काठमाडौं । कलाकार तथा निर्देशक माओत्से गुरुङले आफ्नो निर्देशनमा नयाँ चलचित्र ‘पेन्सन पट्टा’को छायांकन सुरु गरेका छन् । बिहीबार यो चलचित्रको मुहूर्त गर्दै कास्की जिल्लाको ताङतिङ गाउँबाट छायांकन सुरु गरिएको निर्देशक गुरुङले राजधानीलाई जानकारी गराए । यो चलचित्रको ३५ दिनसम्म त्यहाँका सुन्दर दृश्य खिचेर छायांकन सक्ने लक्ष्य आफूले लिएको पनि उनले जनाए ।
दुई महिना अघि नै यसको छायांकन गर्ने भनिए पनि आफू र अभिनेता दयाहाङ राई चलचित्र ‘कबड्डी ५’को छायांकनमा रहेकाले सो चलचित्रको छायांकन सकेर बल्ल ‘पेन्सन पट्टा’ सुरु गरेको पनि निर्देशक माओत्से गुरुङले जानकारी गराए ।
यो चलचित्रमा दयाहाङसँगै सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली योङहाङ राई लगायतका कालाकारको अभिनय छ । झट्ट सुन्दा भूतपूर्व लाहुरेको कथा जस्तो लागे पनि लोभी केटा कसरी दानी बन्छ भन्ने कुरा यो चलचित्रले देखाउने पनि निर्देशक तथा निर्माता गुरुङले बताए ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्रको कथा पनि माओत्सेकै हो । यसको छायांकारमा सुशन प्रजापति, कास्टिङ निर्देशनमा सुरज तमु छन् । चलचित्रमा झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइलीको संगीत रहेको छ ।






