अकबरे खोर्सानीले मूल्य नपाउँदा किसान चिन्तित

धनकुटा । परम्परागत खेती जंगली जनावरबाट जोगाउनै मुस्किल भएपछि अकबरे खुर्सानी खेती थालेका धनकुटाका किसान निराश भएका छन् । अघिल्ला वर्षहरुमा राम्रो मुल्य पाएर आम्दानी भएपछि खेतीमा विस्तार गरेका किसान निराश भएका हुन् ।

गएका वर्ष मुल्य राम्रो भएपछि खेतीमा लाग्ने किसानको संख्या पनि बढेको छ । तर, यो वर्ष राम्रो मुल्य नपाउँदा किसानलाई लगानी उठाउन समेत कठिन हुने भएको छथर जोरपाटी गाउँपालिका ४ तेलियाका प्रदिप ओझाले बताए । । गत वर्ष ३ सयदेखि ४ सय रुपैयाँसम्ममा अकबरे बेचेका किसान यो वर्ष १ सय देखि १ सय ५० रुपैयाँसम्मा बिक्रि गर्न बाध्य भएको ओझाको भनाइ छ ।

उनले ५ रोपनी क्षेत्रफलमा करिब ३ हजार बोट अकबरे लगाएको तर, निकै कम मूल्यमा बेच्नु परेको बताएका छन् । उत्पादन भएको बढी भएपछि बजार मुल्य घटेको हो कि भन्ने अनुमान उनको रहेको छ । अझ अकबरे खोर्सानी कै नाममा विभिन्न प्रजाती बजारमा आएकाले वास्तविक अकबरेको बजार मूल्य नपाएकाले कृषक मारमा परेको ओझाले बताए ।

बाँदर, दुम्सी, बँदेल लगायतका जंगली जनावरको आक्रमणले अरु खेती जोगाउनै मुस्किल भएपछि वैकल्पिक खेतीका रुपमा अकबरे खुर्सानी खेतीतर्फ लागेका किसान घट्दो बजार मूल्यले चिन्तित बनेका हुन् । अकबरे खोर्सानीमा खेती गर्ने किसान बढेपछि उत्पादन वृद्धि हुँदै जाँदा उचित मूल्य नपाउँदा किसानलाई लागत उठाउनै मुस्किल परेको हो ।

गएका वर्षहरुमा अकबरे खोर्सानीको बजार राम्रो थियो, घरैमा आएर व्यापारीले खरिद गर्ने गरेका थिए । अहिले उत्पादन भए पनि मुल्य नभएको किसानले गुनासो गर्दै आएका छन् । पछिल्लो समय अकबरे खेती विस्तार र बजारीकरणका लागि कसैले वास्ता नगरेपछि वर्षेनी कृषि उत्पादनको बजार मूल्यमा समस्या सिर्जना हुँदै गएको किसान बताउँछन् ।

अकबरे खोर्सानीको बजार जेठदेखी शुरु हुन्छ । गएका बर्षमा उत्पादन पनि राम्रो र बजारभाउ पनि राम्रो थियो तर यस बर्ष भने उत्पादन भएपनि उचित मुल्य नपाएको कृषकको भनाई रहेको छ ।

अकबरेको खोर्सानीले बजार मुल्य नपाउँदा मारमा परेको पाख्रीबास नगरपालिका–७, का किसान भूपाल थापाले बताए । मुल्य नपाएकाले खेती नै संकटमा पर्ने हो कि चिन्ता थपिएको उनको भनाइ छ । थापाले करिब ४ रोपनी क्षेत्रफलमा अकबरे खोर्सानी लगाएको र हाल प्रति केजी १ यस ५० रुपौयाँले विक्रि गरेको बताए ।

गएको बर्ष भन्दा यस बर्ष बजार मूल्य नपाउँदा धेरै मारमा परेको थापाले बताए । अकबरे खोर्सानी एकपटक रोपेपछि पहिलो वर्ष सामान्य उत्पादन हुन्छ । दोस्रो वर्ष राम्रो उत्पादन हुन्छ र तेस्रोदेखि पाँचौँ वर्षसम्म पनि उत्पादन हुन्छ । जिल्लाका धेरै किसानले यसको व्यावसायिक खेती गर्न थालेका छन् । जंगली जनावरबाट कम क्षति हुने तथा थोरै मेहनत र थोरै लागतबाटै मनग्ये आम्दानी गर्न सकिने भएपछि किसानले खाद्यान्न बाली छाडेरै अकबरे खुर्सानीको खेती थालेका हुन् ।

किसानले खेती विस्तार गरेपछि स्थानीय सरकार र प्रदेश सरकारले प्रशोधन र भण्डारणका लागि कुनै सहयोग नगरेको किसानको गुनासो छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार धनकुटामा करिब ८० हेक्टर क्षेत्रफलमा किसानले व्यवसायिक रुपमा अकबरे खोर्सानीको खेती गर्दै आएका छन् । धनकुटामा आर्थिक वर्ष २०८०–०८१ मा ८५ हेक्टर क्षेत्रफलमा ९ सय ७३ दशमलब १५ मेट्रिक टन उत्पादन भएकोमा गत आर्थिक वर्षमा ८ सय मेट्रिक टन अकबरे खोर्सानी उत्पादन भएको ज्ञान केन्द्रका सुचना अधिकारी रत्न ठाडा मगरले जानकारी दिए ।

अकबरे खोर्सानीको बजारका लागि स्थानीय तथा प्रदेश सरकारले अचार उद्योग बनाउन सहयोग गर्नुपर्ने किसानको माग छ । यस्तै उत्पादनमा उतारचढाप हुँदा मूल्यमा पनि उतारचढाप हुने हुँदा स्थानीय सरकार तथा प्रदेश सरकारले दीर्घकालिन योजना बनाउनु पर्ने किसानको माग छ । अकबरे खोर्सानी खेती गर्ने किसानको संख्या बढ्दै जाँदा सरकारले प्राबिधीक परामर्श, बिउबिजन उपलब्त्र र किसानले राम्रो मूल्य पाउने व्यवस्था हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

epaper

ताजा समाचार

वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध