स्याङ्जा । स्याङ्जामा आर्थिक वर्ष २०८१–०८२ मा सम्बन्धविच्छेद र बालविवाह गर्नेको संख्या उच्च रहेको देखिएको छ ।
जिल्ला अदालत स्याङ्जाले सार्वजनिक गरेको वार्षिक प्रगति विवरण र गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले दिएको तथ्यांकका आधारमा सम्बन्धविच्छेदका घटना र बालविवाहको तथ्यांक उच्च देखिएको हो । उमेर नै नपुगी विवाह गर्ने संख्या उच्च हुनु र सम्बन्धविच्छेदका घटना बढ्नुले स्याङ्जालाई गम्भीर सामाजिक समस्याका रूपमा हेरिएको छ । बालविवाह हुनु र सम्बन्धविच्छेदका घटनाहरु एकअर्कासँग जोडिएको हुनसक्ने अनुमान गरिएको छ ।
जिल्ला अदालतले सार्वजनिक गरेको तथ्यांकअनुसार अदालतमा दर्ता भएका अधिकांश मुद्दामध्ये सबैभन्दा धेरै सम्बन्धविच्छेदका रहेका छन् ।
प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले दिएको तथ्यांकअनुसार आव २०८१–०८२ मा जिल्लाका स्वास्थ्य संस्थामा २ हजार ५ सय ५९ महिलाले गर्भ परीक्षण गरेकामा २ सय १० जना युवती अर्थात् ८ दशमलव २ प्रतिशत महिलाहरू २० वर्षमुनि रहेको तथ्यांकले देखाएको छ । यस तथ्यांकले परिपक्व अथवा कानुनले तोकेको २० वर्षभन्दा माथि नपुग्दै विवाह गर्ने प्रचलनले पनि सम्बन्धविच्छेद हुने गरेको अनुमान सामाजिक अगुवाहरूले लगाएका छन् ।
आव २०८१–०८२ मा जिल्ला अदालत स्याङ्जामा दर्ता भएका १ हजार ७ मुद्दामध्ये ५ सय २१ मुद्दा सम्बन्धविच्छेदका मात्रै रहेका छन् । अदालतमा कुल दर्ता नयाँ मुद्दामध्ये ६० प्रतिशत सम्बन्धविच्छेदका रहेको तथ्यांकले देखाएको छ । पुराना (जिम्मेवारी सरेका) ८७ सहित सम्बन्धविच्छेदका कुल ६ सय ८ मुद्दामध्ये ५ सय १८ मुद्दा फछ्र्यौट भएर ९० वटा मात्रै मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जिल्ला अदालत स्याङ्जाले जनाएको छ ।
पुराना १६ र नयाँ ८५ सहित वैवाहिक सम्बन्ध अन्त्यतर्फका १ सय १ मुद्दामा ७७ फछ्र्यौट हुँदा २४ मुद्दा बाँकी रहन गएको अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले जानकारी दिए ।
यता, कानुनले २० वर्ष मुनिको विवाहलाई मान्यता नदिए पनि स्याङ्जामा ‘बालविवाह’ व्यापक रहेको तथ्यांकले देखाएको छ । जिल्लामा सुरक्षित प्रसूति सेवा लिने ८ सय ८२ महिलामध्ये १२ दशमलव ३५ प्रतिशत अर्थात् १ सय ९ जना २० वर्ष नपुगेका युवती रहेका पाइएको छ । त्यस्तै, ९ सय २४ जनाले गराएको सुरक्षित गर्भपतनमा ४३ जना अर्थात् ४ दशमलव ६५ प्रतिशत पनि बालविवाहकै सूचीमा रहेको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रशासक केशव चापागाईंले बताए ।
किशोरावस्थामै भागेर विवाह गर्ने, गरिबी र अशिक्षाका कारण सानैमा विवाह गरिदिने, परम्परागत सोच र सामाजिक सञ्जालको प्रभावका कारण बालविवाह हुने गरेको हरेक तथ्यांकले देखाउँछ । जसले गर्दा विवाह लामो टिकाउ हुन नसक्दा सम्बन्धविच्छेदमा परिणत हुने घटनाक्रमले देखाएको छ ।
बालविवाह र सम्बन्धविच्छेदका घटना बढ्नुको मूल कारण अपरिपक्व विवाह भन्ने लागेको स्रेस्तेदार शर्माको भनाइ छ ।
‘स्याङ्जामा सम्बन्धविच्छेदका मुद्दा दर्ताको प्रकृति हेर्दा ठ्याक्कै संख्या भन्न सकिएन,’ स्रेस्तेदार शर्माले भने, ‘सरदर उमेर हेर्दा १८ वर्षदेखि २५ वर्षभित्रका व्यक्ति सम्बन्धविच्छेदका लागि आएको देखिन्छ ।’
यसमा सबैभन्दा बढी प्रेम विवाह हो, जो सामाजिक सञ्जालबाटै विवाहमा परिणत भएका पाएको उनले बताए ।
बालविवाहले निम्त्याउने विभिन्न समस्यामध्ये आर्थिक अभाव, मानसिक दबाब र जिम्मेवारीबोधको कमजोरीका कारण सम्बन्धविच्छेदलाई बढावा दिएको देखिएको छ । यसलाई न्यूनीकरण गर्न शिक्षाको पहुँच बढाउने, बालविवाहविरुद्ध जनचेतना फैलाउने र कानुनी प्रावधानहरूलाई प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ । यसका लागि स्थानीय सरकारहरू बढी जिम्मेवार हुनुपर्ने सामाजिक अगुवाहरू बताउँछन् ।






