कात्तिकमै हिमपात, सावधानी अपनाउन अनुरोध

काठमाडौं । मनाङ, मुस्ताङलगायतका हिमाली जिल्लामा परेको हिउँका कारण आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले पदयात्रा तथा भ्रमणमा जाने यात्रुहरूलाई सचेत गराउनुका साथै सावधानी अपनाउन अनुरोध गरेको छ ।

मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–५ नेचुङस्थित उपल्लो मुस्ताङमा परेको हिउँ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नेचुङले पन्छाउनुका साथै सो बाटो हुँदै पदयात्रा तथा भ्रमणमा जाने पर्यटकलाई सुरक्षित यात्रा र सावधानी अपनाउन अनुरोध गरेको छ ।

सो टोलीले यात्रुहरूको सहजताका लागि कोरोला नाका जाने बाटोमा परेको हिउँ पन्छाउने कार्यसमेत गरेको छ । कोरोला नाकासम्म जाने बाटोमा हिउँ जमेर असहजता भएपछि सशस्त्र प्रहरीले हिउँ पन्छाएको हो भने थप हिमपात भएमा सो क्षेत्रमा भ्रमणमा नआउनसमेत उसले अनुरोध गरेको छ ।

यसैगरी, मनाङ जिल्लाको डिस्याङ गाउँपालिका–४ हुम्डेस्थित चामेदेखि खाङ्सार जाने बाटोमा सोमबार रातिदेखि परेको हिउँसमेत सशस्त्र प्रहरीले हटाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गुल्म मनाङबाट खटिएको सुरक्षा फौजले यात्रुहरूलाई सावधानी अपनाउन र मौसम प्रतिकूलता’bout सचेत रहन अनुरोध गरेको छ ।

यसैगरी, म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण पदमार्गमा गएका पदयात्रीहरूको सहजीकरणका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस नारच्याङ म्याग्दीको टोली खटिएको छ । सो टोली पदयात्रीहरूको सहजता र सुरक्षाका लागि अन्नपूर्ण गाउँपालिका–४ हुमखोलाभन्दा माथिसम्म पुगेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

हिउँमा फसेकाहरूलाई सुरक्षित स्थानान्तरण तथा उद्धार
हिमाली भेगका केही जिल्लामा परेको हिउँका कारण फसेका व्यक्तिको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

हिउँका कारण फसेका ७ सय ५० जनालाई मनाङको तिलिचो बेस क्याम्पबाट डिस्याङ गाउँपालिका–९ स्थित खाङ्सारसम्म सुरक्षितसाथ ल्याइएको छ भने ५० जनालाई तिलिचो बेस क्याम्पमा सुरक्षितसाथ राखिएको छ ।

मनाङ घुम्न गएका पर्यटकहरूलाई बस्ने र खानाको खाङ्सारमा पर्याप्त ठाउँ नभएपछि केही पर्यटकलाई सुरक्षितसाथ फर्कने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी, काठमाडौं महानगरपालिका–३१ बस्ने ४५ वर्षका वीरेन्द्र रसाइलीको लेक लागेर बेहोस अवस्थामा उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । तिलिचो ताल भ्रमण गरी फर्कने क्रममा उनलाई एक्कासि लेक लागी बेहोस भएपश्चात् सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङको सुरक्षा फौजले स्ट्रेचरमा राखी खाङ्सारबाट हुम्डे स्वास्थ्यचौकीसम्म ल्याएको हो ।

मनाङमा सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय मनाङको स्थापना भएर उच्च भूभाग खोज तथा उद्धार तालिमसमेत सञ्चालन गर्न थालेपछि हिमपातमा परेका नागरिकहरूको उद्धारमा सहजता भएको सशस्त्रले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 114 times, 1 visits today)

epaper

ताजा समाचार

'नसोधी' ल्याए राधा, घनेन्द्र र सन्तोषले