पा, गौरीशंकरदेखि सगरमाथासम्म देखिन्छ ।

कालेश्वर महादेव मन्दिर
काठमाडौं उपत्यकाको दक्षिणी भेगमा रहेको ललितपुर जिल्लाको महांकाल गाउँपालिका वडा नं ३ र ६ को संगममा कालेश्वर महादेवको मन्दिर अवस्थित छ । राजधानी अर्थात् जिल्ला सदरमुकामबाट ६३ किलोमिटर दक्षिणमा अवस्थित मन्दिर समुद्री सतहदेखि करिब ३ हजार मिटरको उचाइमा रहेको छ । महाभारत शृंखलामा अवस्थित यस देवस्थल चट्टानी पहरोको टुप्पोमा करिब १ रोपनीजति समथर जग्गामा फैलिएको छ ।

सोली घोप्ट्याउँदाको आकारमा रहेको कालेश्वर देवस्थलको थुम्कोलाई ध्यानी तथा योगीहरूले जटाको मुकुट बाँधेका महादेवको आकृतिका रूपमा चित्रण गर्छन् । २० देखि ५० मिटरसम्मका कैयन गुफा भएको यस पर्वतको चुचुरोमा पुगेर हेर्दा पर्वतीय शृंखलाका अतिरिक्त तराइका वीरगन्ज, रक्सौल, रौतहटलगायतका स्थानहरू देख्न सकिन्छ । कालेश्वर महादेवस्थानको देब्रेपट्टि रहेको बुर्जा डाँडा अझ उचाइमा रहेको छ, भनिन्छ ।

कालेश्वर महादेवको धार्मिक महत्वको सन्दर्भमा स्कन्दपुराणको केदारखण्डमा व्याख्या रहेको छ । पुराणहरूमा व्याख्या भएअनुसार पौराणिक कालमा महादेवको तपस्या गर्दा यमराज अर्थात् कालले नुहाएर कपडा सुकाएको ढुंगोका रूपमा यहाँको महांकाल स्थानको ढुंगोले यस क्षेत्रमा अनौठो सन्देश दिएको छ ।

गोटिखेलमा रहेको महांकाललाई पनि शिवकै कालस्वरूपका रूपमा लिइन्छ । कालले नुहाएको स्थानका रूपमा रहेको नदीलाई कालमोचन खोला पनि भनिन्छ । कतिले यसलाई मसानखोला पनि भन्छन् । कालमोचन (मसान) खोला, टुंगुनखोला र गडगडा (धामीखोला) जोडिएर बनेको यस त्रिवेणीको जल लगेर कालेश्वरमा चढाउनेलाई कालेश्वर महादेवको विशेष वरदान र कृपा मिल्ने विश्वास लिइन्छ ।

धनेश्वर महादेव
काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका–२ मा रहेको धनेश्वर महादेव मन्दिर धनको चाहना हुनेहरूको आराध्यस्थलका रूपमा चिनिन्छ । हालको बनेपा पनौती क्षेत्रमा बग्ने पुण्यमाता नदी किनारका किसानहरूको धान जहिल्यै पाक्ने बेलामा बाढीले जलमग्न बनाएर सखाप बनाउँदो रहेछ । किसानहरू वर्षभर भोकमरी लाग्ने र घरमा भएको धनसम्पत्तिसमेत बाढीले सखाप हुने भएपछि किसानहरू बर्खायाम लागेपछि चिन्ताले निदाउन सक्दा रहेनछन् ।

त्यस्तै, पीडा व्यहोरिरहेका समयमा त्यहाँका एक किसान अगुवालाई सपनामा हातमा त्रिशूल लिएका जटाधारी महादेवले सपनामा तिमीहरूको बस्तीको शीरमा म बसेको छु । मलाई तिमीहरूको उब्जनीको अन्न दान देऊ त्यसपछि वर्षैभर धन (सम्पत्ति) धान्य (धान आदि अनाज)ले सम्पन्न हुनेछौं भनेछन् ।

