राजविराज । समुदायलाई सशक्त बनाउने तथा दिगो विकासलाई बढाबा दिने प्रमुख लक्ष्यका साथ विभिन्न सामाजिक गतिविधि गर्दै आएको जनतेचना अभियान नेपालले आफ्नो चौथो बार्षिक साधारणसभा भव्यतापुर्वक मनाएको छ ।
शनिवार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी सो संस्थाले आफ्नो चौथो बार्षिक साधारणसभा मनाएको हो ।
साधारणसभाको प्रमुख अतिथि निवर्तमान महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले उद्घाटन् गरेका छन् ।
सो अवसरमा उनले नाम अनुसारको काम गरेर जनचेतना अभियान नेपालले समाज परिवर्तन र प्रवद्र्धनमा ठुलो योगदान गरेको बताए ।
उनले समाजमा छोरा र छोरी प्रति विभेद तथा छोरी र बुहारी प्रति गरिने फरक व्यवहारले विकृती बढाएको भन्दै यसतर्फ पनि सचेतना आवश्वयक रहेकोमा जोड दिए । आफू अहिले मन्त्री पदमा नहुँदा पनि समाजमा सकारात्मक परिवर्तनका लागि गरिने हरेक क्रियाकलापमा साथ रहने उनको भनाई थियो ।
आफूलाई कुनैबेला मन्त्री बनाएर पठाएका जनतालाई कहिले नविर्सिने भन्दै उनले पदमा रहे–नरहेपनि सधै जनताको सेवक भई काम गर्ने प्रतिवद्धता पनि जनाए ।
२०७६ सालमा सप्तरीका समर्पित अभियन्ताहरुको समुहद्वारा स्थापित संस्थाले प्रमुख लगानीकर्ता सेभ द चिलड्रेन र एनसिइ नेपालको सहयोगमा हाल ६ वटा परियोजना जिल्लामा सञ्चालन गरिरहेको र त्यसबाट दलित, महिला, बालबालिका तथा सिमान्तकृत समुह सहित २ हजार ६ सय भन्दा बढी व्यक्ति लाभान्वित भएको संस्था की कार्यकारी निर्देशक जुही कुमारी ठाकुरले बताईन् ।
उनैद्वारा प्रस्तुत बार्षिक प्रगति प्रतिवेदनमा समुदायलाई सशक्त बनाउन र दिगो विकासलाई बढाबा दिने प्रमुख लक्ष्यका साथ अघि बढेको संस्थाले आ.ब.२०८१–०८२ मा बालअधिकार, महिला सशक्तिकरण, वास, जेष्ठ नागरिक हेरचार र जिविकोपार्जन अभिवृद्धि लगायातको क्षेत्रमा थुप्रै कार्यक्रमको आयोजना गरेको उल्लेख छ । यसै अवधीमा तातोलहर सुरक्षा तयारी योजना र पहुँच परियोजनाको एफएसटिपी परियोजनामा मार्फत हनुमाननगर कंकालिनी नगरपालिका र तिरहुत गाउँपालिकामा सचेतना कार्यक्रम अभियानको रुपमा चलाइएको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका अध्यक्ष तरुण कुमार साहको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ता, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव, हनुमाननगर कंकालिनी नगरपालिकाका उपप्रमुख सरिता सिपलिया यादव, जनस्वास्थ्य अधिकृत डम्बरलाल यादव, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्ण, सामाजिक अभियन्ता सतिश कुमार दत्त, महदेवा गाउँपालिकाका उपाध्यक्ष अर्चना कुमारी यादव, वडाध्यक्ष रामलखन यादव लगायतकाले शुभकामना दिएका थिए ।
कार्यक्रममा संस्थाको तर्फबाट जनता अधारभूत विद्यालय इनर्वा, महाविर माध्यमिक विद्यालय हनुमाननगर तथा मधवापुर माध्यमिक विद्यालयका ३० जना छात्राहरुलाई हाइजिंग किट (सरसफाई सामग्री) वितरण गरिएको थियो ।






