१० करोडको लागतमा किबी उद्योग सञ्चालनमा

धनकुटा । धनकुटा महालक्ष्मी नगरपालिका वडा नं. २ तोरीबारीमा करिब १० करोड बढीको लगानीमा किबी वाइन उद्योग सञ्चालनमा आएको छ। व्यवसायी दुर्गामणी पौडेलको लगानीमा स्थापना भएको वाइन उद्योगले उत्पादन सुरु गरेको हो। वि. स. २०५४ सालमा तोरीबारीबाट बसाँइ सरेको दुर्गामणी पौडेलले २० वर्षपछि वि.स. २०७४ सालमा गाउँ फर्केर बसन्तपुर तिनजुरे बेभरेज प्रालि सञ्चालनमा ल्याएका हुन्।

प्रालिले तिनजुरे किबी उद्योग सञ्चालनमा ल्याएर तिनजुरे बगान वाइन उत्पादन सुरु गरेको हो। प्रालिले करिब १०० रोपनी क्षेत्रफलमा रहेको खेतीबाट उत्पादित तथा आसपासका किसानको ५०० रोपनीमा उत्पादन हुने किबी र छिमेकी जिल्लाहरु इलाम, पाँचथर, संखुवासभाबाट किबी खरिद गरेर उत्पादन थालेको हो। प्रालिको १०० रोपनी क्षेत्रफलमा मन्टी, एडिसन, एवार्ड जातको किबी रहेका छन्। वार्षिक ३ लाख लिटर उत्पादन क्षमता रहेको किबी उद्योगबाट वार्षिक ३० करोडको कारोबार हुने बताइएको छ।

उद्योगले उत्पादन क्षमता वार्षिक ३ लाख लिटरबाट ५ लाखसम्म पु¥याउने तथा वार्षिक ३० करोडको कारोबारबाट ५० करोड रुपैयाँको कारोबार पु¥याउने लक्ष्य राखेको छ। जन्मस्थानबाट बसाँइ सरेपछि काठमाण्डौमा रहेको माउण्टेन मल्टिपल ट्रेनिङ सेन्टरबाट धेरैलाई रोजगारी सिर्जना गरेको भएपनि जन्मस्थानमा केही गर्ने सोचले प्रालि सञ्चालनमा ल्याएको सञ्चालक पौडेलले बताए।

उद्योगले ल्याव टेष्ट गरेर अर्गानिक किबी खरिद गरेर अर्गानिक वाइन उत्पादन सुरु गरेको छ। क्षमता अनुसार उद्योग सञ्चालनमा आउन वार्षिक ५ सय टन किबी आवश्यक पर्ने हुँदा अहिले कम मात्रामा उत्पादन भइरहेको छ। ३ वर्षभित्र उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी छ। उद्योगको किबी उत्पादन हाल १० टन रहेकोमा किबी विस्तार भइरहेकोले ७० टनसम्म पुग्ने लक्ष्य रहेको लिएको पौडेलले बताए। उद्योगले लेबल, स्ट्रीकर राखेर ७ सय ५० मिलिको बोतलमा वाइन उत्पादन थालेको हो। उद्योग र किबी बगानमा नियमित ५ जना र सिजन अनुसार १५ देखि २० जनाले रोजगार पाएका छन्।

गत वर्ष किसानबाट ८० रुपैयाँ प्रति केजी र यो वर्ष बी र सी ग्रेडको किबी ५० रुपैया प्रति केजीमा उद्योगले बारीबाट खरिद गरेको छ। जसले गर्दा किबी किसानलाई बजारको समस्या हटेको किसान तिलबहादुर पौडेलले बताए। पहिले किबी उत्पादन गरेर धनकुटा बजार सहित धरान विराटनगर तथा काठमाण्डौसम्म पु¥याउनु पर्ने भएपनि अहिले गाउँमै उद्योगले सहज भएको किसानको भनाइ छ।

जग्गा, किबी खेती र उद्योगमा १० करोड रुपैयाको लगानी भइसकेको प्रालिलाई कृषि मन्त्रालयले वि.स. २०८० मा २५ लाख, विश्व बैंकको सहयोगमा आर्थिक करिडोर कार्यालयले मेसिन खरिदमा ७० लाख रुपैयाँ अनुदान सहयोग गरेका छन्। जसबाट २ करोड रुपैयाँको क्रसिङ मेसिन, ज्याकेटेड मेसिन खरिद गरिएको छ।

किबी उद्योगले किसानलाई सहज बनाएकोले महालक्ष्मी नगरपालिकाले योजना बनाएर सहयोग गर्ने वडा नं. २ का वडाअध्यक्ष पदमराज रखाल मगरले बताए। महालक्ष्मीको तोरीबारी गाउँमा रहेका ६० घरपरिवारले उत्पादन गर्दै आएका किबी बिक्रीका लागि सहज भएकाले उद्योगलाई सहयोग गर्न नगरपालिका तयार रहेको र योजना बनाउँदै गरेको मगरको भनाइ छ। महालक्ष्मी नगरपालिकाले तोरीबारीलाई किबी पकेट क्षेत्र समेत घोषणा गरेको उनको भनाइ छ।

वाइन उद्योगले अन्त शुल्क वापत ३८० रुपैयाँ प्रति लिटर राजस्व तिदै आएको छ। कृषकको उत्पादनसँग जोडिएको उद्योग भएकाले कर छुट हुनुपर्ने तथा उद्योगमा सडक र जनशक्तिको अभाव भइरहेकोले सडक समस्या समाधानका लागि ठोस पहल हुनुपर्ने उद्योगीको माग छ। उद्योगले केही वर्षमा अन्तरराष्ट्रिय बजारमा चिनाउँदै तिनजुरे बगान वाइन खाडी मुलुकसम्म वाइन बिक्रि गर्ने योजना बनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा जेन्जी युवा र युवा संघबीच झडप