मुख्यमन्त्री नियुक्तिको विरोधमा जनकपुर तनावग्रस्त

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पदभारग्रहण गर्ने कार्यक्रम सार्वजनिक भएसँगै जनकपुरधाम तनावग्रस्त बनेको छ । मुख्यमन्त्री नियुक्तिको विरोधमा उत्रेका विपक्षी राजनीतिक दलसम्बद्ध कार्यकर्ताले यहाँस्थित विभिन्न मन्त्रालयका फर्निचरलगायतका सामग्री तोडफोड गरेका छन् । उनीहरूले प्रदेशअन्तर्गतका मन्त्रालयहरूमा तालाबन्दी गरेका छन् ।

यसैगरी बजारका विभिन्न ठाउँमा टायर बालेर विरोध प्रदर्शनमा उत्रेका विपक्षी नेता तथा कार्यकर्ताहरू प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र नवनियुक्त मुख्यमन्त्री यादवको विरोधमा नाराबाजी गरिरहेका छन् । आज बिहानै प्रदेश प्रमुख भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको खबर सार्वजनिक भएसँगै जनकपुरधाममा विरोध प्रदर्शन भएको हो ।

यसैबीच लोसपा प्रदेश संसदीय दलका नेता जेनुल राइनले मुख्यमन्त्री नियुक्तिमा प्रदेश प्रमुख भण्डारीको भूमिका शङ्कास्पद भएको आरोप लगाउँदै मुख्यमन्त्री नियुक्तिको राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने बताए । यता, जिल्ला प्रशासन कार्यालय धनुषाले संयमित भई विरोधका कार्यक्रम गर्न आग्रह गरिहेको, तनावको वातावरण अन्त्य गर्न अधिकतम प्रयास गरिरहेको र मानवीय तथा भौतिक क्षति हुन नदिन संयम अपनाइरहेको स्पष्ट गरेको छ ।

कर्मचारीमाथि समेत कुटपिट
मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर असन्तुष्ट दलका नेता–कार्यकर्ताले सरकारी कर्मचारीमाथि समेत हातपात गरेका छन् । मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारीहरूमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ ।

तोडफोडमा उत्रिएको समूहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बढुवा शाखामा कार्यरत नायब सुब्बा (नासु) पंकज यादवलाई कुटपिट गरेको हो । उनले रेकर्ड फाइल जोगाउने प्रयास गर्दा केही व्यक्तिहरुले उनलाई कुटेका थिए ।

घटनाका क्रममा यादवको हातबाट फाइल खसेको थियो भने अर्को कर्मचारीले उनलाई भीडबाट फुत्काएर कोठा बाहिर निकालेका थिए । मुख्यमन्त्री नियुक्तिको विवादले मधेशमा स्थिति थप उग्र बनेको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड भएको छ भने असन्तुष्ट नेता–कार्यकर्ताले मधेश भवन अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

epaper

ताजा समाचार

विशेष महाधिवेशनवारे गगन पक्ष कानुनी परामर्शमा