‘सत्ता निर्मम हुन्छ’ भन्ने इतिहासले मात्र प्रमाणित गरेन, नेपाली समाजले प्रत्यक्ष देख्न र भोग्नुप¥यो । विकसित लोकतान्त्रिक देशका सरकारहरूले जनमुखी, पारदर्शी, विकासकर्मी तथा देश, काल, परिस्थितिअनुरूप राज्य सञ्चालन गरेको पाइन्छ । देश विकासको मोडेल हेर्न धेरै टाढा जानुपर्दैन । हाम्रा छिमेकी राष्ट्र भारत र चीन मात्र काफी छन् । तर, हाम्रो देशको सन्दर्भमा राजनीतिक नेतृत्व जनताप्रति गैरजिम्मेवार हुने, सत्तामा मस्त रहने, भ्रष्टाचारमा व्यस्त हुनेजस्ता कार्यले गर्दा मुलुकले २३ र २४ भदौको परिणाम भोग्नुप¥यो । जेनजी आन्दोलनमा धनजनको ठूलो क्षति भयो । आन्दोलनपश्चात पनि दलका शीर्ष नेतालगायत नेतृत्वको ठूलो पंक्तिले आप्mना कमीकमजोरी स्वीकार गरेको देखि“दैन । दलहरूले अझै सच्चिने लक्षण देखाएका छैनन् ।
समाज गतिशील छ । समयले कसैलाई पनि पर्खंदैन । अहिलेको समय भनेको विज्ञान र प्रविधि विकास भएको युग मात्र होइन, प्रविधि विकासले समाजको जीवन पद्धतिमै परिवर्तन गराइदिएको समय हो ।
सामाजिक सञ्जालभित्रका नेटवर्कले समाजलाई अनुभव हुनेगरी बदलिदिएका छन् । देशमा हुने गरेका राजनीतिक, आर्थिक, प्रशासनिकलगायत हरेक क्षेत्रको खबरको पहुँच गाउँगाउँसम्म पुगेको छ । जनतामा राजनीतिक दलप्रतिको आक्रोश व्याप्त छ । सामाजिक सञ्जालका माध्यमबाट आयआर्जन गर्ने मानिसको संख्या ठूलो छ । ओली सरकारले यो वास्तविक बुभ्mन सकेन । दसैं–तिहारजस्ता ठूला पर्व आउने समय सामाजिक सञ्जाल बन्द भयो । धेरै युवा बेरोजगार हुन पुगे । फलतः जेनजी पुस्तामा असन्तोष चुलियो । उनीहरू सडकमा उत्रिए ।
त्यसो त, समाजमा राज्यको कार्यशैली र दलका शीर्ष नेतृत्वप्रति असन्तोष व्याप्त छ । समाजको असन्तोष २०७९ सालमा भएको निर्वाचनमा पनि पोखिएको थियो । स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीको २१ सिट कुनै राजनीतिक सैद्धान्तिकका आधारमा आएको थिएन । यो दलका सभापति रवि लामिछानेले पत्रकारिता गर्दा राजनीतिक दलको कमीकमजोरी र भ्रष्टाचार विषयमा उठाएका एजेन्डा समाजलाई उचित लागेको थियो । कुनै राजनीतिक सिद्धान्त र जगबिनै रास्वपाले प्राप्त गरेको जनमत पनि जनतामा पुराना दलप्रति उत्पन्न आक्रोशको परिणाम थियो ।
राज्यप्रति व्यापक आलोचना हुँदै आएको थियो । सामाजमा असन्तोष मडारिइरहेका बेला ओली सरकारले सामाजिक सञ्जाल बन्द गरेर आगोमा घिउ थप्ने काम ग¥यो । जेनजी पुस्ताले उठान गरेको सामाजिक सञ्जाल खोल्नुपर्ने, विधिको शासन र प्रत्यक्ष कार्यकारी निर्वाचन प्रणाली हुनुपर्नेजस्ता एजेन्डा नयाँ होइनन् । समाजले उठाउँदै आएका विषय हुन् । समाज बुभ्mन नसक्ने, देशकाल, परिस्थिति सही मूल्यांकन गर्न नसक्ने नेतृत्व ‘आउटडेटेड’ हुन्छ भन्ने अहिलेको सरकारको बहिर्गमनले पुष्टि गर्छ ।
साधारण आँखाले हेर्दा आन्दोलन भयो । सरकार ढल्यो । नयाँ सरकार बन्यो । प्रतिनिधिसभा विघटन भयो । केही परिवर्तन भएजस्तो देखियो । तर, अहिलेको परिवर्तनले मात्र न समाजमा चुलिएका समस्या समाधान गर्न सक्छ, न त जेनजीले उठाएका मुद्दा लागू हुन सक्छन् । अहिले निर्माण भएको नागरिक सरकारले जेनजीले उठाएका एजेन्डा समाधान गर्ने दिशामा देखिने र अनुभव हुनेगरी आधार तयार गर्नुपर्छ ।
सामाजिक सञ्जालभित्रका नेटवर्कले समाजलाई अनुभव हुनेगरी बदलिदिएका छन् । देशमा हुने गरेका राजनीतिक, आर्थिक, प्रशासनिकलगायत हरेक क्षेत्रको खबरको पहुँच गाउँगाउँसम्म पुगेको छ । जनतामा राजनीतिक दलप्रतिको आक्रोश व्याप्त छ । सामाजिक सञ्जालका माध्यमबाट आयआर्जन गर्ने मानिसको संख्या ठूलो छ
जेनजीले भ्रष्टाचार अन्त्य, भ्रष्टका सम्पत्ति छानबिन, सुशासन, प्रत्यक्ष कार्यकारी निर्वाचन, प्रदेश सरकार खारेजी, रोजगारी सिर्जनालगायत माग उठाएका छन् । जेनजीका माग केवल १३ देखि २८ वर्ष उमेर समूहका मानिसका मात्र होइनन्, हरेक उमेर समूहका नागरिकको माग हो । समग्रमा सिंगो समाजको माग हो । यी माग पूरा गर्ने दिशामा सुशीला कार्की नेतृत्वको सरकारले काम गर्न सकेन र दलहरूले यस आन्दोलनको रापतापको नजर अन्दाज गरे भने जेनजीको आक्रोश अस्थायी विराम मात्र हुनेछ । युवापुस्ता फेरि सडकमा आउनेछन् । राजनीतिक अस्थिरता बढेर जानेछ । यसर्थ, जेनजीले उठाएका आवाज सिंगो समाजको आवश्यकता र चाहना भएकाले तदअनुरूप यो सरकार अगाडि बढ्नुपर्छ ।
सिद्धान्त त प्रजातन्त्रलाई जनताले, जनताद्वारा, जनताका लागि गरिने शासन व्यवस्था भनिन्छ । तर, हाम्रो देशको सन्दर्भमा प्रजातन्त्रको यो सुन्दर पक्षलाई राजनीतिक दलले व्यवहारमा प्रयोग गरेनन् । प्रजातन्त्रका तीन दशक जनताका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विष्मात’ भनेझैं भयो । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भनिए पनि नेता र उनीहरूका सन्तान तथा आसेपासेका लागि राजनीति दुहुनो गाई बनाइए । नातावाद, कृपावाद र भ्रष्टाचार व्याप्त भयो ।
त्यसो त, समाजका विभिन्न क्षेत्रबाट राजनीतिक दलका क्रियाकलापलाई खबरदारी गर्ने काम नभएको होइन । एकातिर छापामा आउने, लेख रचना, समाचार, सम्पादकीयजस्ता माध्यमले देशको वास्तविकता समीक्षा गर्दै आइरहेका थिए भने अर्कोतिर डिजिटल प्लेटफर्ममा सरकारप्रतिको आलोचना व्याप्त थियो । तथापि, सरकार दूरदर्शी हुन सकेन । जनताका आवाज सुनिएन । राजनीतिक दलले देश र जनहितका आधारमा राजनीति गरेनन् । फलतः देशले अकल्पनीय क्षति व्यहोर्नुप¥यो ।
पछिल्लो समय कांग्रेस र एमालेको गठबन्धन सरकार बनेपछि केपी शर्मा ओली नेतृत्वको सरकारले एकपछि अर्को जनविरोधी काम गर्दै गयो । सरकारले जनताको असन्तोष व्यक्त गर्ने सामाजिक सञ्जाल बन्द गरेर आप्mनो खुट्टामा आफैं बन्चरो चलाउन पुग्यो ।
सामाजिक सञ्जालमार्फत गरिने अनलाइन व्यापार, पारिवारिक भेटघाट तथा अन्तर्राष्ट्रिय बजारमा रहेका आफन्तस“ग समेत भेटघाटलगायतका सुविधा बन्द भएपछि चौतर्फी आलोचना भयो ।
सामाजिक सञ्जाललाई आयआर्जन, अनुसन्धान, सामाजिक सम्बन्ध तथा मनोरञ्जनका रूपमा प्रयोग गर्दै आएको जेनजी पुस्ता आन्दोलनमा होमियो । प्रधानमन्त्री केपी ओलीले जसरी दलभित्र एकलौटी शासन गर्न सफल हँुदै गएका थिए, त्यसैगरी ‘समाज पनि नियन्त्रणमा हुन्छ’ भन्ने हठका कारण दुर्भाग्य निम्तियो । काठमाडौं क्षतविक्षत हुन पुग्यो । धनजनको ठूलो क्षति भयो ।