त्यसपछि निद्राबाट ब्युँझनासाथ तिनी अगुवा किसानले सबैको घरघरबाट घरमा भएको अन्न अनाज सहिज जम्मा भएर बस्तीको माथि जंगलबीचमा शिवलिंग आकृतिको पहाडलाई नै आधार मानेर धानसहित अनाज चढाउने देवताका रूपमा महादेवको पूजा गर्न थाले । त्यससँगै धनेश्वर महादेवका रूपमा पूजा हुन थालेको जनश्रुती छ । यहाँ जंगम समुदायका पुजारीहरू छन् । यहाँ पूजा गर्न आउनेले पूर्णपात्र अनाज चढाउँदा भोकमरी र अनिकालबाट मुक्त हुने र धन दौलत प्राप्त हुने विश्वास लिइन्छ । यहाँ प्यागोडा शैलीको मन्दिर निर्माण गरिएको छ ।

धनेश्वर मन्दिर जान अरनिको राजमार्गको बनेपाबाट १ डेढ किलोमिटर पनौतितर्फ जानुपर्छ ।

गुप्तेश्वर महादेव
ललितपुर जिल्लाको कोञ्ज्योसोम गाउँपालिकामा पर्ने गुप्तेश्वर महादेव मन्दिर पुग्न जिल्ला सदरमुकामबाट पाटनबाट डेढ घण्टाको सवारी यात्रा गर्नुपर्छ । कोञ्ज्योसोम गाउँपालिकाको वडा नं ५ भारदेउको पौवाचौरबाट करिब डेढ घण्टाको उकालोमा गुप्तेश्वर मन्दिर तथा गुप्तेश्वर गुफामा पुग्न सकिन्छ । गुप्तेश्वर महादेवस्थान समुद्री सतहदेखि करिब २ हजार ८ सय मिटर उचाइमा रहेको छ । महाभारत शृंखलामा अवस्थित यो देवस्थान घना जंगलको बीचमा चट्टानी पहरोले बनेको ओडारमा छ । पौवाचौरबाट करिब डेढ घण्टाको पैदल सिँढी उकालो यात्राबाट यो देवस्थल पुग्न सकिन्छ । यही विविध आकर्षण र धार्मिक महत्वका कारण टाढाटाढा देखिका दर्शनार्थी यहाँ आउने गरेका छन् ।

यस देवस्थलको विशेष धार्मिक महत्व छ । हिन्दू धर्मअन्तर्गत परापूर्व कालमा भष्मेश्वर राक्षसलाई महादेव स्वयंले यस्तो वर दिएका थिए कि भष्मेश्वरले जसलाई शिरमा हात राख्छ, उसको तत्क्षण भष्म हुन्छ । यो वर पाएको भष्मेश्वरले तत्कालैबाट महादेवलाई लखेट्न थाल्यो । लखेट्ने क्रममा भाग्दाभाग्दै संसार भाग्नेक्रममा भारदेउको ओडारमा आई बास बसेको र त्यहाँ पनि बास बसेका ठाउँमा भष्मेश्वरले थाहा पाएर लखेट्न आएपछि देवगणले भाग देऊ भाग देऊ भनेर महादेवलाई भगाउन सफल भएकाले भागदेऊबाट अपभ्रंश भई भारदेऊ रहन गएको भनाइ छ । त्यसैले, यस ठाउँमा महादेव गुप्त भएर लुकेको भएकाले ईश्वर गुप्त भएको ठाउँलाई गुप्तेश्वर भनिएको विश्वास छ ।

५० मिटरजति लामो रहेको गुप्तेश्वर गुफाभित्र धर्मढोका छ जहाँ पापीहरू भित्र जान सक्दैनन् भन्ने विश्वास गरिन्छ । केही मानिस अपत्यारिलो ढंगले त्यस धर्मढुंगामा अड्किएको पनि स्थानीयहरू बताउँछन् । गुफाका भित्री भागमा गाईका थुन आकृतिका चुनढुंगाका आकृतिहरू देख्न पाइन्छ । जहाँबाट सेतो पानी तप्पतप्प चुहिएर शिवलिंगमा पर्छ । अहिले गुप्तेश्वर मन्दिरसम्म पुग्न सिँढी बाटो निर्माण गरिएको छ । सो स्थानलाई धार्मिक तथा सांस्कृतिक एवं प्राकृतिक एवं पौराणिक स्थानका रूपमा लिइन्छ ।

