मधेश प्रदेशमा आ–आफ्नै डम्फू

वीरगन्ज । लोकतन्त्रको संस्थागत विकासका लागि आफूले मुख्यमन्त्री पद स्वीकार गरेको मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले दावी गरेका छन् । मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी उनले आफू वर्तमान संविधान अनुसार मुख्यमन्त्री बनेको पनि दावी गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभामा सबैभन्दा ठूलो राजनीतिक दल भएकाले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री भएको उनको दावी छ । उनले मधेसका समस्या समाधान गर्न सबै राजनीतिक दलको सहयोग आवश्यक भएको पनि बताएका छन् । संचारकर्मीसँग मधेसका समस्या समाधान गर्न पद स्वीकार गरेको भन्दै मुख्यमन्त्री यादवले विध्वंसात्मक गतिविधि त्याग्न सबै सम्बद्ध पक्षलाई अनुरोध समेत गरेका छन् । त्यसैगरी संचारकर्मीहरुसँग पनि वस्तुनिष्ठ समाचार सम्प्रेषण गर्न मुख्यमन्त्री यादवको अनुरोध छ ।

नियुक्ति प्रकृयामा प्रश्न
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवको नियुक्ति प्रकृया असंंवैधानिक भएको भनी पर्साका विभिन्न पाँच राजनीतिक दलका जिल्लातहका नेताले ध्यानाकर्षण भएको भनी संयुक्त विज्ञप्ती सार्वजनिक गरेका छन् । सो विज्ञप्तीमा मधेश प्रदेश प्रमुख सावित्रा सुवेदी भण्डारीले विरामीको बहाना गरी सुनियोजित ढंगले नियुक्ति दिई कटेजमा मुख्यमन्त्रीलाई सपथ खुवाउनु संविधानको भावना विपरित र लज्जाबोध भएको जनाइएको छ । लोकतन्त्र र संघीयता माथि प्रहार गरिएको कार्यको विरोधमा सबैलाई एकजुट हुन पनि विज्ञप्ती मार्फत पाँच राजनीतिक दलका नेताहरुले आग्रह गरेका छन् ।

संयुक्त विज्ञप्तीमा जनता समाजवादी पार्टी नेपालका पर्सा अध्यक्ष रामनरेश यादव, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश शर्राफ, लोसपा पर्सा अध्यक्ष रामचन्द्र पडित, नेकपा एकिकृत समाजवादी पार्टीका वीरगन्ज महानगर इन्चार्ज मनोज चौधरी र राष्ट्रिय मुक्ति पार्टी पर्साका अध्यक्ष राजेश कुमार साहले हस्ताक्षर गरेका छन् ।

जनमतको एक्सन मत
मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवको नियुक्ति असंवैधानिक भएको भन्दै जनमत पार्टी पर्साले भने मंगलबार बिहान वीरगन्जमा प्रदर्शन समेत गरेको छ । असंवैधानिक रूपमा नियुक्त गरिएका मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न र तत्कालीन प्रदेश प्रमुख सावित्री सुवेदी भण्डारीलाई कारवाही गर्न माग गर्दै जनमत पार्टीका स्थानीय नेता कार्यकर्ताहरूले प्रदर्शन गरी दवाव दिएका छन् ।

उनीहरुले वीरगन्जको घण्टाघर चोकमा टायर बालेर नाराबाजी समेत गरेका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच सामान्य धकेलाधकेल पनि भएको थियो । विरोध प्रदर्शनलाई जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले संबोधन गर्दै संघीयताको आधारभूत भावना र मधेसको अधिकारमाथि प्रहार नगर्न चेतावनी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल लाइफ इन्स्योरेन्स उपशाखा बिस्तार