कपिलवस्तु । आफ्नै पुर्खाले जोतेको जमिन, आफ्नै पसिना बगाएको माटो तर कुनै प्रमाण नहुनु कस्तो पीडा होला? विजयनगर गाउँपालिका–१, जबाबैराठका थारु समुदायले दशकौँसम्म यस्तै पीडा भोग्दै आएका थिए। तर अब त्यो पीडाको अन्त्य भएको छ।
नापी सकिएको ठीक एक महिनापछि, पहिलोपटक उनीहरूले आफ्नो नाममा सरकारी लालपुर्जा हात पार्न सफल भएका छन्। कुल २१ घरधुरी भूमिहीन सुकुम्बासीले कानुनी जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका हुन्।
लालपुर्जा हस्तान्तरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी स्वयं गाउँमा पुगेर सुकुम्बासीलाई लालपुर्जा हस्तान्तरण गरे। मन्त्री अधिकारीले भूमिहीनको समस्या समाधान गर्न सरकारले तीव्र रूपमा काम गरिरहेको उल्लेख गर्दै यस आयोगलाई अन्तिम आयोग बनाउने गरी करिब १५ लाख घरधुरीलाई लालपुर्जा वितरण गर्ने तयारी भइरहेको जानकारी दिए।
उनले लालपुर्जा वितरण प्रक्रियामा भ्रामक सूचना फैलाइएको भन्दै भू माफियालाई लाभ पुग्ने, पैसाको चलखेल भएको, वन मासिएको जस्ता हल्ला आधारहीन भएको स्पष्ट पारे। “हाम्रो लक्ष्य जनतालाई न्याय दिने हो, कानुनी अधिकार दिलाउने हो, माफियालाई होइन,” मन्त्री अधिकारीले भने।”
बाणगंगा नगरपालिका अन्तर्गत मोतिपुर डाँडाका २८ भूमिहीन घरधुरीले पनि एक महिनाभित्रै लालपुर्जा प्राप्त गरेका छन्। वडा अध्यक्ष विष्णु गिरीका अनुसार मोतिपुर डाँडामा असार १३ गतेबाट सुरु भएको नापी प्रक्रिया एक सातामै पूरा भएको थियो। आवश्यक कागजी प्रक्रिया र राजस्व दाखिला पश्चात लालपुर्जा वितरण गरिएको हो।
विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले नापी सकिएपछि यथासिघ्र छिटो लालपुर्जा वितरण गर्न स्थानीय तहबाट आवश्यक पहल गरिएको जानकारी दिए ।
नापी कार्यालय, कपिलवस्तुका प्रमुख जनक भण्डारीले आइतबार मायादेवी गाउँपालिकाका थप २ हजार घरधुरीलाई पनि लालपुर्जा वितरण गर्ने तयारी भइरहेको जानकारी दिए। वितरण गरिएका लालपुर्जाहरू दुई महिनाभित्र मालपोत कार्यालयमा स्रेस्ता कायम हुनेछन।