कागेश्वरी महादेव
काठमाडौं उपत्यकाको पूर्वी भागमा रहेको कागेश्वरी मनहरा नगरपालिका वडा नं १ मा रहेको कागेश्वरी धाम भगवान् शिवको आराधना गर्ने भक्तजनहरूका लागि एक उपयुक्त गन्तव्यका रूपमा विकास भइरहेको छ । सुन्दरीजलको मेलम्ची गेटबाट पदयात्रा सुरु गरेर शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्ज, शहीदपार्क, कागेश्वरी हुँदै आलापोटसम्म पदयात्रा १५ किलोमिटरमा पुग्न सकिने कागेश्वरी धाममा शिव मन्दिर कागको सुनौलो प्रतिमा र झरनाका कारणले ज्यादा चर्चित हुन थालेको छ । यद्यपि, साउनमा यहाँ पदयात्रासँगै धार्मिक महत्वले आउने पर्यटकहरू पनि प्रशस्त छन् ।

यहाँको शिव मन्दिरसँगै कागको प्रसंग निकै रोमाञ्चक छ । किंवदन्तीअनुसार उहिल्यै खेतीपाती र पशुपालनको युगमा गागलगाउँको माथिल्लो भेगमा मानिस गोठ बनाएर बस्थे । त्यहाँ गोठालाहरू गाईको दूध उमालेर राख्थे । तर, सधैं दूधको तर हराउँथ्यो । एक दिन गोठालाले चियो गर्दा दूधको तरलाई कागले खुट्टाको पञ्जाले चोरेर लाँदै गरेको देखेछन् । त्यस कागलाई गोठालाले पच्छ्याएछन् । पच्छ्याउँदै जाँदा अहिले कागेश्वरी मन्दिर भएको ठाउँको शिवलिंगमा कागले दूधको तर चढाएको देखियो । त्यसपछि स्थानीयहरूले दूधको तर चढाएको महादेवको मन्दिरलाई कागेश्वर महादेव भन्न थाले । महादेवको पूजा शिवलिंग शिलामा गर्थे भने जीवित देवताका रूपमा कागलाई यसै पूजा गर्थे । तर, अहिले कागको निकै मनमोहक प्रतिमा बनाइएको छ । कागेश्वरीका सन्दर्भमा अरू पनि किंवदन्ती छन् । स्कन्द पुराणको केदार खण्डमा महादेवले मृत सतिदेवी बोकेर हिँड्दा उनको मुटु यही ठाउँमा पतन भएको थियो । सतिदेवीको अंग पतन भएकाले कागेश्वर नभनी ‘कागेश्वरी’ भन्न थालिएको पाइन्छ ।

डोलेश्वर महादेव
काठमाडौं उपत्यकाको आग्नेय कोण अर्थात् भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकामा रहेको डोलेश्वर महादेवलाई केदारनाथको शिर भनेर चिनिन्छ । नेपाल भाषा (नेवारी)मा ‘सिपारे माद्यो’ भनिन्छ । यस डोलेश्वर महादेवलाई हिमवत्खण्डमा विमलेश्वर भनी उल्लेख गरेको पाइन्छ । यस शिवलिंगको उत्पत्ति द्वापरयुगको अन्त्य र कलियुगको प्रारम्भकालमा भएको हुँदा र महाभारतका पाण्डवहरूले समेत तीर्थाटन गरेको यस शिवलिंगको नाम श्रीकेदारनाथजी नामसँग मिल्ने नाम हुनसक्थ्यो भनेर अनुमान गर्न सकिन्छ । कालान्तरमा यस शिवालयको नाम ‘डोलेश्वर’ रहेको प्रमाण यसै मन्दिर परिसरमा रहेको १६२९ सालको राजा भूपतिन्द्र मल्लले स्थापना गरेको शिलालेखबाट त्यस समयभन्दा अगाडिदेखि नै ‘डोलेश्वर’को नामले चिनिँदै आएको प्रमाणित हुन्छ ।

