काठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’ले अझै नेपालमा जातीयताको नाममा ठुलो विभेद रहेको समस्यालाई उजागर गरेको छ । सोमबार काठमाडौँमा एक समारोहबिच यो चलचित्रको ट्रेलर सार्वजनिक गरियो ।
बाहुनका छोरा प्रकाश सपुत र लिम्बुकी छोरी परीक्षा लिम्बुको प्रेममा लिम्बुले बाहुनलाई अजात भनेर विवाहको लागि अस्वीकार गरेपछि सुरु भएको द्वन्द्व र संघर्षको कथा यसको ट्रेलरमा समेटिएको छ । यस पटक तिहारमा भाइटिकाको दिन ‘सोल्टिनी’सँगै अरू दुई चलचित्र ‘वरिष्ठ बलराम’ र ‘मैझारो’ रिलिज हुँदै छ । त्यसैले दसैँमा जस्तै तिहारमा पनि नेपाली चलचित्रको राम्रो भिडन्त हुने भएको छ ।
‘सोल्टिनी’लाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। प्रकाश सपुत र परीक्षा लिम्बुका साथमा सुन्दर धिताल, सब्बु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय यसमा रहेको छ ।
इलाम, कन्याम, बिर्तामोड, पथरी र भोजपुरलगायतका रमणीय स्थलमा छायांकन गरिएको यो चलचित्र सामाजिक प्रेम कथामा आधारित छ ।






