आमिरलाई दादासाहेब फाल्के ठूलो अवसर

मुम्बई । बलिउड अभिनेता आमिर खानले भारतीय चलचित्रका पिता एवम् पहिलो निर्माता निर्देशक दादासाहेब फाल्केको जीवनीमा आधारित बायोपिक चलचित्रमा काम गर्न पाउनु आफ्नो लागि चुनौतीसँग ठुलो अवसर पनि भएको बताएका छन् । अब भने आफूले यो चलचित्रलाई पूर्ण रूपमा समय दिने पनि आमिरले बताएका छन् ।

हालै मात्र आमिरको पछिल्लो चलचित्र ‘सितारे जमिन पर’ रिलिज भएको थियो । यो चलचित्रको प्रदर्शन नसकिएसम्म आफूले अरू चलचित्रलाई समय दिन नसक्ने उनले बताएका थिए । ‘सितारे जमिन पर’ले भारतीय बक्स अफिसमा २६६ करोड रुपैयाँ कमाएको छ । यो चलचित्रको सफलताले खुसी भएका आमिर अहिले दावासाहेब फाल्केको बायोपिकमा जोडिएका छन् ।

विगतको भन्दा फरक काम लिएर यस पटक आफू ठुलो पर्दामा आउन लागेको आमिरले बताएका छन् । यो चलचित्रलाई बलिउडका प्रसिद्ध निर्देशक एवम् निर्माता राजकुमार हिरानीले बनाउँदै छन् । आमिर खान र राजकुमार ११ वर्षपछि चलचित्रमा फेरी जोडिएका हुन् । यी दुवै भारतीय चलचित्रका पिता भनेर चिनिएका दादा साहेब फाल्केको जीवनलाई उत्कृष्ट रूपमा पर्दामा उतार्ने बताउँछन् ।

यो चलचित्रको आधिकारिक घोषणा केही समय अघि नै गरिएको थियो । तर अभिनेता आमिर खानले चलचित्र ‘सितारे जमिन पर’को प्रदर्शनसम्मको लागि आफूलाई समय दिन राजकुमारलाई आग्रह गरेका थिए । सोही कारण यो चलचित्रको काम बल्ल सुरु भएको हो ।

अहिले आमिर यो चलचित्रको स्क्रिप्टमा छन् । अब अक्टोबरबाट उनले दादासाहेब फाल्केको चरित्रको पूर्व तयारी गर्नेछन् । नयाँ वर्ष २०२६ को अवसर पारेर आगामी जनवरीबाट यो चलचित्रको छायांकन सुरु गरिने भएको छ । चलचित्र बायोपिक जनराको भएकाले यसलाई जाडो, गर्मी र बर्सात गरेर तीन वटा मौसममा छायांकन गरिने भएको छ ।

यसको धेरै जसो छायांकन मुम्बईको फिल्म सिटीमा सेट लगाएर गर्ने तयारी हुँदै छ । दादासाहेब फाल्केले मुम्बईको दादरमा रहेको मथुरा भवनदेखि नासिकसम्म बसोबास गरेका थिए । यी सबै ठाउँको सेट स्टुडियोमा लगाइने भएको छ । नोभेम्बरबाटै सेट निर्माण तयारी गरिने निर्माण पक्षले जनाएको छ । केही दृश्य भने सेट बाहिर फाल्के जोडिएका अन्य स्थानमा पनि खिचिने भएको छ ।

यहाँसम्मकी आमिर खानको दादासाहेब फाल्के ‘लुक्स’ सार्वजनिक नहोस् भनेर छायांकन स्थलमा निकै कडाइ गरिने भएको छ । दादासाहेब फाल्केको १५७ औं जन्म जयन्तीको अवसर पारेर यो बायोपिक चलचित्रलाई ३० अप्रिल २०२७ मा रिलिज गर्ने तय भएको छ ।

आमिर खान र राजकुमारको जोडीले यस अघि सन २००९ मा सुपर हिट चलचित्र ‘३ इडियट्स’ र सन २०१४ मा ब्लक बस्टर चलचित्र ‘पीके’ मा सँगै काम गरेका थिए । यसपछि यो जोडी दादासाहेब फाल्केको बायोपिकमा जोडिएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

epaper

ताजा समाचार

मुलुकभर तापक्रम बढेपछि सतर्कता अपनाउन अनुरोध