राजा भूपतिन्द्र मल्लको १६२९ सालको शिलालेखमा यस डोलेश्वर मन्दिरको जीर्णोद्धार गरी सुनको कलश चढाएको उल्लेख भएबाट सो जीर्णोद्धार भएको मन्दिर त्यसभन्दा तीन–चार शताब्दीअगाडि निर्माण भएको हो भन्न सकिन्छ । यसको इतिहासलाई हेर्दा करिब ७–८ सय वर्ष अगाडिसम्म मात्र अनुमान गर्न सकिने भएकाले यसभन्दा अगाडिका समयको अनुमान गर्न नसकिने भएकाले किंवदन्तीलाई आधार मानेर यस मन्दिर’bout अनेक चर्चा–परिचर्चा चलेको देखिन्छ । डोलेश्वर महादेव विशाल कालो पत्थरको शिवलिंग साँढेको टाउको (शिर)झैं माथि उठेर दायाँतर्फ कोल्टो परेर ढल्केको छ र चाँदीको नागले बेष्ठित भएर रहेको अति सुन्दर देखिन्छ । सुन्दर शिवलिंगको बायाँतर्फ त्रिशूल, डमरू र पित्तलको बञ्चरो गाडिएको छ । मन्दिरको पश्चिम मूलद्वारको दुवैतिर ठूला कलश राखिएका छन् ।

भीमेश्वर महादेव
काठमाडौं उपत्यकाको दक्षिणपूर्वी कोणमा रहेको महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाको सीमाक्षेत्रको जंगलमा रहेको भीमेश्वर महादेव महाभारत शृंखलामा अवस्थित छ । विशेष किसिमका चट्टानहरूबाट प्राकृतिक रूपमा निर्मित आकृतिहरू यहाँका विशेषता हुन् । लगनखेलबाट लामाटार ढुंगिन बसपार्क हुँदै पुग्न सकिने यो मन्दिर परिसरमा हाइकिङ गर्दै पनि जान सकिन्छ । यस क्षेत्रमा कृष्णले उठाएको गोबद्र्धन पर्वत, हात्ती, भीमको रथ, द्रौपदीको डोलीदेखि भीमका शस्त्रास्त्रहरू थुपारिएको स्थान भनेर मानिएका विभिन्न रोचक प्राकृतिक आकृतिहरू छन् ।

भीमेश्वर महादेवको उत्तरतर्फ फर्किएको अजंगको प्राकृतिक आकृतिलाई भीमेश्वर महादेव मानेर मन्दिर निर्माण गरिएको छ । नागको आकृतिको शिलादेखि भीमको रथस्वरूपसम्मका आकृतिहरू मनमोहन छन् । यो क्षेत्र लाँकुरीभञ्ज्याङ र कोटडाँडाको बीचमा रहेकाले दुवैतिर स्थापित प्राकृतिक पर्यटकीय गन्तव्यहरू रहेकाले धार्मिक तथा पौराणिक महत्वलाई जोड्नसके राम्रो पर्यटकीय आकर्षणको केन्द्र बन्नसक्छ ।

काठमाडौं उपत्यकाको एकदमै नजिकमा रहेको मनोरम स्थल भएको र पर्यटकीय विविधता उपलब्ध हुन सकिने भएकाले विकासको राम्रो सम्भावना देखिन्छ । पश्चिमतर्फ गोदावरी नगरपालिका–२ मा रहेको कोटडाँडा भ्यू प्वाइन्ट, जनजाति समुदायको टिपिकल बस्ती र होमस्टेसहितको पर्यटनमैत्री बस्ती, धम्मागर विपश्यना ध्यान केन्द्र र ऐतिहासिक कोतघर रहेको छ भने उत्तरपूर्वतिर मनमोहन भ्यू टावर, लाँकुरीभञ्ज्याङ भ्यू प्वाइन्ट तथा पिकनिक स्पट र गणेशमान पार्क रहेका छन् । यी पर्यटकीय विविधतालाई एकीकृत गर्दै पर्यटन प्याकेज निर्माण गर्न यो भीमेश्वर धाम निकै उपयोगी बन्नसक्छ । भीमेश्वर धाममा साउन, माघ, भीमा एकादशी, अक्षय तृतीया, महाशिवरात्रिमा मेला तथा विशेष पूजा हुने गरेको छ ।

