कास्की प्रहरी कार्यालय तोडफोड र आगजनी अभियोग संलग्न पक्राउ

पोखरा । जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातपातका कार्यालयहरु तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न अभियोगमा १८ जना व्यक्तिहरु पक्राउ परेका छन् । तीमध्ये १० जनालाई आपराधिक उपद्रवसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार पक्राउ पर्नेहरुमध्ये केहीको आपराधिक पृष्ठभूमि रहेको खुलेको छ ।

सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले धादिङको त्रिपुरासुन्दरी ४ घर भई हाल पोखरा बस्ने २४ वर्षीय राजेश मक्रन्तिलाई जिल्ला प्रहरी कार्यालय तोडफोड तथा आगजनीमा संलग्न अभियोगमा पक्राउ गरिएको जानकारी दिए । डिएसपी बस्नेतका अनुसार मक्रान्तिविरुद्ध २०७९ सालमा पनि अभद्र व्यवहार मुद्दा चलेको थियो ।

यस्तै, जिल्ला प्रहरी कार्यालय तोडफोड र आगजनीमा संलग्न अभियोगमा पक्राउ पर्ने अर्का व्यक्ति हुन्–५४ वर्षीय नारायण साई । पोखरा ४, अधिकारीमार्ग बस्ने उनी मासुको व्यापार गर्छन् । पोखरा फूलबारी बस्ने २२ वर्षीय अरुण विक पनि सोही अभियोगमा पक्राउ परेका छन् । उनी सवारीचालक पेसामा आबद्ध छन् ।

२० वर्षअघि सवारीसाधन तोडफोड गरी क्षति पु¥याएको अभियोगमा मुद्दा चलेका पोखरा–१, कसेरीका ४१ वर्षीय रुपेश मगर पनि २४ भदौमा जिल्ला प्रहरी कार्यालय तोडफोड र आगजनीमा संलग्न रहेको खुलेको छ । पोखरा–१, मोहरिया टोल निवासी ४३ वर्षीय दीपु साई पनि प्रहरी कार्यालय तोडफोड, आगजनी एवं हतियार जलाएको अभियोगमा पक्राउ परेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाका ४७ वर्षीय लङबहादुर नेपाली र सोही ठाउँका १९ वर्षीय अरविन विक, २२ वर्षीय ग्रिस क्षेत्री, ६२ वर्षीय थमबहादुर सार्कीलाई प्रहरी चौकी नयाँ पुल तोडफोड र आगजनी अभियोगमा पक्राउ परिएको छ । प्रहरी चौकी नयाँ पुल तोडफोड र आगजनीमा संलग्न अभियोगमा पक्राउ परेका अर्का व्यक्ति ४२ वर्षीय पूर्णबहादुर नेपालीको यसअघि पनि आपराधिक पृष्ठभूमि छ । अन्नपूर्ण गाउँपालिका निवासी नेपाली अभद्र व्यवहारसम्बन्धी मुद्दामा वडा प्रहरी कार्यालय बगरका हिरासतमा रहेकोमा जेनजी आन्दोलनमा २४ भदौमा हिरासतबाट फरार भई चौकी आक्रमण गर्न पुगेका थिए ।

उता, जिल्ला प्रहरी कार्यालयमा आई प्र्रहरी पोषाक दुरुपयोग गर्ने तथा हुलहुज्जत गर्ने ८ जना पक्राउ परेकामा उनीहरु हाल धरौटीमा छुटेका छन् । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरअन्तर्गत अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनीहरुविरुद्ध अनुसन्धान गरिएको थियो ।

जसमा पोखराको पृथ्वीचोक निवासी वर्ष ४ का अमृत घले, पोखराको मौजा निवासी वर्ष ३९ का चन्द्रबहादुर गुरुङ, २२ वर्षीय सागर परियार, रुकुम घर भई हाल पोखरा ८ बस्ने वर्ष २४ का दीपेश शाही ठकुरी, गोरखा घर भई हाल पोखरा १६ बस्ने वर्ष २४ का सुरेश गुरुङ र पोखराको पस्र्याङ निवासी वर्ष ४५ का राजेश शाही २ हजार धरौटीमा छुटेका छन् ।

यस्तै, धादिङ घर भई हाल पोखराको पस्र्याङ बस्ने वर्ष २९ का सागर अधिकारी र धादिङ घर भई पस्र्याङ बस्ने २९ वर्षीय दीपेश शाह जनही ३–३ हजार धरौटीमा छुटेका छन् ।

यसैबीच, कास्की प्रहरीले गत महिनादेखि सुरु गरेको अपरेसन–३६५ अन्तर्गत १ सय ३३ वटा सवारीसाधन पक्राउ परेका छन् । तीमध्ये २८ जनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको छ ।

मोटरसाइकलको स्वरुप परिवर्तत गराई ठूला आवाज निकाली ध्वनी प्रदूषण गर्ने तथा समाजमा आतंक फैलाउने गरेको जनगुनासो बढेपछि प्रहरीले वर्षैभरि संचालन गर्ने गरी अपरेसन–३६५ सुरु गरेको हो ।

जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा कारागार कार्यालय कास्की, बाल सुधार गृह तथा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट फरार कैदीबन्दी तथा थुनुवा पनि प्रहरीले पक्राउ गरेको छ । कारागार कार्यालयका ७ सय ७३ जना कैदीबन्दीमध्ये हालसम्म ५ सय २० जना पक्राउ परिसकेका छन् । यस्तै, बालसुधार गृहमा रहेका १ सय ६ जना फरारमध्ये ९१ जना पक्राउ परेका छन् ।

यस्तै, जिल्ला प्रहरी कार्यालयमा रहेको ६३ जना थुनुवामध्ये ५ जना, वडा प्रहरी कर्यालय बगरमा रहेका १२ जनामध्ये १ जना र वडा प्रहरी कार्यालय बैदाममा रहेका ३३ जना थुनुवामध्ये २६ जना पक्राउ परेका छन् । बाँकीको खोजतलास भइरहेको सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले पत्रकार सम्मेलनमा जनाए ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौंका ४८ र भरतपुरका ५ ठेक्का तोड्ने तयारी