सिन्धुली । जिल्लामा अन्नबाली र दलहन बालीको उत्पादकत्व घट्दै गएको छ । जसका कारण खाद्यान्नको अभावमा समेत वृद्धि हुन थालेको छ । उत्पादकत्व घटेसँगै जिल्ला भित्रको उत्पादनले जिल्लाको जनसंख्यालाई चाहिने खाद्यान्न कमी हुँदै गएको देखिएको हो । कृषि विकास कार्यालय सिन्धुलीका अनुसार जिल्लामा आर्थिक वर्ष २०८१–०८२ को खाद्यान्न उत्पादनको वासलात हेर्दा ९ हजार ७७६ मेट्रिकटन खाद्यान्न अभाव देखिएको छ ।
फलफूल, आलु र मसलामा उत्पादकत्व वृद्धि
आर्थिक वर्ष २०८०–०८१ को तुलनामा ८ दशमलब ९७ प्रतिशत बढी खाद्यान्न अभाव देखिएको कार्यालय प्रमुख अनुप अधिकारीले जानकारी दिएका छन । उनका अनुसार आर्थिक वर्ष २०८०–०८१ मा ८ हजार ९१२ मेट्रिकटन खाद्यान्न अभाव थियो ।
गत आर्थिक वर्षमा जिल्लाको जनसंख्या ३ लाख १ हजार १०६ प्रक्षेपण गरिएको थियो । प्रतिव्यक्ति बार्षिक २०१ केजी खाद्यान्न आवश्यक पर्ने आँकलन कार्यालयको छ । जसबाट ६० हजार ५ सय २२ मेट्रिकटन खाद्यान्न उत्पादन आवश्यक थियो । जिल्लामा ५० हजार ७ सय ४६ मेट्रिकटन मात्र खाद्यान्न उत्पादन भएको छ ।
जिल्लामा उत्पादन हुने मुख्य अन्नबालीमा धान, मकै, गहुँ र कोदो हुन । अन्नबाली उत्पादन हुने कुल क्षेत्रफल ५५ हजार ६ सय ७७ हेक्टर जमिन छ । उक्त जमिनमा १ लाख ५८ हजार ९ सय ५६ मेट्रिक टन अन्न उत्पादन गर्न सकिन्छ तर जिल्लामा उत्पादन क्रमशः घटिरहेको छ ।
जिल्लामा धान लगाउने क्षेत्रफल बढेको छ तर उत्पादन घटेको छ । त्यस्तै तरकारीमा पनि क्षेत्रफल बढेको छ उत्पादन घटेको छ ।
आर्थिक वर्ष २०८०–०८१ को तुलनामा आर्थिक वर्ष २०८१–०८२ मा अन्नबाली र नगदेवाली दुवैमा उत्पादकत्व दर घटेको देखिएको छ । धान आर्थिक वर्ष २०८०–०८१ मा ४ दशमलब ०१ मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व रहेकोमा आर्थिक वर्ष २०८१–०८२ मा ३ दशमलब ७३ मेट्रिकटन रहेको छ । मकैमा आर्थिक वर्ष २०८०–०८१ मा ३ दशमलब २६ मेट्रिकटन उत्पादकत्व रहेकोमा आर्थिक वर्ष २०८१–०८२ मा ३ दशमलब २१ मेट्रिकटन रहेको छ ।
यस्तै गहुँको उत्पादकत्व आर्थिक वर्ष २०८०–०८१ मा २ दशमलब ६२ मेट्रिकटन रहेकोमा आर्थिक वर्ष २०८१–०८२ मा घटेर २.५७ मेट्रिकटनमा झरेको छ । कोदो, तेलहन र तरकारीको उत्पादकत्व बराबरी रहेको छ । दलहन बालीको उत्पादकत्व पनि घटेको छ । आर्थिक वर्ष २०८०–०८१ मा प्रतिहेक्टर १ दशमलब ५८ मेट्रिकटन उत्पादन रहेको दलहनबालीको उत्पादन आर्थिक वर्ष २०८१–०८२ मा १ दशमलब ३० मेट्रिकटनमा झरेको छ ।
फलफूल, आलु र मसलाको उत्पादकत्व बढेको छ । यसले जिल्लाका किसानहरु फलफूल, आलु र मसलाजन्य उत्पादनमा लागेको संकेत गरेको छ ।
सिंचाईको अभाव, समयमा पानी नपर्नु, अन्नबाली उत्पादनमा आकर्षण घट्नु, कृषिमा आधुनिकीकरण कम हुनु, सरकारी अनुदान सहि ठाउँमा लगानी नहुनु, मल, विउको समयमा पर्याप्तता उपलब्धता नहुनु, युवा जनशक्तिहरु विदेशिनु जस्ता कारणले कृषि उत्पादन कम हुँदै गएको कार्यालयले जनाएको छ ।