सन्तानेश्वर महादेव
ललितपुर जिल्लाको जिल्ला सदरमुकाम पाटन अर्थात् लगनखेलबाट करिब ७ किमि दक्षिण पूर्वमा पर्ने गोदावरी नगरपालिकाको वडा नं १३ मा रहेका लहरै तीनवटा सुन्दर प्राकृतिक थुम्काहरूमध्ये पूर्वतर्पmको थुम्का कैलाश पर्वतमा सन्तानेश्वर महादेवको मन्दिर रहेको छ ।

समुन्द्री सतहबाट १ हजार ५ सय ७ मिटरको उचाइमा रमणीय प्राकृतिक वातावरणसहितको जंगलले सजिएको यस कैलाश पर्वतको शिखरमा पुग्न फेदीबाट ३ सय ६६ वटा सिँढी हुँदै करिब १ सय मिटरजतिको उकालो चढ्नुपर्छ । मन्दिरको फेदीसम्म पुग्नका लागि ललितपुरको लगनखेलबाट धापाखेल हुँदै झरुवाराशिसम्म जाने मिनीबस सेवा सञ्चालन रहँदै आएको छ भने निजी सवारीसाधनको प्रयोग गरी ललितपुरको चापागाउँ, ठैब, बाडेगाउँ र गोदावरी भएर पनि यहाँ पुग्न सकिन्छ ।

यस कैलाश पर्वत परिसरमा शिवपार्वतीका अतिरिक्त दुःख कष्ट नाश गर्ने माहांकाल भैरव, बासुकी नाग, हनुमान, ६४ शिवलिंगलगायतका विभिन्न देवी देवताहरूसमेत रहेका छन् । श्री सन्तानेश्वर महादेव विराजमान भएको यस कैलाश पर्वतको चारै दिशामा विभिन्न देवगण विराजमान छन् । पौराणिक कालमा सौर्यमण्डलका बाह्रैवटा राशि यस स्थानमा झरी भगवान् शिवजीको तपस्या आराधना गरेको हुनाले पनि यस स्थानको नाम झरुवाराशि रहन गएको हो भन्ने जनश्रुती पाइन्छ ।

लड्केश्वर
काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिक बजार खोपासीबाट रोशी खोला तरेर उकालो चढेर बल्थली गाउँ हुँदै दक्षिणतर्फको ओरालो झरेर रोशी खोलाको किनारमा पुगेपछि लड्केश्वर महादेव मन्दिर पुगिन्छ । संसारको सबैभन्दा अग्लो त्रिशूलको स्थापना गरेर पछिल्लो समयमा लड्केश्वर महादेवको चर्चा सामाजिक सञ्जाल, पत्रपत्रिका तथा आम सञ्चारमाध्यममा व्यापक बढेको छ ।

खोलाकिनारको गुफामा निरन्तर जलवर्षा भइरहेको ठाउँमा लड्केश्वर महादेवको मन्दिर छ । महादेवलाई प्राकृतिक रूपमै जलहरीको व्यवस्था भएको यस मन्दिरको विषयमा विभिन्न धार्मिक किंवदन्तीहरू छन् । भागवत पुराण, महाभारत र विष्णुपुराणका अनुसार देवता र दानव मिलेर नै समुन्द्र मन्थन गर्दैगर्दा कालकुट विष (हलाहल) निस्कियो । वासुकी नागको नेती बनाएर मन्थन गरिएकामा एकातर्फ देवता र अर्कातर्फ दानवहरू थिए ।

