पोखरा । आईसीसी टि–२० वल्र्डकप ट्रफी टुरअन्तर्गत विश्वकप ट्रफी मंगलबार पोखरामा ल्याइएको छ । विश्वकप ट्रफी पोखरा रंगशाला र फेवाताल किनारसम्म पु¥याइएको थियो ।
फेवाताल किनारमा ट्रफी सार्वजनिक कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव, सदस्यहरु लगायत खेलकुदकर्मीहरु पनि पुगेका थिए ।
मुख्यमन्त्री पाण्डेले पछिल्लो समय नेपाली क्रिकेटमा क्रेज बढेको हुँदा संघ सरकार तथा प्रदेश सरकार पनि क्रिकेट खेलको थप विकासमा सहयोग गर्न तयार रहेको बताए । यसका लागि आवश्यक खेल मैनानदेखि लिएर अन्य कुरामा सहयोग गर्ने बताए । उनले नेपाली खेलाडीले आफ्नो नाम विश्वमा फैलाउन शुभकामना पनि दिए ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विश्वकप ट्रफी सार्वजनिकीकरण गरेका थिए । सो अवसरमा उनले ट्वान्टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका थिए ।
यसैगरी, राष्ट्रपति पौडेलले महिला विश्वकप ग्लोबल छनोट तथा भारत र श्रीलंकामा आयोजना हुन लागेको आसन्न ट्वान्टी–२० विश्वकपमा सहभागी हुने महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिए ।






