वन संरक्षणबाट वन व्यवस्थापनको यात्रातर्फ !

कपिलवस्तु । पर्यावरणीय संकट चुलिँदै गएको, काठ तथा वन पैदावारको माग दिनानुदिन बढ्दो, र रोजगारीको अवसर सीमित हुँदै गएको यो समयसन्धिमा देशका वन विज्ञहरू, नीतिनिर्माता र जनप्रतिनिधिहरूले अब सातै प्रदेशमा वैज्ञानिक वन व्यवस्थापन प्रणालीको विस्तार अपरिहार्य रहेको बताएका छन् ।

वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघको चौथो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताले परम्परागत वन संरक्षण शैली अब पर्याप्त छैन, वैज्ञानिक योजना, सहभागिता र उत्तरदायित्वमा आधारित नयाँ प्रणालीले मात्र दीर्घकालीन विकास सम्भव रहेको बताएका छन ।

वन विज्ञ तथा प्राध्यापक डा. राजेश राईले वातावरणीय सन्तुलन, सन्तानका लागि वन स्रोतको निरन्तरता र आर्थिक समृद्धिको एउटै उपाय वैज्ञानिक वन व्यवस्थापन भएको बताए। “वन बचाउने होइन, व्यवस्थित रुपमा उपयोग गर्ने नीतिमा जानुपर्छ। यो प्रणालीले एकातिर कटानको वैज्ञानिक आधार बनाउँछ भने अर्कोतिर नयाँ बिरुवा रोपेर भविष्य पनि सुरक्षित गर्छ,” उनले भने।

प्राध्यापक सुमन भट्टराईले “वन पैदावारको न्यायसंगत वितरण, उपभोक्ताको सक्रिय सहभागिता र रोजगारी सिर्जना — यी सबै वैज्ञानिक वन व्यवस्थापनले सुनिश्चित गर्छ,” उनले बताए।

कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कल्वारले लुम्बिनीमा हाल कार्यान्वयन भइरहेको प्रणालीले राम्रो परिणाम दिएको भन्दै यसलाई अब संरक्षित क्षेत्रबाहेक अन्य वन क्षेत्रहरूमा पनि विस्तार गर्नुपर्ने धारणा राखे। “संघीय सरकार र बाँकी प्रदेशहरूसँग समन्वय गर्दै हामी यो प्रणालीलाई राष्ट्रिय नीति बनाउने दिशामा लागिरहेका छौं,” मन्त्री कल्वारले प्रतिबद्धता व्यक्त गरे।

प्रदेशसभा सदस्य विष्णु पन्थीले वन क्षेत्रबाट प्राप्त हुने राजस्वलाई लुम्बिनी प्रदेशको समृद्धिको मेरुदण्डका रूपमा व्याख्या गरे। “यो आम्दानी स्रोत दीगो बनाउने हो भने व्यवस्थापन शैली पनि दीगो र वैज्ञानिक हुनुपर्छ,” उनले भने।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्यालले बाणगंगामा समुदायको सहभागितामा सुरु गरेको वन व्यवस्थापन कार्यक्रमले रोजगारी सिर्जना मात्र गरेन, स्थानीय स्वामित्व र संवेदना पनि बढाएको बताउदै, अब प्रदेश र संघले पनि त्यही मोडेलको विस्तार गर्नुपर्नेमा जोड दिए।

महासंघकी अध्यक्ष रेणु सेनले नीति निर्माताहरूसँग सहकार्य गर्दै वैज्ञानिक वन व्यवस्थापनको प्रभावकारी कार्यान्वयनमा महासंघले नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन्।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

epaper

ताजा समाचार

एकैदिन विपद्का ४२ घटना