ऋषि दुर्वासाको श्रापबाट श्रीहीन भएका देवराज इन्द्र र उनीबाट शासित देवताहरू स्वतः कमजोर भएर सम्पूर्ण शासन दैत्यहरूमा पुगेपछि देवताहरूको श्रीवृद्धिका लागि अमृत निकाल्न आवश्यक भयो र त्यो अमृत समुद्र मन्थनबाट मात्रै निस्कन सक्थ्यो । त्यसका लागि दानवहरूको शक्ति र जुक्तिबेगर सम्भव छैन भनेर विष्णुका जुक्तिले देव दानव सन्धि भयो र सन्धिअनुसार मन्दराचल पर्वतलाई मदानी बनाएर वासुकी नागलाई नेती बनाएर मन्थन सुरु भयो । भगवान्बाट दिइएको अथाह बलका कारण मन्थनबाट निस्किएको कालकुट विषले सारा देव दानवको समाप्ती हुने भएपछि सबैको आराधनामा त्यस विषलाई महादेवले पिइदिए । महादेव नै मर्ने खतरा भएपछि पार्वतीले घाँटीमै विष रोकिदिएपछि भगवान् निला भए र त्यस विषको जलनबाट बच्न गुफामा बसेर शिरमा गंगाजीको निरन्तर जलधारा प्रवाह गरियो । महादेवले आराम गरेको ठाउँ यही भएको विश्वाससहित यो विशेष देवभूमि रहेको शास्त्रका व्याख्याताहरूले उल्लेख गर्ने गरेका छन् ।

मन्दिरनजिकै धर्मद्वार गुफा पनि छ । यहाँ विशेषतः ठूली एकादशीमा मेला लाग्छ । अहिले यहाँ १ सय ८ फिटको त्रिशूल बनेको छ ।

कैलाशनाथ
भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाको सिमाना साँगामा कैलाशनाथ महादेवको मन्दिर बनाइएको छ । यहाँ शिवको १ सय ४३ फिट अग्लो मूर्ति पनि छ । यसलाई विश्वकै अग्लो शिव मूर्तिका रूपमा प्रचार गरिएको छ । यो मन्दिर परिसर प्रायः सधैं उस्तै पर्यटक आउने एउटा प्रख्यात पर्यटकीय स्थलका रूपमा चिनिएको छ । २०६१ सालदेखि ६ वर्ष लगाएर तामा स्टिल, जिंक र सिमेन्टको प्रयोगबाट बनाइएको यो मुख्य मूर्तिका ’round विभिन्न देवदेवीका मूर्ति छन् । यहाँ हिन्दूका चारै धामका प्रतीक पनि निर्माण गरिएका छन् । कैलाशनाथको देब्रेपट्टि कुमार, पार्वती र गणेशका मूर्ति छन् भने दाहिनेपट्टि नन्दीको प्रतीक रहेको छ । उद्योपति कमल जैनले करिब १२ आना क्षेत्रमा मुख्य मन्दिर निर्माण गरेका हुन् भने करिब ७५ रोपनी क्षेत्रफलमा यो मन्दिर परिसर फैलिएको छ ।

आशापुरेश्वर
काठमाडौं उपत्यकाको आग्नेय कोणमा डोलेश्वरसँगसँगै सूर्यविनायक नगरपालिका–८ भक्तपुरमा रहेको आशापुरेश्वर महादेवको दर्शन गर्दा मनले चिताएको पूरा हुने जनविश्वास रहेको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सिमानामा त्रिवेणी खोला किनारमा रहेका आशापुरेश्वर महादेव मन्दिरनजिकै १ सय ८ शिवलिंग र जलधारा पनि बनाइएको छ ।

