राष्ट्रपति–सरकार–जेनजी प्रतिनिधिबीच एजेण्डाकेन्द्रीत छलफल सुरु

काठमाडौं । जेनजी विद्रोहमा सहभागी भएका विभिन्न समूहसँग राष्ट्रपति र प्रधानमन्त्रीले औपचारिक वार्ता थालेका छन् । आन्दोलनपछि बनेको सरकारसमेतलाई राखेर राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलका नेताहरूसँग छलफल गरेको भोलिपल्ट अर्थात् शनिबार जेनजी समूहका विभिन्न प्रतिनिधिसँग सम्वाद थालेका हुन् ।

जेनजी एजेन्डामा त्रिपक्षीय छलफल

२२ जनाभन्दा बढी जेनजी प्रतिनिधिलाई शितलनिवासमा बोलाएर वार्ता थाले पनि स्वास्थ्यमा समस्या आएका कारण राष्ट्रपतिले शनिबारको वार्तामा लामो समय सहजीकरण गर्न पाएनन् ।

तर, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्री र शिक्षामन्त्रीले जेनजीका प्रतिनिधिसँग उनीहरूका मागका विषयमा केन्द्रित रहेर छलफल थालेका हुन् ।

जेनजी विद्रोहमा दमन गर्नेदेखि भ्रष्टाचारमा संलग्नमाथि तत्काल कारबाही थाल्नुपर्ने, प्रत्यक्ष कार्यकारी सरकार प्रमुख हुनुपर्नेजस्ता जेनजी प्रतिनिधिका मागमा केन्द्रित रहेर छलफल सुरु भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।

वार्तामा सहभागिताको विषयलाई लिएर केही जेनजी प्रतिनिधिहरू असन्तुष्टसमेत देखिएका छन् । उनीहरूले राष्ट्रपति निवासअघि प्रदर्शनसमेत गरे ।

जेनजी नेपालका प्रतिनिधिहरूले आफूहरूलाई सहभागी नगराई राष्ट्रपति र सरकारले वार्ता थालेको भन्दै विज्ञप्तिमार्फत आगामी दिनमा आफूहरूलाई बाइपास नगर्न चेतावनीसमेत दिएका छन् ।

उनीहरूले विज्ञप्ति नै जारी गरेर आन्दोलनको अगुवाइ गरेकालाई बाइपास नगर्न भनेका छन् । उता जेनजीका केही संस्थागत प्रतिनिधिहरूले वार्तापछि विज्ञप्ति जारी गरेर सरकारले घोषणा गरेको चुनाव सफल पार्न सहयोग गर्ने विषयमा सरकारसँग छलफल भएको बताएका छन् ।

राष्ट्रपति कार्यालयमा भएको छलफलमा सुशासन, संविधान संशोधनलगायतका विषयमा छलफल भएको र यो छलफलमा कोही पनि टोली नेता नभई आन्दोलनका अगुवासँग छलफल भएको आन्दोलनका प्रतिनिधि मिराज ढुंगानाले जानकारी दिए ।

उनले स्वच्छ निर्वाचनका पक्षमा आफूहरू रहेको भन्दै सरकार निर्माणको जगलगायतका विषयमा केही प्रतिनिधिले प्रश्न उठाएको बताए ।

जवाफमा प्रधानमन्त्री कार्कीले सरकार नेपालीहरूकै भएकाले ढुक्क हुन आश्वस्त पारेको उनको भनाइ छ । राष्ट्रपतिको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको बताउँदै सोमबारबाट यो छलफल निरन्तर रहने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यहरूसँग छलफलपछि केही जेनजी प्रतिनिधिले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि कारबाही हुनुपर्ने विषय उठाइएको बताएका छन् । उनीहरूले निर्वाचन तयारीसँगै कारबाहीको विषयलाई ओझेलमा पर्न नदिन खबरदारी गरिरहने बताएका छन् ।

जेनजी २.० ले संगठनलाई व्यवस्थित बनाउन विभिन्न विभागहरू सार्वजनिक गरेको छ । शनिबार राजधानीमा भएको पत्रकार सम्मेलनमा जेनजीको बदनाम नगर्न पनि उनीहरूले चेतावनीसमेत दिएका छन् ।

पूर्वआईजीपी खनाल जेनजीका विज्ञ सदस्य !
जेनजी २.० नामक संस्थाले पूर्वप्रहरी महानिरीक्षक तथा पूर्व एमाले नेता सर्वेन्द्र खनाललाई विज्ञ टोली प्रमुखका रूपमा घोषणा गरेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनलाई विज्ञ टोली प्रमुखका रूपमा परिचय गराइएको हो ।

सो समूहको प्रवक्ता अविन लिम्बूले जेनजी सदस्य सचिवमा कुन्दन कुशवाह, प्रवक्ता तथा वार्ता समिति प्रमुखमा अविन लिम्बु, विज्ञटोली प्रमुखमा पूर्वआईजीपी खनाल, जनसम्पर्क विभागमा त्रिदेव भट्टराई, घाइते योद्धा तथा शहीद परिवार समन्वय विभागमा सञ्जय पौडेल, भ्रष्टाचार निर्मूल तथा नियन्त्रण विभागमा प्रज्वल लामा र सीताराम राई, प्रचारप्रसार विभागमा विजय पराजुली, सचिवालय परिचालनमा रविनकुमार साहको नाम सार्वजनिक गरेको छ ।

टोली सार्वजनिक गर्न भन्दै आयोजना गरिएको पत्रकार सम्मेलनमा जेनजीका नाममा विभिन्न राजदूतावासहरूमा गएर मन्त्री तथा पदहरू मागेर जेनजीको मर्म र भावनालाई बदनाम गरिएको आरोप लगाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)

epaper

ताजा समाचार

बालेन र सुदनविरुद्ध नेविसंघले पनि दियो प्रहरीमा उजुरी