कैलालीमा रित्तिए प्रहरीका थुनुवा कक्षहरू

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका प्रहरी कार्यालयहरूका थुनुवा कक्ष रित्तिएका छन् । जेनजीको आन्दोलनका क्रममा अदालत र प्रहरी कार्यालयहरूमा आगजनी तथा तोडफोड भएपछि थुनुवा कक्ष खाली गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका कार्यालयबाट ९४ जना थुनुवा छोडिएका छन् । जिल्ला अदालत कैलालीले आगजनी भएपछि काम रोकेका कारण थुनुवाहरूको म्याद थप गर्न नपाइएकाले जमानीमा छोडिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता राजकुमार सिंहले अदालतबाट म्याद थप र मुद्दाको प्रक्रिया अगाडि बढाउन समस्या भएकाले थुनुवाहरूलाई छोडिएको बताए ।

जेनजी पुस्ताको प्रदर्शनका क्रममा जिल्ला कारागार कैलालीका कैदीबन्दी तथा थुनुवा भगाइएका बेला प्रहरीले पनि थुनुवा कक्षमा रहेकाहरूलाई जमानीमा छोडेको हो । प्रहरीले बोलाएको समयमा आउने सर्तमा सबै मुद्दाका थुनुवाहरू घर गएका थिए । उनीहरूलाई कैलाली प्रहरीले बोलाएको छैन । दसैंको समय सुरु भएकाले अदालतको कामकारबाही बन्द हुने भएकाले झनै समस्या भएको छ । लागूऔषध, चोरी, तस्करीजस्ता अपराधको आरोपमा पक्राउ परेकाहरू घर गएका छन् । उनीहरूले फेरि पहिलाकै अपराध सुरु गरेका गुनासाहरू आएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट ६९ पुरुष र पाँच महिला गरेर ७४ जना, इलाका प्रहरी कार्यालय मालाखेतीबाट नौ पुरुष, इलाका प्रहरी कार्यालय सुखडबाट चार पुरुष, इलाका प्रहरी कार्यालय लम्कीबाट दुई पुरुष, टीकापुरबाट चार पुरुष र भजनीबाट एक पुरुष थुनुवा जमानीमा घर पठाइएको तथ्यांक छ ।

जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालयसँगको समन्वयमा उनीहरूलाई जमानीमा छोडिएको बताएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा हालै पक्राउ गरेका चार जना लागूऔषध मुद्दाका थुनुवा छन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा बुधबार दिउँसोसम्म चार जना मात्र नयाँ थुनुवा बाँकी रहेका हुन् ।

दसैंको समय सुरु भएकाले अपराधसमेत बढ्ने र थुनुवाहरूको संख्यासमेत बढ्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 154 times, 1 visits today)

epaper

ताजा समाचार

दोलखाको लामाबगर खराने खोला नजिक भीषण पहिरो