धार्मिक तथा ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण आशापुरेश्वर महादेवस्थानमा प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन ठूलो मेला लाग्छ । सो दिन आशापुरेश्वरको पूजाअर्चना गर्नाले आफ्नो इच्छा पूर्ण हुने धार्मिक विश्वासले भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र काठमाडौंलगायतका जिल्लाबाट दर्शनार्थी आउँछन् । आशापुरेश्वर महादेव मन्दिरमा साउन र माघमा महादेवको प्रिय महिनाका हिसाबले दर्शनका लागि आउने भक्तजनहरू हुन्छन् । साउनमा रुद्रपाठ गर्ने र माघमा स्वस्थानी वाचन गर्दा आशा गरेको कुरा पुग्ने जनविश्वास पाइन्छ ।

साँगा भञ्ज्याङबाट पश्चिमतर्फ ५ किमि दूरीमा आशापुरेश्वर पुग्न सकिन्छ । साँगासम्म गाडीमा गएर साँगा भञ्ज्याङबाट डेढ घन्टा हिँडेर पनि पुग्न सकिन्छ । सिपाडोलको डोलेश्वर महादेव मन्दिरबाट ९ किलोमिटर अढाई घण्टा पदयात्राबाट पनि आशापुरेश्वर पुग्न सकिन्छ ।

कुम्भेश्वर
कुम्भेश्वर मन्दिर ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं १२ मा रहेको छ । पाटन दरबार स्क्वायरबाट केही मिनेट उत्तरतर्फको यात्रा गरेपछि जमिनको होचो सतहमा कुम्भेश्वर महादेवको मन्दिर छ । कुम्भेश्वरमा विशेषगरी जनैपूर्णिमाका दिन मेला लाग्छ । यहाँ गोसाइँकुण्डको जल आइपुग्ने विश्वास लिइन्छ । मन्दिरको दक्षिणतर्फ रहेको कुण्डमा पहिलेपहिले तातोपानी भेट्न सकिन्थ्यो ।

ऋषि अगस्त्यले कुम्भ अर्थात् घडा (कलश)मा आह्वान गरेर महादेवको उत्पत्ति गराएकाले कुम्भेश्वर महादेव भनिएको बताइन्छ । यस मन्दिरमा कुम्भेश्वर र सर्वेश्वरका दुई मूर्ति छन् । सर्वेश्वर महादेवलाई मृत्युञ्जय महादेव पनि भनिने गरिन्छ । सनातन हिन्दू र बौद्ध धर्म मान्ने भक्तजनले कुम्भेश्वरलाई बज्रपानी लोकेश्वर भनेर पुज्ने गर्छन् । स्कन्द पुराणमा वर्णन भएका ६४ शिवलिंगमध्ये सर्वेश्वर महादेव पनि एक हो । मार्कण्डेय ऋषिले सर्वेश्वर महादेवको आराधना गरी आफ्नो छोटो आयुलाई चिरञ्जीवी बनाएको कुरा पुराण आदिमा उल्लेख छ । सर्वेश्वर महादेवको आराधना गरे रोगव्याधी निको भई दीर्घायु प्राप्त हुने विश्वास हिन्दू तथा बौद्ध धर्मावलम्बीमा छ ।

कुम्भेश्वरमा साउनको सोमबार, महाशिवरात्रि, बालाचतुर्दशी, जनैपूर्णिमा आदि पर्वमा भक्तजनको ठूलो उपस्थिति हुने गरेको छ । मन्दिर परिसरमा रहेका प्रमुख देवताहरूमा कुम्भेश्वर महादेव, बंगलामुखी, उन्मन्त भैरव, गौरीकुण्ड, हारती माँ, मनकामना माई, केदारनाथ, बद्रीनाथ पर्छन् ।

यसरी काठमाडौं उपत्यकाको नजिक रहेका शिव मन्दिरहरू आफैंमा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक र पर्यावरणीय महत्वलाई आजको मानव सभ्यताको हितमा परिचालन गर्न आवश्यक छ । मन्दिर दर्शन वा पूजालाई स्वास्थ्य र सन्तुष्टिको साधनका रूपमा मात्रै प्रयोग गर्नसके पनि धेरै सफलता मिल्नेवाला छ ।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

epaper

ताजा समाचार

श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित