धनगढी । कैलालीको धनगढीबाट सयपत्री फूलको माला बेलनयत पठाइएको छ । धनगढी उपमहानगरपालिका–९ स्थित बंगरामा उत्पादित सयपत्री फूलको माला बेलायत पठाइएको हो । बेलायतमा रहेका नेपालीले तिहारका लागि माग गरेपछि सयपत्री फूलको माला बनाएर बेलायत पठाइएको हो ।
तिहारका लागि बेलायतमा तीन सय थान माला पठाएको व्यावसायिक फूल खेतीमा सक्रिय रोशन साउँदले बताए । ‘फूलका लागि थुप्रै अर्डर आएको छ,’ उनले भने, ‘फूल मात्रै र माला बनाएर बिक्री गर्दै आएका छौँ । यस वर्ष पहिलो पटक बेलायत पनि पठाएका छौँ ।’
अछामको मेल्लेख गाउँपालिका–३ का साउँदसहित दशरथ साउँद र कपिलवस्तुका भास्कर पङ्गेनीले बङ्गरामा २२ कट्ठा जग्गा भाडामा लिएर विगत चार वर्षदेखि फूल खेती गर्दै आएका छन् । कृषि प्राविधिक तिनै जनाले मिलेर धनगढीसहित दाङ, बाँकेको कोहलपुर र कपिलवस्तुमा गरेर करिब नौ बिघा जमिनमा पुष्प खेतीलगायत अन्य कृषि बालीको खेती गरेका छन् ।
तिहार नजिकिएसँगै सयपत्री फूल बारीमा ढकमक्क भइसकेको छ । यस वर्षको तिहारका लागि सयपत्री फूल तयार भइसकेको साउँदले बताए । उनले सयपत्रीको माला बनाउने, गाँस्न ६०–७० जनाले रोजगारी पाइरहेको बताए ।
यस वर्ष गत वर्षभन्दा तिहार छिट्टै परेको र फूल उत्पादन पनि राम्रो भएका कारण फाइदा हुने अपेक्षा गरेको साउँदले बताए । उनको दी डिभाइन एग्रो फार्म नर्सरी एन्ड रिसर्च सेन्टरबाट सयपत्री फूल प्रतिकिलो पाँच सय र माला प्रतिमाला एक सयदेखि दुई सय रुपियाँमा बिक्री भइरहेको छ ।






