धनगढी । शुक्रबार मध्य रातदेखि अशान्त कैलाली कारागार प्रहरी प्रशासनको नियन्त्रणमा आएको छ । आइतबार मानव अधिकारवादीहरूको रोहवरमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले कैदीबन्दी रहेको थुनुवा कक्ष नियन्त्रणमा लिएको हो ।
साम्य भएपछि बल्ल ताते मुख्यमन्त्री
कैदी बन्दीले नियन्त्रणमा लिएको ४० घण्टापछि बन्दी गृह प्रहरी प्रशासनको नियन्त्रणमा आएको हो ।
घटनाको ४० घण्टा बढी कारागारको थुनुवा कक्ष कैदीबन्दीको नियन्त्रणमा रहेको थियो । कैदीबन्दीले भित्रबाट ताला लगाएर थुनुवा कक्षको ढोकामा ग्यास सिलिन्डर राखेर कसैलाई भित्र पस्न दिएका थिएनन् ।
आइतबार साझ नै कारागारमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र मानवअधिकार आयोगको टोलीले कैदीबन्दीको गणना गरेको छ । गणनाका क्रममा सबै कैदीबन्दी भेटिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
शुक्रबारको कुटपिटपछि प्रहरी र मानवअधिकारको टोली भित्र पसेर अवस्था निरीक्षण गरेको हो । हाल जेलको अवस्था सामान्य रहेको राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चि प्रदेश प्रमुख प्रकाश भट्टले बताए ।
कारागारमा ७ सय कैदीबन्दी थिए । त्यसमध्ये गणनाका क्रममा कारागारभित्र ब्लक ‘ए’मा ३ सय ९६, ‘बी’मा १ सय ९८ र महिलागृहमा ५६ गरी कुल ६ सय ५० कैदीबन्दी एकिन गरिएको छ ।
आपसी झडपमा शनिबार एक जनाको मृत्यु भएको थियो भने ४७ जना घाइते छन् । घाइतेमध्ये एक जनालाई शनिबार नेपाली सेनाको स्काई ट्रकमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको छ भने बाँकी धनगढीस्थित सेती प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना उपचार गृहमा उपचार भइरहेको छ ।

मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले कैलाली कारागारको सुरक्षामा गम्भीर लापर्बाही भएको औंल्याएको छ ।
मानवअधिकार आयोगको टोलीले कारागार कार्यालयको निरीक्षण गर्दै कारागार प्रशासन र फितलो सुरक्षाका कारण कारागारभित्र हिंसात्मक घटना भएको जनाएको छ । मानवअधिकार आयोग धनगढीका प्रमुख प्रकाशदत्त भट्टले घटनापछि शनिबार दिउँसो कारागारको निरीक्षण गरिएको बताए ।
निरीक्षणका क्रममा कारागार प्रशासनका प्रमुख बिदामा भएका कारण समन्वयको अभाव, आन्तरिक सुरक्षामा लापर्बाही, क्षमताभन्दा बढी कैदीबन्दी र कैदीबन्दीको स्थानान्तरण पारदर्शी हिसाबले नभएको लगायतका कारणले घटना हुन पुगेको देखिएको बताए ।
कारागारमा कैदीबन्दीबीच भएको झडपको छानबिन गर्न कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन भएको छ । घटनाको अनुसन्धान गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । छानबिन समितिलाई १० दिनको समय दिइएको छ ।

४० घन्टाको रमितापछि बल्ल ताते मुख्यमन्त्री
एक जनाको ज्यान जानेगरी भएको कैदीबन्दीबीचको झडप र निरन्तर ४० घन्टाको कब्जाबाट सुरक्षाकर्मीको नियन्त्रणमा आएपछि बल्ल सूदरपश्चिम प्रदेशका मुख्यमन्त्री सुरक्षा व्यवस्था मिलाउने भन्दै तातेका छन् ।
४० घन्टा कैदीबन्दीले कारागार नियन्त्रणमा लिएर राख्दासमेत काठमाडौंमै बसेका मुख्यमन्त्री कमलबहाुदर शाहले आइतबार साँझ सुरक्षा संयन्त्रको बैठक बोलाएका छन् ।
कानुन मन्त्रीसहित सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्मर विक, सशस्त्र प्रहरी प्रमुख प्रदीप पाल, नेपाली सेनाका पृतनापति प्रकाश देउजा कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल अनुसन्धानका प्रदेश प्रमुखसहितका अधिकारीहरूको बैठक बसेको हो । बैठकले सुरक्षा व्यवस्था थप चुस्त बनाउने र आगामी दिनमा घटना हुन नदिन सबै उपाय लगाउने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मुख्यमन्त्रीले घटना’bout चासो राखेको दाबी गरे पनि उनी स्वयं भने यस अवधिभर काठमाडौंमै थिए ।
‘मुख्यमन्त्री काठमाडौंमा भए पनि संघीय गृहमन्त्रीलाई भेटेरै घटना’bout जानकारी गराएको र सुरक्षा संयन्त्र परिचालनमा सहयोग र समन्वय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले बताए ।






