राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाई आयोजनाको ५० प्रतिशत निर्माण सम्पन्न

नेपालगञ्ज । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाई आयोजनाको ५० प्रतिशत निर्माण सम्पन्न भएको छ । २०६२ सालमा निर्माण सुरु भएको आयोजनाले विभिन्न आरोह अवरोहका बाबजुद ५० प्रतिशत प्रगति हासिल गर्न सफल भएको हो ।

आयोजनाले हाल ४५ किलोमिटर पश्चिम मूलनहर निर्माण सम्पन्न गरि त्यसका शाखा प्रशाखा निर्माणको क्रममा रहेको छ भने पूर्व मूल नहरको ५३ किलो मिटर मध्ये ३७ किलोमिटर नहर निर्माण सम्पन्न गरी बाँकी नहर संगै शाखा प्रशाखा निर्माणको क्रममा रहेको आयोजना निर्देशक राजु आचार्यले जानकारी दिए ।

बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाले समष्ठिगत ५० प्रतिशत प्रगति गर्दैगर्दा यहाँका किसानमा भने आयोजना प्रति आशा र भरोसा पलाएको छ ।

आकासे पानीको भरमा एक खेतीमै चित्त बुझाउने किसनहरु सिक्टाको नहर निर्माणकै क्रममा नहरमा छाडेको पानीको प्रयोग गरी तीन बाली लगाउन पाउदा उनीहरु दंग छन । राप्तीसोनारी–४ का किसान राम सरुक थारुले पहिला आकाशे पानीको भर परेर खेती गर्ने गरेको भए पनि पछिल्ला केही वर्ष यता भने सिक्टा नहर निर्माण हुन सुरु भएपछि आफुहरुको दिन पनि फेरीदै गएको बताए ।

उनले भने–‘पहिला आकाशे पानीको भल छोपेर खेती गरिन्थ्यो अहिले बारीको छेउबाटै सिक्टाको मूल नहर बगेर गएको छ । खेती पाती गर्नको लागि सजिलो भएको छ । अहिले मूल नहर मात्र बनेपनि शाखा नहर बनेर नहरको पानी सिधै खेतमा आउन थाले हामी जस्ता किसानका लागि अमृतै पाए बराबर भएको छ ।’

राप्तीसोनारी–२ मदुईका शैखिलाल थारु पनि सिक्टा नहरको पानीको कारण आफुहरु जस्ता किसानको जीवन शैलीमै परिवर्तन आउन सुरु भएको बताउछन । उनले भने–‘नहर पुरा निर्माण भई सकेको छैन र पनि हामी किसानको लागि धेरै सहज भएको छ । नहर पुरा निर्माण भएर किसानको खेतखेतमा पनि पुग्दा हामी यहि माटोमा सुन फलाउन सक्छौ जस्तो लागेको छ ।’

उनले नहरका कारण किसानको उब्जनी बढेसंगै आम्दानी पनि बढेको बतउदै किसानको जीवन शैली बदलिन सुरु भएको आफुले पाएको दाबी गरे । ‘पहिला खान नपुग्ने जमिनबाट भएको उब्जनीले अहिले वर्षभरी खान पुगेर पनि बेचेर गर्जो टार्न पाएका छौ । परिवारसंख्या पनि उत्तिकै छौ जमिन पनि उत्तिकै छ । तर, आम्दानी भने बढेको छ’– उनले भने ।

राप्तीसोनारी–५ मदुईका निरुता थारु पनि सिक्टा नहरका कारण आफुहरुले समयमा खेती लगाउन पाएको बताईन । उनले भनिन–‘ अब हामीलाई आकासको पानीको भर पर्नु पर्दैन समयमै नहरको पानी तानेर खेती गर्न सक्ने भएका छौ । पहिला धान र मकैमा मात्रै चित्त बुझाउनु पथ्र्याे तर अव भने तीन खेती लगाउछौ ।’

राप्तीसोनारी–५ जवरपुरकी आशाकुमारी थारुले यो वर्षदेखि गाउमा पहिलो पटक चैते धान लागाउने तयारी गरेको बताईन । ‘पहिला खेती गर्नको लागि सिचाईको अभाव थियो अब गाउको बीचबाट सिक्टाको नहर बगेको छ । त्यो पानीको सदुपयोग गर्दै गाउमा आउने वर्षदेखि चैते धान लगाउने तयारी गर्न थालेका छौ ।’

सिक्टा सिचाई आयोजनाको पूर्व नहर निर्माणकै क्रममा हँदा पनि सो नहरका उपभोक्ता किसानहरु नहरको शाखा प्रशाखा निर्माण नहुँदै नहरको पानीको उपयोग गरी आफ्नो उत्पादन बढ्न थाले पछि उनीहरुमा आशाको किरण पलाएको बताउछन । उनीहरु भन्छन–‘ आयोजनाले चाँडो भन्दा चाँडो पानी खेतसम्म पुराउने व्यवस्था मिलावस ।’

सिक्टा सिचाई आयोजनाका निर्देशक आचार्यले सिक्टा सिचाई आयोजनाले ५० प्रतिशत समष्ठिगत प्रगति गरेको जानकारी दिदै आगामी वर्ष भित्रै पूर्वी नहरको बाँकी काम र शाखा प्रशाखा निर्माणको काम तीब्ररुपले अघि बढाउने गरी स्रोत सहमतिलाई लागि पहल गरिएको बताए ।

उनले लामो समयदेखि विभिन्न कारणले रोकिएको निर्माणको पुरानो ठेक्का तोडेर नयाँ ठेक्का आव्हान गरिएको जानकारी दिदै भने–‘ हामीले स्रोत स्वीकृतिको लागि फाई तयार बनाएर बसेका छौ । पुराना र काम नगर्ने ठेकेदारको ठक्का तोडेर नयाँ ठेक्का आवहान गर्ने लयागतका कामलाई अघि बढाएका छौ ।’

उनले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना अन्तर्गतको पश्चिमतर्फको डुडुवा सिँचाइ प्रणालीको निर्माण कार्य लामो समयको अवरोधपछि पुनः सुरु भएको बताए । ठेक्का विवाद र लामो कानुनी प्रक्रियाका कारण रोकिएको यो प्रणाली सञ्चालनमा आउँदा नेपालगञ्ज, डुडुवा र जानकी गाउँपालिकाको १६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने आयोजना निर्देशक आचार्यले बताए ।

आयोजनाका अनुसार, २०७३ सालमा ठेक्का सम्झौता भएता पनि निर्माणको जिम्मा पाएको कम्पनीले समयमै काम सम्पन्न गर्न नसकेपछि ठेक्का तोडिएको थियो । त्यसपछि निर्माण व्यवसायी कानुनी उपचारका लागि अदालत गएका थिए, जसका कारण झन्डै १० वर्षसम्म निर्माण प्रक्रिया पूर्ण रूपमा ठप्प भएको थियो ।

‘लामो कानुनी लडाइँपछि अदालतले फैसला सुनाएपछि र विभागीय सहमति प्राप्त भएपछि आयोजनाले चालु आर्थिक वर्षमा नयाँ ठेक्का आह्वान गरेको हो । हाल डुडुवाको पुरानो नहर र सिक्टाको मुख्य नहर क्रस हुने स्थानबाट काम सुरु भइसकेको छ’–आयोजना निर्देशक आचार्यले भने–‘ वर्षौंदेखि रोकिएको काम अघि बढ्दा स्थानीय किसान उत्साहित भएका छन् ।’

उनले सिक्टा सिँचाइ आयोजनाले भविष्यका लागि थप महत्वकाँक्षी योजनाहरू पनि अघि सारेको जानकारी दिदै अर्थ मन्त्रालयबाट स्रोत सहमति पाएको खण्डमा करिब ५ अर्ब रुपैयाँ बराबरको थप कामका लागि लागत स्टेमेटको योजना तयार पारिएको बताए ।

बजेट सुनिश्चित हुनासाथ डुडुवा नहरको दोस्रो चरण, पूर्वतर्फको मूलनहर निर्माण, र थप शाखा नहरहरू विस्तार गरिने योजना उनले सुनाए । उनले आयोजनाले तयार पारेका योजनामा पाँचौं, छैठौं र सातौं नम्बरका शाखा नहरहरूको विस्तारका साथै पुराना संरचनाहरूको मर्मतसम्भार पनि समावेश भएको बताए ।

आयोजनाको लागि स्रोत सहमति प्राप्त हुने बित्तिकै यही आर्थिक वर्षभित्र सबै योजनाको टेन्डर आह्वान गरी निर्धारित समयमै काम सम्पन्न गर्ने लक्ष्यका साथ आयोजना अघि बढिरहेको आयोजना निर्देशक आचार्यले जानकारी दिए ।

बाँकेको करिव ४३ हजार हेक्टर कृषि योग्य जमिन भु सतहबाट सिचाई गर्ने लक्षका साथ निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिंचाई आयोजनाले पश्चिम मूल नहर निर्माण सम्पन्न गरी शाखा प्रशाखा निर्माणमा जुटेको छ भने पूर्व नहर ५३ किलोमिटर मध्ये ३७ किलोमिटर निर्माण सम्पन्न गरी बाँकी निर्माणको लागि तयारी अघि बढाएको छ । निर्माण सम्पन्न भएर नहरमा पानी बग्न सके यसले बाँकेलाई कृषि उपजमा आत्मनिर्भर बनाउने विश्वास गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौंका ४८ र भरतपुरका ५ ठेक्का तोड्ने तयारी