बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई राजस्वबापतचार करोड १७ लाख रुपैयाँभन्दा बढी बुझाएका छन् ।
ढोरपाटनमा वर्षमा दुई चरणमा सिकार हुने गर्छ । पहिलो चरणमा तीन करोड तीन लाख पाँच हजार र दोस्रो चरणमा एक करोड ४३ लाख ७४ हजार रुपैयाँ राजस्व बुझाइएको थियो ।
आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार गत आर्थिक वर्षको पहिलो सिकार याम (असोज–मंसिर) मा ११ नाउर र आठ झारलको सिकार अनुमति दिइएको थियो । विभिन्न कम्पनीमार्फत आएका विदेशी सिकारीले आठ नाउर र पाँच झारलको सिकार गरेका थिए । राजस्व बुझाए पनि तीन नाउर र तीन झारलको सिकार हुन सकेन ।
दोस्रो सिकार याम (फागुन–वैशाख) मा १४ नाउर र १० झारलको सिकारका लागि अनुमति दिइएको थियो । सो याममा सिकारीले १३ नाउर र छ झारलको सिकार गरेका थिए । प्राविधिक कारणले एक नाउर र चार झारलको सिकार हुन नसकेको सुवेदीले बताए ।
ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गोलीगोठ्ठामा देखिएको समस्या, सिकारी बिरामी हुनु, मौसममा आएको परिवर्तन र निसाना चुक्नुलगायत कारणले अनुमति लिएका केही नाउर र झारलको सिकार हुन सकेन ।
नेपालमा कानुनी रूपमा सिकार गर्न मिल्ने ढोरपाटन सिकार आरक्षमा विदेशी सिकारी प्रतिस्पर्धामार्फत महँगो शुल्क तिरेर सिकार गर्न आउने गर्छन् । नाउर र झारलको सिकारका लागि अमेरिका, स्पेन, नेदरल्यान्ड्स र मेक्सिकोलगायत देशबाट सिकारी आउने गरेका छन् ।
सिकारका लागि आवश्यक बन्दोबस्त र मार्गनिर्देशनका लागि आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरियालाई सम्बन्धित सिकार ब्लकमा खटाउने गर्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नाउर र झारलको संख्या हेरेर हरेक वर्ष सिकारका लागि कोटा निर्धारण गर्छ । सिकार आरक्षलाई सातवटा ब्लकमा विभाजन गरिएको छ । त्यसमा सेङ, बार्से, सुर्तिबाङ, फागुने, घुस्तुङ, दोगाडी र सुन्दह ब्लक छन् ।
व्यावसायिक विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली हेलिकप्टरमार्फत आरक्षमा पुग्ने गर्छन् । सिकारीले हेलिकप्टर, सहयोगी, बन्दोबस्त र अन्य खर्चसमेत आफैँ व्यहोर्ने गरेका छन् । एक सिकारीले १५ दिनको सिकार अवधिमा २० लाखदेखि ३५ लाख रुपैयाँसम्म खर्च गर्ने गरेको आरक्ष कार्यालयले जनाएको छ ।
सिकारीसहित नेपाली सेना र आरक्षको टोली अधिकतम १५ दिनसम्म जंगलमा रहने गर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरी सिकारको कोटा र राजस्व दर निर्धारण गर्ने गरेको छ ।
नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टरलगायत सबै खर्च जोड्दा एक जना सिकारीले मोटो रकम खर्च गर्ने गरेका छन् । हालसम्म नाउर र झारलको सिकारका लागि नेपाली सिकारीले प्रतिस्पर्धा नगरेको आरक्ष कार्यालयले जनाएको छ ।
२०३९ सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लाको एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।
सम्बन्धित समाचार
वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध
राष्ट्रपतिबाट खोसिँदै कैद माफीको अधिकार
आज देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन
पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला
सरकारले सार्वजनिक गरेको एनसेल सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन प्रतिवेदनमा के छ ?
काभ्रेको खानीखोलामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, तीन जना घाइते






