महोत्तरी । भारतको बिहारका जिल्लाहरुमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढदै जाँदा सीमा जोडिएको महोत्तरीमा पनि संक्रमणको जोखिम बढदै गएपछि स्थानीय प्रशासनले नेपाल भारतसीमा क्षेत्रमा बाँसको घेराबार लगाउन शुरु गरेको छ ।
भारतका विहार राज्यको सितामढी र मधुबन्नी जिल्लासंग जोडिएका महोतरीसंग ३८ दशमलव ६ किलोमीटर सीमा क्षेत्रको ३ नगरपालिका २ गाउँपालिको १५ गाउमा बाँसको घेरावार लगाउन शुरु गरेको छ ।
दशगजा क्षेत्रमै घन बस्ती हुनु, सीमावर्ती भारतीय जिल्लामा संक्रमण बढ्दै जानु तथा सीमा क्षेत्रमा नेपाल भित्रिन आउनेको संख्या बढनुले जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम बढाएकाले बाँसको घेराबार लगाउन कार्य स्थानीय तहको सहयोगमा शुरु गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बताए ।
भारतबाट कोरोना संक्रमित भित्रन नदिन बाँसको तीन तहको घेरा हालिएको हो । सशस्त्र प्रहरीको सहयोगमा गरिबनाथ मन्दिरदेखि जलेश्वर नगरपालिका छुने पर्सा गाउँसम्मको दुई किमि सीमाक्षेत्रमा बाँसको घेरा हालिएको छ । अन्य ठाउमा लगाउने कार्य जारी रहेको प्रजिअ खत्रीले बताए । सो क्षेत्रमा २ हजार ५ सयवटा बाँस गाडेको छ ।
महोत्तरीको विपद् व्यवस्थापन समितिले आवश्यक परे सीमामा बाँसको घेराबार लगाउन सकिने निर्णय गरेपछि सशस्त्र प्रहरीले स्थानीय तहलाई यसका लागि पत्राचार गरिरहेको छ । सीमा सिल गरेपछि सशस्त्रले जिल्लाका ४० ठाउँबाट निगरानी गरिरहेको छ । सीमामा बाँसको घेराबार लगाउन महोत्तरीका अन्य पालिकालाई पनि पत्राचार गरिएको छ ।
कोरोना भाइरसको संक्रमणबाट सुरक्षित राख्न सीमामा बाँसको घेराबार लगाउने कामले धेरै हदसम्म घुसपैठ रोकिने सशस्त्र प्रहरीका डिआईज्ी राजु आर्यालले बताए ।
सीमा क्षेत्रमा रहेको बाक्लो बसोबासका कारण सुरक्षाकर्मीको सक्रियताका बावजुंत पनि आउजाउ पूर्ण नियन्त्रणमा आउन सकेको छैन । दशगजा क्षेत्रभित्रै झुरुप्प घरहरु छन । बाक्लो बसोबास रहेका यी क्षेत्रका सीमा वारपार गर्नेलाई प्रहरीले रोक्न सक्ने अवस्था नरहेको प्रहरी बताउँछ । सुरक्षाकर्मीको आँखा छलेर सीमावारि आउने घटना पनि अन्य जिल्लको तुलनामा महोतरी मा धेरै देखिएकाले बाँसको घेरावार लगाउनु परेको स्थानीय प्रशासनले जनाएको छ ।
सीमा निकट दुवैतिर बस्नेलाई अत्यावश्यक वस्तु एवं सेवाका लागि वारिपारिकै भर हुन्छ । तर यता भारतका ती राज्यहरुसँग वारिका नेपाली भूभागका नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र मानवीय सम्बन्ध भएकाले घेरावार लगाउनुको कुनै औचित्य नरहेको समाजसेवी राजेश लाल कर्णले बताए ।
भारतको विहार राज्यका सीतामढी र मधुवनी सीमावर्ती क्षेत्रमा संक्रमणको दर बढदै जाँदा नेपाल छिर्ने क्रम तीव्र बन्दा महोतरीमा संक्रमणको जोखिम थपिएको हो । प्रदेश–२ प्रहरी स्रोतका अनुसार पछिल्लो तीन दिनमा मात्रै लुकिछिपी नेपाल प्रवेश गरेका तीन सय नेपालीलाई नियन्त्रणमा लिएर भारततर्फै पठाइएको छ । महोत्तरी, धनुषा र सप्तरीको सीमा नाकाबाट उनीहरुलाई फर्काइएको हो ।






