काठमाडौं । आम जनता पार्टी (आजपा), जनादेश पार्टी र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा चुनावी तालमेल तथा सहकार्य गर्ने सहमति भएको छ।
आज भएको सहमतिअनुसार लघुवित्त संघर्ष समितिले आम जनता पार्टीको ‘मोबाइल’ चुनाव चिन्ह प्रयोग गरी निर्वाचनमा सहभागिता जनाउनेछ। अग्रगामी, सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिहरूसँग चुनावी सहकार्य गर्दै दीर्घकालीन वैकल्पिक राजनीतिक धार निर्माण गर्ने उद्देश्यसहित उक्त सहमति भएको बताइएको छ।
सहमति पत्रमा प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका उम्मेदवार आपसी सहमतिका आधारमा छनोट गरिने उल्लेख छ। साथै देशमा बढ्दै गएको भ्रष्टाचार, ठगी, कुशासन र राज्य संयन्त्रको दुरुपयोगका कारण आम नागरिकको जनजीवन कष्टकर बन्दै गएको यथार्थलाई आत्मसात गर्दै संयुक्त रूपमा अगाडि बढ्ने प्रतिबद्धता जनाइएको छ।
लघुवित्त कम्पनी तथा संस्थाबाट भएका गलत र अमानवीय गतिविधिविरुद्ध एकजुट भएर आवाज उठाउने सहमति पनि भएको छ। अत्यधिक तथा मनोमानी ब्याजदर, अनैतिक ऋण असुली र ग्राहकहरूमाथि गरिएका दुव्र्यवहारका कारण लाखौँ नागरिक आर्थिक, मानसिक र सामाजिक शोषणमा परेको भन्दै बैंक तथा वित्तीय संस्थाबाट ठगिएका पीडितहरूको न्यायका लागि संघर्षलाई निर्णायक चरणसम्म पुर्याउने उल्लेख गरिएको छ।
सहमति अनुसार कानुनी, राजनीतिक र जनदबाबका माध्यम अपनाउँदै साझा मोर्चा निर्माण गरी संघर्षलाई प्रभावकारी बनाइनेछ। “राजनीतिक अस्थिरता, कुशासन र वित्तीय शोषण अन्त्यका लागि सडकबाट सुरु भएको जनसंघर्षको आवाजलाई संसदसम्म पुर्याउँदै राज्य संयन्त्रलाई जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गर्दछौँ,” सहमति पत्रमा भनिएको छ।
त्यस्तै सूचना प्रविधिको वर्तमान युगमा सबैभन्दा चिनिने र लोकप्रिय आजपाको ‘मोबाइल’ चुनाव चिन्ह लघुवित्त संघर्ष समितिले प्रयोग गर्ने र आफ्ना मुद्दामा स्वतन्त्र रूपमा प्रचार गर्न पाउने विषयमा पनि सहमति भएको छ। निर्वाचनमा एक–अर्कालाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
सहमति पत्रमा आजपाको तर्फबाट अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह, तिलक थापा मगर, त्रिभुवन साह र चन्द्रभूषण साह, जनादेश पार्टीको तर्फबाट अध्यक्ष रमण कर्ण, तथा संघर्ष समितिको तर्फबाट पुनाराम ज्ञवाली (मनिराम), अगस्त अधिकारी, मनीप्रसाद चौलागाईं, अर्जुन विश्वकर्मा र आशा सञ्जेललगायतले हस्ताक्षर गरेका छन्।






