भोजपुर । षडानन्द नगरपालिका–१० तीनतलेमा ‘साम्तोलिङ’ बौद्ध गुम्बा निर्माण गरिएको छ । बौद्ध संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन क्षेत्रको विकासका लागि यहाँ बौद्ध गुम्बा निर्माण गरिएको हो ।
षडानन्द नगरपालिका–१० साम्पाङका वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार तीनतलेमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार र स्थानीयको जनश्रमदानसहित करिब १ करोड २० लाख रुपैयाँ लागतमा गुम्बा निर्माण गरिएको हो ।
करिब २ रोपनी जमिनमा गुम्बासँगै भान्सा, शौचालय, धारालगायतका संरचना निर्माण गरिएको छ । वडाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेर गुम्बाभित्र बौद्ध धर्मसँग सम्बन्धित विभिन्न चित्र तथा आकृति बनाएको वडाध्यक्ष शेर्पाले बताए । पहिलाको पुरानो गुम्बा २०७२ सालको भूकम्पले जीर्ण बनेपछि वडाको पहलमा नयाँ गुम्बा निर्माण गर्न सफल भएको उनको भनाइ छ ।
‘हामीले बौद्ध धर्म, संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटनको विकास गर्न गुम्बा निर्माण गरेका छौं,’ वडाध्यक्ष शेर्पाले भने, ‘यस क्षेत्रमा धेरै बौद्ध धर्मावलम्बीहरूको बसोबास छ, भूकम्पले पुरानो गुम्बा जीर्ण हुँदा धेरै समस्या थियो, वडाको धेरै मेहनतपश्चात यहाँ गुम्बा बनाउन सफल भएका छौं ।’
गुम्बा निर्माणका लागि आफूले २ रोपनी र स्थानीय निम्छिरी शेर्पाले एक रोपनी जग्गा निःशुल्क दान गरेको वडाध्यक्ष शेर्पाले जानकारी दिए ।
भूकम्पले जीर्ण बनेको गुम्बाको विकल्पमा नयाँ गुम्बा निर्माण भएपछि उत्साह बढेको भन्दै स्थानीयवासी फुर्लाक्पा शेर्पाले खुसी व्यक्त गरे । वडाको पहलमा बौद्ध गुम्बा निर्माणले यहाँका १ सय २० भन्दा बढी बौद्ध धर्म मान्ने समुदायलाई लाभ पुगेको उनको भनाइ छ । गुम्बामा प्रत्येक महिनामा सबै जना भेला भएर पूजाआजा गर्ने चलन रहेको फुर्लाक्पाले जानकारी दिए ।
‘विगतको कच्ची गुम्बा भूकम्पले जीर्ण बनेको थियो,’ फुर्लाक्पाले भने, ‘गुम्बा जीर्ण हुँदा भित्र पसेर पूजाआजा गर्न जोखिम थियो, अहिले आवश्यक संरचनासहितको गुम्बा बनेपछि हामीलाई सहजता भएको छ, गाउँका सबै जना भेला भएर एकसाथ पूजा गर्न सकिन्छ ।’
नयाँ गुम्बा बनेपछि दर्शन गर्नका लागि विभिन्न ठाउँबाट मानिसहरू आउने गरेको उनले जानकारी दिए । यहाँ नजिकैबाट मुन्दुम पदमार्ग विस्तार भएकाले पर्यटन प्रवर्धनका लागिसमेत टेवा पुग्ने फुर्लाक्पाले बताए ।






