पोखरा । क्रिकेटका दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङ वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) आयोजनामा बुधबार पोखरा सभागृहमा भएको २२ औं एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड–२०८१ मा वर्ष खेलाडी पुरुषमा ऐरी र वर्ष खेलाडी महिलामा गुरुङ घोषित भएका हुन् ।
नेपाली क्रिकेटले पछिल्लो समय प्राप्त गरेको विभिन्न सफलतामा ऐरीको ठूलो योगदान छ । एसीसी प्रिमियर लिगकप–२०२४ मा कतारविरुद्ध एकै ओभरमा उनले छ छक्का प्रहार गरेका थिए । उनले वर्ष २०८१ मा ३७० रन बनाउनुका साथै २० विकेट लिएका थिए । उनले अमेरिकामा भएको विश्वकपमा छ विकेट लिएका थिए । यो विधामा मनोनयनमा पर्नेमा उसुका विजय सिंजाली, खो–खोका जनक चन्द, टेबल टेनिसका स्यान्टु श्रेष्ठ र क्रिकेटका कुशल भुर्तेल थिए ।
गत वर्ष पनि यो विधामा अवार्ड थापेकी एरिकाले भुटानमा सम्पन्न आठौं दक्षिण एसियाली खेलकुदमा २ स्वर्ण, अस्ट्रेलियन ओपन–२०२४ मा स्वर्ण, चीनमा सम्पन्न सिनियर कराते च्याम्पियनसिपमा रजत जित्न सफल भएकी थियन् । सिंगापुरमा भएको एशिया प्यासिफिक कराते च्याम्पिनयसिपमा समेत उनले स्वर्ण तथा दुबईमा विश्व वान लिगमा रजत पदक जितेकी थिइन् । यो विधामा करातेकी एलिसा मगर, खो–खोकी मानमती धामी, फुटबलकी रेखा पौडेल र भलिबलकी सलिना श्रेष्ठसमेत मनोनयनमा परेका थिए ।
पोखराका खड्गबहादुर रानाभाटलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदानको मूल्याङ्कन आधारमा भूतपूर्व खेलाडी मञ्च नेपालका पूर्व अध्यक्षसमेत रहेका रानाभाटलाई उक्त सम्मान गरिएको हो ।
गण्डकी क्षेत्रकै हिमाल सुनारी (भलिबल) ले पिपल्स च्वाइस अवार्ड जिते । गण्डकी प्रदेश मुख्यमन्त्रीकप राष्ट्रिय पुरुष भलिबलको उपाधि जित्दा टिमका मुख्य खेलाडी थिए । उनी पोखरामा भएको तेस्रो टाइगर कपमा बेस्ट सर्भर घोषित भएका थिए । यो विधामा उसुका विजय सिन्जाली, टेबल टेनिसकी इभाना थापा, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल पनि मनोनयनमा थिए ।
यसैगरी, पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामाले वर्ष प्रशिक्षकको अवार्ड पाए । सो विधामा बक्सिङका दीपक महर्जन, खो–खोका लक्ष्मीनारायण वैद्य, क्रिकेटका महेश रिजाल र करातेका प्रशिक्षक कुशल श्रेष्ठ थिए । युवा वर्ष खेलाडीको अवार्ड क्रिकेटकी पूजा महतोले जितेकी छिन् । नेपाल महिला यू–१९ क्रिकेट टोलीलाई पहिलोपटक विश्वकपमा पु¥याउँदा नेपालको नेतृत्व पूजाले गरेकी थिइन् । विभिन्न १० अवार्डमध्ये एशियन स्पोर्टस् जर्नालिष्ट अवार्ड बंगलादेशका मोहम्मद हसन उल्लाह खान, पारा एथलिट अवार्ड प्रभा आङ्देम्बेले पाए । स्पेशल अवार्ड तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङले प्राप्त गरे । पोखरामा जन्मिएका तुलसीकुमार भूपू ब्रिटिस लाहुरे हुन् । नवौं डान ब्ल्याक बेल्ट पाउने उनी पहिलो नेपाली समेत हुन् । खो–खोको महिला र पुरुष टिम दुबैले टिम अफ दि इयरको अवार्ड जिते ।
नेपाली खेलकुदको प्रतिष्ठित यो अवार्ड राजधानी काठमाडौं बाहिर पहिलोपल्ट पोखरामा भएको हो । अवार्डको पूर्वसन्ध्यामा मंगलबार स्पोर्टस् समिटसमेत मञ्च अध्यक्ष नीरञ्जन अधिकारीले बताए । अधिकारीले पोखरामा खेल क्षेत्रमा प्रशस्त अवसर रहेको उल्लेख गर्दै अवार्ड कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरे ।
अवार्डको मुख्य प्रायोजक गोल्छा ग्रुप थियो । सो अवसरमा विविध सांस्कृतिक कार्यक्रमसमेत भयो । पोखरामै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदेशस्तरीय पोखरा स्पोर्टस् अवार्डसमेत गर्दैआएको छ । हालसम्म नवौं संस्करण पूरा भइसकेको मञ्च गण्डकी अध्यक्ष एमबि आस्थाले बताए ।






