दाङ । समाचारको विषयलाई लिएर सल्यानमा मेयरका भाइ र वडा अध्यक्षले पत्रकारलाई कुटपिट गरेका छन् । शारदा नगरपालिका –१ श्रीनगरस्थित करुवा रेस्टुरेन्टमा खाना खाइरहेको अवस्थामा पत्रकार नोखिराम थापालाई शारदा नगरपालिका –६ का वडा अध्यक्ष भिकराज बुढाथोकी, प्रमोद भण्डारी, दिपेन्द्र विष्ट सहित ५–६ जनाको समूहले थापामाथि आक्रमण गरी घाइते बनाएको हो । प्रमोद भण्डारी शरदा नगरपालिकाका मेयर प्रकाश भण्डारीका सहोदर भाइ हुनुहुन्छ । कुटपिटबाट थापाको टाउको र आँखामा चोट लागेको छ ।
पत्रकार थापाले केही दिन अघि श्रीनगर बसपार्क हस्तान्तरण नहुँदै चिरा परेको समाचार प्रकाशित गर्नुभएको थियो । बसपार्कका ठेकेदारसँग प्रमोद र भिकराजको निकट सम्बन्ध भएको स्रोतको दाबी छ । पत्रकार थापा नेपाल पत्रकार महासंघ कर्णालीको प्रदेश परिषद् सदस्य र प्रेस चौतारी कर्णालीको प्रदेश कमिटी सदस्य हुनुहुन्छ । पत्रकार थापाले वडा अध्यक्ष बुढाथोकी, भण्डारी सहितको समूहका विरुद्ध प्रहरीमा निवेदन दिनुभएको छ ।
पत्रकारलाई कुटपिट गरेर उल्टै पक्राइयो
कुटपिटमा संलग्न व्यक्तिहरूले पत्रकार थापालाई राम धुलाई गरेर उल्टै प्रहरीमा निवेदन दिएर पक्राउ गराएका थिए । ‘दिउँसैबाट वडा अध्यक्ष सहितको समूहले पत्रकार थापाको पिछा गरिरहेको रहेछ । करुवा रेस्टुरेन्टमा खाना खाइरहेको समयमा प्रमोदले ढोका खोल्न पठाएर अध्यक्ष र प्रमोद भित्र पसे । केही समयपछि दिपेन्द्र विष्ट सहितको समूहभित्र पसेलगत्तै आक्रमण सुरु भयो ।
कुटपिट गरेर उल्टै नाटकीय ढङ्गले प्रहरीलाई गाली ब्यजती गर्यो भनेर पक्राउ गराइयो ।’ नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले भन्नुभयो । प्रहरीको नियन्त्रणमा रहेका पीडित पत्रकारलाई महासंघका अध्यक्ष रावतले जमानीमा छुटाएर औषधि उपचार गरेको बताउनु भएको छ । अपराधकर्मबाट बच्नका लागि नाटकीय ढंगले कुटपिट गरेर उल्टै पीडितलाई पक्राउ गर्नु सल्यानमा यो नौलो घटना भएको महासंघले बताएको छ ।
समाचार लेखेकै कारण मेयरका भाइ र वडाध्यक्षबाट पत्रकार कुटिनु भएको छ । यो दुःखद घटना हो । राजनीतिक पहुँचमा छुट दिन मिल्दैन । कानून बमोजिम कारबाही हुनुपर्छ’, रावतले भन्नुभयो । यता घटनाको विषयमा थप बुझ्नका लागि शारदा नगरपालिका –६ का वडाध्यक्ष भिकराज बुढाथोकीको मोबाइल नम्बर ९८५७८४४७१० मा सम्पर्क गर्दा फोन उठाएनन ।
के भन्छ प्रहरी ?
जिल्ला प्रहरी कार्यालय सल्यानले दुवै पक्षले निवेदन दिएकाले छलफलका लागि बोलाएको बताएको छ । पीडित पत्रकार र आफूलाई पनि पीडित बताउने समूहका दिपेन्द्र विष्टले पनि गालीब्यजतीको निवेदन दिएकाले छलफलका लागि बोलाएको निमित्त प्रहरी प्रमुख बाबुराम बस्नेतले बताए ।







