भोजपुर । भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारमा रहेको धार्मिक तथा ऐतिहासिक क्षेत्र ‘कैलाश पर्वत र हरित हिल’ (पहाड)को संरक्षण थालिएको छ । यी सुन्दर क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ संरक्षण तथा विकास थालिएको हो ।
यस स्थानलाई यहाँको मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको वडाध्यक्ष कुमार थापाले बताए । कैलाश डाँडाको संरक्षणका लागि पदमार्गसँगै आवश्यक संरचना निर्माण भइरहेको उनको भनाइ छ ।
कैलाश डाँडाबाट नजिकै रहेको हरित हिलसम्म पुग्नका लागि पनि पदमार्ग बनिरहेको वडाध्यक्ष थापाले बताए । प्रदेश सरकारबाट प्राप्त ५ लाख रुपैयाँ बजेटबाट यहाँ कैलाश पर्वतसम्म पुग्ने पदमार्ग निर्माण गरिएको वडाध्यक्ष थापाले जानकारी दिए ।
‘हामीले यहाँ रहेका धार्मिक तथा पर्यटकीय क्षेत्र कैलाश डाँडा र हरित हिलको संरक्षण गरिरहेका छौं,’ वडाध्यक्ष थापाले भने, ‘यस क्षेत्रलाई यहाँको मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ, संरक्षणको अभावमा यी क्षेत्र ओझेलमा परेको अवस्था छ ।’
यहाँ रहेका कैलाश पर्वत, हरित हिल, गौरीशंकर मन्दिर र सिंहदेवी मन्दिरलाई समेटेर एकीकृत पर्यटकीय क्षेत्र बनाउने लक्ष्यका साथ कामको थालनी गरिएको वडाध्यक्ष थापाले बताए । पर्यटकलाई लक्षित गरेर वडा कार्यालयनजिकै १० लाख रुपैयाँ बजेटमा बाल उद्यान पार्कसमेत निर्माण गरिएको उनले जानकारी दिए ।
यहाँको कैलाश पर्वत, हरित हिललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यका साथ वडाले गरिरहेको कामले उत्साह थपिएको स्थानीयवासी टेकबहादुर बस्नेतले बताए । यहाँ कैलाश पर्वतसँगै गौरीशंखर मन्दिर र सिंहदेवी मन्दिर रहेकाले यस स्थानको छुट्टै महŒव रहेको उनको भनाइ छ ।
‘यहाँको पर्यटकीय क्षेत्रको विकासमा स्थानीय सरकारले गरिरहेको काम राम्रो छ,’ स्थानीयवासी बस्नेतले भने, ‘कसैको नजर नपर्दा यी ऐतिहासिक स्थानहरू संरक्षणविहीन बनेको अवस्था थियो, यी क्षेत्रको विकासपश्चात् यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन बढ्ने हामीले अपेक्षा लिएका छौं ।’
कैलाश पर्वत र गौरीशंकर मन्दिरमा वर्षमा एकपटक भव्य मेला लाग्ने उनको भनाइ छ । मेलामा स्थानीयसँगै छिमेकी जिल्लाबाट समेत मानिसहरू दर्शन गर्न आउने गरेको उनले बताए ।
गाउँपालिकाभित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रूपमा काम गरिरहेको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले बताए ।






