सिरहा । जनमत पार्टीका नेता वीरेन्द्रप्रसाद साहले पार्टी परित्याग गर्दै प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)मा प्रवेश गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत आज साहले जनमत परित्याग गरेको र आजपामा प्रवेश गरेको घोषणा गरेका छन् ।
सिरहाका प्रभावशाली नेता साहले राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र बचाउन नेपाली जनताको आशा र भरोसाको केन्द्र आजपा नै रहेको निष्कर्ष सहित सो पार्टीमा प्रवेश गरेको घोषणा गरेका हुन ।
‘जनमत पार्टीको साधारण सदस्य समेत नरहने गरी आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ’, साहले आफ्नो फेसबुकमा लेखेका छन् ।
जनमत केन्द्रीय परिषदका सदस्य रहेका साहले २०७९ को निर्वाचनमा सिराहा–४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए । १६ हजार २९४ मत ल्याएका साह दोस्रो भएका थिए । साहले यो बीचमा आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहसँग भेटवार्ता गरेका थिए ।
यसअघि हालै सिरहा क्षेत्र नं. २ को ख बाट मधेस प्रदेश सभाका प्रत्यासी एवं जनमत पार्टीका नेता बिनोद चौधरी, गोलबजार नगरपालिकाका मेयर प्रत्यासी एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता रामऔतार यादव सहितका नेताहरु आजपामा प्रवेश गरिसकेका छन् ।
बुधबार चर्चित अभिनेत्री एवं समाजसेवी एलिजा गौतम आजपामा प्रवेश गरिसकेकी छन् । यसैगरी जनमत पार्टी परित्याग गर्दै कार्यकारिणी समिति सदस्य सुनिल यादव, केन्द्रीय सदस्य सियाराम जयसवाल, केन्द्रीय सदस्य विनोद यादव, सांस्कृतिक जनमत संघका केन्द्रीय सदस्यद्धय दिपक बैठा, रामबाबु यादवले समेत आजपा प्रवेश गरिसकेका छन् ।
गत साता जनमत पार्टीका केन्द्रीय सदस्यहरु विक्रमबहादुर बम, उदयपुर जिल्ला इन्चार्ज पुष्पराज भण्डारी, तिलक भण्डारी सहितका नेताहरु आजपामा प्रवेश गरेका थिए । पछिल्लो समय पुस मसान्त भित्रै विभिन्न पार्टी परित्याग गर्दै सयौं भन्दा बढी नेताकार्यकर्ता, सामाजिक अभियन्ताहरुले आजपामा प्रवेश गरेका छन् ।