अहिले देश अत्यन्त जटिल परिस्थितिबाट गुज्रिरहेको छ । पुराना दलका विशेष गरेर शीर्षनेता र यिनका आसेपासे भनिनेले देश काल, परिस्थिति बुझेजस्तो लाग्दैन । शीर्ष नेताका कृपाले पद र पैसाको खेलोमेलो गर्न पल्केकाले आफ्ना नेताले गरेको भ्रष्टाचार, नेताका घरमा थुपारिएको धनराशि, घरमा मह“गा विदेशी रक्सीको भण्डारणजस्ता भ्रष्ट आचरण र विलासी जीवन नबुभ्mने हो भने परिस्थति सहज हुने देखि“दैन । त्यसैले अब दलका दोस्रो र तेस्रो पुस्ताका नेतागण बदलिन जरुरी छ ।
अझै पनि ‘बट्, किन्तु, परन्तु’ आदि इत्यादिमा अल्झिएर राजनीतिक कुतर्क गर्ने कार्यले विपत्ति निम्त्याउँछ । त्यसैले कांग्रेस, एमाले र माओवादीका शीर्ष नेतालाई राजनीतिबाट बिदा गर्नुपर्छ । दलभित्रका असफल नेतृत्व पंक्तिले जेनजीले उठाएका मुद्दा सम्बोधन हुनेगरी प्रस्ट राजनीतिक दृष्टिकोणसाथ अगाडि बढ्नुपर्छ ।
ठ्याक्कै अंक गणितको भाषामा जेनजी पुस्ताको वर्गीकरण अमेरिकी लेखक विलियम र नेल होउले गरेका हुन् । उनीहरूले भिन्न समय अन्तरालमा जन्मिएकामा रहेको व्यावहारिक, सामाजिक तथा मनोवैज्ञानिक अध्ययन गर्ने सिद्धान्तका आधारमा गरिएको उमेरगत दृष्टिकोण हो ।
सन् १९९७ देखि २०१२ सम्म जन्मिएका पुस्तालाई उमेर समूहका आधारमा ‘जेनेरेसन जेड’ भनिएको छ । त्यसो त, नेपालको राजनीतिक इतिहासमा व्यवस्था परिवर्तन गर्नका लागि हरेक उमेर समूहका मानिसको ठूलो योगदान छ । तथापि, २३ र २४ भदौको आन्दोलन जेनजी पुस्ताकै सक्रियतामा भएकामा दुईमत हुन सक्दैन ।
जेनजी पुस्ता शिक्षित छ । डिजिटल ज्ञान र सीपमा दक्ष छ । परिवर्तनशील छ । विज्ञान र प्रविधि विकासस“ग आफूलाई अभ्यस्त बनाउँदै लगेको छ । तर, अहिलेको अवस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश सन्तुलनमा राखी राज्य सञ्चालन गर्न सहज हुँदैन । आवेग र आदेशले मात्र देश चल्दैन । देशलाई दिशानिर्देश गर्नका लागि राजनीतिज्ञको खाँचो हुन्छ ।
देश निर्माणमा जोश र होस दुवै चाहिन्छ । युवामा जोस छ भने अग्रजमा होस । जोश र होसको फ्युजनबाट देश निर्माण गर्नुपर्छ । समाजका अग्रज हाम्रा धरोहर हुन् । ज्ञानशास्त्रका ग्यालेरी हुन् । अनुभवका पारखी हुन् । जोसलाई बदलेर होसमा आएका नागरिक हुन् । त्यसैले अग्रजको भूमिका नजरअन्दाज गर्नु हुँदैन । यो कुरा जेनजी आन्दोलनपश्चात उनीहरूले प्रधानमन्त्रीमा ७५ वर्षीया सुशीला कार्कीलाई छनोट गर्नुले पनि उनीहरू विवेकशील छन् भन्ने पुष्टि हुन्छ ।
संसद् विघटन भएर नयाँ सरकार बनेपछि जेनजी पुस्ताले आप्mना माग पूरा हुनुपर्ने आवाज उठाइरहेका छन् । जेनजी पुस्ताले उठाएको भ्रष्टाचार अन्त्य, भ्रष्टका सम्पत्ति छानबिन र आन्दोलनका दोषीलाई कारबाही, विधिको शासन, जनमुखी प्रशासनतन्त्र र सामाजिक रूपान्तरणजस्ता धेरैजसो मुद्दा अगाडिदेखि उठ्दै आएका हुन् । जेनजी पुस्तालाई अपरिपक्व भनेर नजरअन्दाज गरिनुहुँदैन ।
जेनजी पुस्ताले उठाएका विषय उनीहरूको मात्र होइन, सिंगो समाजको चाहना हो । देशको आवश्यकता हो । त्यसैले समस्या समाधान गरियोस् । उनीहरू फेरि विद्रोहमा जान नपरोस् ।






