काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को जारी खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएका म्याचमा दुवै टिमले तेस्रो जित निकालेका हुन् ।
दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको हो । कप्तान दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिएपछि एनपीएल दोस्रो संस्करणमा सुदूरपश्चिमले कर्णालीलाई ४५ रनले पराजित गरेको हो ।
१ सय ४० रनको लक्ष्य पछ्याएको कर्णाली ५ बल बाँकी हँुदैै ९४ रनमा अलआउट भयो । कर्णालीका लागि पवन सर्राफले २७ र मार्क वाटले १७ रन बनाए । कप्तान सोमपाल कामी र पवन सर्राफले ३४ रनको साझेदारी गरे पनि लगातार विकेट जाँदा कर्णाली कमजोर देखियो ।
कर्णालीलाई अलआउट गर्न सुदूरपश्चिमका कप्तान ऐरीले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । हर्मित सिंहले ४ ओभरमा १ मेडन राख्दै १९ रन मात्र खर्चेर २ विकेट लिए भने अविनाश बोहराले २ विकेट लिए ।

सोमबार भएको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगर किंग्सले लगातार तेस्रो जित निकालेको हो ।
टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रनको लक्ष्य दिएको थियो । लक्ष्य भेट्न नसकेको जनकपुरले ९ विकेटको क्षतिमा १ सय २६ रन मात्र बनायो ।
जनकपुरका लागि जान निकोल इटनले ३० बलमा ४ चौका र १ छक्कासहित ४१ रन बनाए । ओपनर लाहिरु मिलान्थाले २२ बलमा २ चौका र एक छक्कासहित २३, संजय कृष्णमुर्तीले १२ बलमा ३ चौका र १ छक्कासहित २० रन बनाए ।
विराटनगरका स्पिनर कप्तान सन्दीप लामिछानेले ४ तथा सूर्य तामाङले २ विकेट लिएका थिए । सन्दीपले ४ ओभरमा मात्र ११ रन खर्चिए । सुभम रन्जने र मार्चन्ट डी लिग्नेले १–१ विकेट लिए ।
पहिलो इनिङ्समा विराटनगरका लागि सुभम रन्जनेले सर्वाधिक ३७ रन बनाए । बसिर अहमदले ३६ तथा रुपेश सिंहले ३५ बलमा ३ छक्कासहित ३६ रन बनाए । रन्जने र बसिरबीच चौथो विकेटका लागि ५० बलमा सर्वाधिक ५२ रनको साझेदारी भएको थियो ।
जनकपुरका रुपेश सिंह र सन्गिथ कुरेले समान २ विकेट लिएका थिए । आदित्य महताले १ विकेट लिए ।
विराटनगरले पहिलो खेलमा पोखरालाई ५३ रनले र दोस्रो खेलमा काठमाडौंलाई ५ विकेटले पराजित गरेको थियो ।
सम्बन्धित समाचार
सिद्धार्थ बैंक एनपीएलको दोस्रो संस्करणमा पनि एनसेलको सहकार्य
सिद्धार्थ बैंक एनपिएल : आज जनकपुर र काठमाडौं भिड्दै
कीर्तिमानी रनसहित विराटनगरको रोमाञ्चक जित
ठूला खेलमैदान आयोजनाको काम सुस्त
सुदूरपश्चिमको सानदार सुरुवात
लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खड्कालाई
राजगढमा दोश्रो संस्करणको अध्यक्ष कप सुरु






