अस्ताए ‘प्रथम नेपाली ओलम्पियन’ नामसिंह

काठमाडौं । अग्रज बक्सिङ खेलाडी नामसिंह थापाको निधन भएसँगै नेपाली ओलम्पिक इतिहासले सुनौलो नक्षत्र गुमाएको छ । ‘प्रोस्टेट क्यान्सर’पीडित उनको ८० वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो ।

६१ वर्षअघि नामसिंहले जापानको टोकियोमा सम्पन्न १८औं गृष्मकालीन ओलम्पिकमा नेपालको तर्फबाट पहिलो सहभागिता जनाएका थिए । उनै अग्रज खेलाडीको हङकङस्थित हेवन अफ होप अस्पतालमा निधन भएको नेपाल बक्सिङ महासंघका उपाध्यक्ष किरणबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार हङकङबाट नेपाल आउ“दा बक्सिङ र खेलप्रति थापा निकै चासो राख्थे ।

स्याङ्जाको साविक मनकामना गाविसमा २१ माघ २००२ मा जन्मिएका नामसिंह केही वर्षदेखि ‘प्रोस्टेट क्यान्सर’बाट पीडित थिए । साविक मनकामना गाविस हालको विरुवा गाउँपालिकामा पर्छ । हङकङकै स्थायी वासिन्दा नामसिंहका काठमाडौं र बुटवल शान्तिनगरमा पनि घर छन् । आफ्नो स्वास्थ्यको असाध्यै ख्याल राख्ने नामसिंह करिब ६ महिनाअघि घरमै लडेपछि थलिएको उनका ज्वाँइ सुनिल बस्नेतले जानकारी दिए । ‘बिहान–साँझ दैनिक १–१ घण्टा हि“ड्ने, जाँडरक्सी नखाने र खानेकुरामा पनि असाध्यै केयर गर्ने हुनुहुन्थ्यो,’ उनले भने, ‘क्यान्सर देखिएपछि विस्तारै गल्दै जानुभयो, अझ ६ महिनाअघि लडेपछि त उहाँलाई घर अस्पताल गरिरहनुपरेको थियो ।’ स्वर्गीय थापाका एक छोरा र चार छोरी छन् ।

आगामी सेप्टेम्बरमा जापानको नागोयामा २०औं संस्करणको एसियाली खेलकुद हुँदै छ । नागोयाबाटै ३ सय ५१ मिलोमिटर दूरीमा रहेको टोकियोबाट नेपालले ओलम्पिकमा पाइला चालेको थियो । ओलम्पियन नामसिंह ‘टोकियो ओलम्पिक’मा नेपालबाट सहभागिता जनाउने चार बक्सिङ खेलाडीमध्ये एक थिए । सो ओलम्पिकमा एथ्लेटिक्सका २ र बक्सिङका ४ गरी ६ खेलाडीले भाग लिएका थिए । नेपाली ओलम्पिक इतिहास र बक्सिङ इतिहासका साक्षी तथा जीवित इतिहासका रूपमा नामसिंह थापालाई लिइन्थ्यो ।

मात्र १४ वर्षको उमेरमा बेलायती सेनामा ‘ब्वाय सोल्जर’का रूपमा भर्ना भएका उनले गोर्खा राइफल्समा कार्यरत रहँदा बक्सिङमा आफ्नो विशिष्ट पहिचान बनाएका थिए । जसका कारण उनले टोकियो ओलम्पिकमा भाग लिने मौका पाए । सहभागी ६ मध्ये बक्सिङ खेलाडी नामसिंहले नै ओलम्पिक उद्घाटन समारोहको मार्चपासमा नेपाली राष्ट्रिय झण्डा बोकेका थिए । उनले तत्कालीन राजा महेन्द्रको स्वीकृतिमा पहिलोपटक ओलम्पिकमा नेपालको झण्डा फहराउने सौभाग्य पाएका थिए । मार्चपासमा नेपाली झण्डा फहराउँदै अन्य खेलाडी पनि पछि–पछि सहभागी भएका थिए ।

हङकङमा गोर्खा सैनिकका रूपमा काम गरिरहँदा बक्सिङका टोकियोमा सम्पन्न १८औं ओलम्पिकमा भाग लिन गएका थिए । अब एथ्लेटिक्सका दुबै खेलाडी यो संसारमा छैनन् । नामसिंहको निधनसँगै बक्सिङका ४ मध्ये १ मात्र खेलाडी जीवित छन् । एक खेलाडी भिमबहादुर गुरुङ भारत भोपालमा भएको भनिए पनि सम्पर्कमा छैनन् । बक्सिङका ओमप्रसाद पुनको निधन भइसकेको छ । अब रामप्रसाद गुरुङले अहिले नेपालमै ‘रिटायर्ड’ जीवन बिताइरहेका छन् । हाल गुरुङ चितवन भरतपुर बरौजीस्थित आफ्नै घरमा श्रीमती लक्ष्मी गुरुङसँगै बसिरहेका छन् । गुरुङ नेपालको पहिलो ओलम्पिक सहभागीताका अब एकमात्र जीउँदो इतिहास बनेका छन् ।

एथ्लेटिक्सबाट टोकियो ओलम्पिकमा सहभागी भएका भूपेन्द्र सिलवाल र गंगाबहादुर थापाले यो संसारबाट बिदा लिइसकेका छन् । म्याराथन धावक ललितपुर गोदावरीका सिलवालको ७६ वर्षको उमेरमा ४ असोज २०६९ मा काठमाडौं छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा निधन भएको थियो भने अर्का धावक फर्पिङका गंगाबहादुरको ७६ वर्षकै उमेरमा ११ माघ २०६७ मा निधन भएको हो । त्यसो त, नेपालले ‘गृष्मकालीन ओलम्पिक’मा सहभागिता जनाएको ६१ वर्ष पूरा भइसकेको छ ।

६ दशकको इतिहासमा ८८ जनाले सहभागिता जनाइसकेका छन् । ‘कुनै तयारी र पूर्वाधारबिना सोझै ओलम्पिक खेल्न जानुपर्ने बाध्यताबाट अहिले आएर लामो तयारी, प्रशिक्षण र आवश्यक सामग्री बन्दोवस्तसहित ओलम्पिकमा खेल्न जाने अवसर खेलाडीले पाइरहेका छन्,’ नामसिंहले केही समयअघि भन्ने गरेको ज्वाइँ सुनिल सम्झन्छन् । ‘खेलले नै संसारभर छरिएर रहेका नेपालीलाई एकठाउँ ल्याउने काम गरेको छ,’ उनी भन्ने गर्थे, ‘खुराक पनि अहिलेका खेलाडीले धेरै पाएका छन् । खेल्ने पूर्वाधारको पनि राम्रो विकास हुँदै गएको छ ।’

पदक ल्याउन नसकेकोमा दुःख लागे पनि ‘आशा गर्न छोड्न नहुने’ नामसिंह बताउने गर्थे । ‘हामीले आशा राम्रो गर्नुपर्छ, कुनै न कुनै दिन त पक्कै नेपालले पदक जित्ला नि †’ उनले केही समयअघि भनेका थिए, ‘हामीले खेलाडीको स्तर उकास्ने प्रयास थाल्नुपर्छ । धेरैभन्दा धेरै अभ्यास गराएर अन्तर्राष्ट्रिय खेलाडीसँग पनि प्रतिस्पर्धा गर्नुपर्छ । राज्यले पनि त्यसलाई अझ प्राथमितामा राख्नुपर्छ । वाइल्ड कार्डमात्र नभएर छनोट भएर पुग्ने वातावरण बनाउनमा सरोकारवालाले विशेष ध्यान दिनुपर्छ ।’

नेपाल बक्सिङ महासंघ अध्यक्ष राम अवालेले उनको निधनले नेपाली खेलकुदले ‘ज्युँदो इतिहास’ गुमाएको बताए । ‘सम्पूर्ण खेलप्रेमी नेपालीका लागि यो ठूलो क्षति हो,’ उनले भने, ‘उहाँले बक्सिङ खेलप्रति देखाउनुभएको योगदान, लगाव र समर्पण सधैं सम्झिरहनेछौं ।’ सन् १९६८ को ‘मेक्सिको ओलम्पिक’ छाडेर नेपालले सन् १९६४ मा जापान टोकियोमा भएको १८औं ओलम्पिकदेखि सहभागिता जनाउँदै आएको छ । तर, अहिलेसम्म ओलम्पिकमा नेपालले कुनै पनि पदक जित्न सकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

epaper

ताजा समाचार

सिंहदरबार दक्षिण गेटमा दुई युवतीमाथि प्रहरीको लछार–पछार