वीरगन्ज । मुलुक भित्र प्रतिवन्धित तयारी अवस्थाको भारी लागु औषध ट्रमाडोल हाइड्रोक्लोरिड क्याप्सुल आइपीसहित चारजना जेनजी पर्सामा पक्राऊ परेका छन् । नेपालमा उत्पादन नभएको ७६ हजार १ सय ७० थान प्रतिवन्धित तयारी लागु औषध ट्यावलेट सहित पर्साका दुई र धादिङ जिल्लाका दुई जेनजी यहाँ पक्राउ परेका हुन् ।
चाँडो सम्भ्रान्त बन्ने र अरुको देखासिखी गर्ने मनसुवाले मुलुकभित्र ओसार‐पसार र विक्री वितरण गर्न नपाईने प्रतिवन्धित लागु औषध ओसार‐पसार गर्दैगर्दा उनीहरु पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ । भिआइपी व्यक्ति झैं गरी सुटकेशमा प्याक गरेर वीरगन्जको बसपार्कबाट बाहिरिदै गरेको इभी गाडीमा सवार दुई युवालाई रित पु¥याई चेकजाँच गर्दा उनीहरुले बोकेको सुटकेश भित्र ६० हजार ५ सय ३० थान सो क्याप्सुल सहित दुई जना युवा पक्राउ परेको पर्साका प्रहरी उपरिक्षक सुदिपराज पाठकले बताए । त्यसै गरी उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा डेरा भाडामा लिई बस्ने र लागु औषध ट्रमाडोल लुकाई छिपाई राखेको एक कार्टुन अर्थात १५ हजार ६ सय ४० थान गरी कुल ७६ हजार १ सय ७० थान सहित अन्य दुई युवालाई पनि पक्राउ गरिएको उनको भनाइ छ ।
दुई पर्सा र दुई धादिङका युवा
पक्राउ पर्ने जेनजी समूहका युवा वीरगन्ज महानगरपालिका वडा २४ रामगढवाका २० वर्षीय युवराज पटेल र २१ वर्षीय अफजल देवान रहेका छन् । त्यसैगरी धादिङ जिल्ला वेनिघाट रोराङ ६ का १९ वर्षीय रामहरि मगर तथा सिदलेख गाउँपालिका ७ का १९ वर्षकै राजकुमार मगराती रहेको पनि पर्सा प्रहरीले पुष्टि गरेको हो । अभियुक्तहरुसँगको प्रारम्भ्कि अनुसन्धानले नेपालमा उत्पादन नहुने तयारी अवस्थाको लाुग औषध छिमेकी मुलुकबाट ल्याएको खुलेको छ । उनीहरु भरिया मात्र हुन् कि ? कारोवारी समेत हुन् भन्ने अहिले नै बताउन नसकिने पर्साका प्रहरी प्रवक्ता राजु कार्कीले बताए । यो उमेरमा नै यत्रो भारी परिमाणको लागु औषध ओसार‐पसारमा युवा संलग्न हुनु राम्रो संकेत नभएको उनको तर्क छ ।

‘स्टान्डर’ जस्तो देखिने गरी बागमती प्रदेश ०८‐००१ ज ०११७ नम्बरको इभी गाडीमा सुटकेश बोकेर सवार युवाहरुलाई बिशेष सूचनाको आधारमा नियन्त्रणमा लिन सकिएको प्रहरीको भनाइ छ । पटके हुन् या कारोवारी के हुन् ? भन्ने सवालको पनि अनुसन्धान पछि निष्कर्षमा पुग्न सकिने पर्सा प्रहरीले संकेत गरेको छ ।
पहिलो घटना भने होइन
मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज भएर जेन्जी समूहका उक्त चार युवा पक्राउ परेको घटना पहिलो भने होइन । यो नाका र आसपास भएर वर्षेनी सयौं युवा प्रहरीको फन्दामा पर्ने र कानूनी दायरामा फस्ने गरेको प्रहरीको तथ्याँकले पुष्टि गरेको छ । यो क्रम अझ तिब्र हुनुले चिन्ता थपिएको पर्सा प्रहरीको निस्कर्ष छ । पर्सा जिल्लामा मात्रै पनि लागु औषध ओसार‐पसार र कारोवारमा संलग्न भई प्रहरी नियन्त्रणमा पर्ने अधिकाँश युवा हुनु झन चुनौति भएको प्रहरीको भनाइ छ । यसले व्यक्ति, परिवार, समाज र देशका लागि झन टाउको दुखाई भएको पर्साका प्रहरी उपरिक्षक पाठकले बताए ।
प्रहरीको आँखा छली भित्रिने तयारी अवस्थाको प्रतिवन्धित लागु औषधले भन्दा अझ भयावह अवस्था प्रहरीको आँखा छली हुने परिमाणले चुनौति थपिएको स्थानीय बुद्धिजिबीहरुको तर्क छ । खुल्ला सीमा भएको मुलुकमा अनेक तरहले प्रहरीको आँखा छली ओसार‐पसार नहोला भन्न सकिन्न । प्रहरीले पक्राउ गरेको व्यक्ति र परिणामको यत्रो तथ्याँक छ । यसले अझ मुलुकमा चिन्ता बढाएको उनीहरुको भनाइ छ ।
१९ वर्षदेखि फरार अभियुक्त पनि पक्राऊ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ५४ वर्षीय विनोद पटेल भन्ने विनोद प्रसाद कुर्मी १९ वर्षपछि बल्ल प्रहरीको नियन्त्रणमा परेका छन् । २०६३ साल असोज ५ गने अन्दाजी १०.४५ बजे पर्साको साविक लिपनीविर्ता गाविस ८ पटेलनगर बस्ने २३ वर्षीय सुरेश भन्ने राम प्रसाद पटेललाई कर्तव्य गरी फरार रहेका उनी बल्ल पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ । मृतकलाई स्थानीय सिर्सिया नदीको डिलमा पु¥याई निर्घात कुटपिट गरी कर्तव्य गरी मारेर फरार रहेको मुद्दामा उनी फरार रहेकै अवस्थामा वीरगन्ज महानगरपालिका २१ स्थित सडकखण्डबाट फक्राउ परेको पर्साका प्रहरी नायव उपरिक्षक कार्कीले बताए । पक्राउ परेका अभियुक्तलाई पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
कर्तव्य ज्यान सम्बन्धी मुद्दामा १९ वर्ष फरार रहने मुलुकमा लागु औषध कारोवारी र प्रयोगकर्ताको संख्या न्यूनिकरण गर्न सुरक्षा संयन्त्रलाई पनि सबैले साथ नदिए नेपाली समाज अध्यारो दिशातर्फ जाने स्थानीय बुद्धिजिबीको तर्क छ ।






